टेक्ससबाट दाजुको न्यायका लागी नेपाल पुगेर लडीरहेकी सदिक्षा बास्तोला यसो भन्छिन्

टेक्सस-दाजुकाे शंकास्पद मुत्युपछि टेक्ससमा पाइलट पढीरहेकी सदिक्षा बाँस्ताेला नेपाल पुगिन । नेपाल पुगेर उनले आवाज बुलन्द पारिन । उक्त घटना राष्ट्रीय रुपमा चर्चामा आयाे । न्यायका लागी सबै नेपालीले उनलाई साथ दिए । सबैकाे दबाबले मुद्दा अदालतमा दर्ता भएकाे छ । सबै देश विदेशका नेपाललाई साथ र सहयाेगका लागी सदिक्षाले यसाे भनिन-
आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरुमा नमस्कार,
यहाँहरू सबैले हाम्रो परिवारको पीडालाई आफ्नै पीडा ठानेर साथ र सहयोग दिनुभयो र अहिले सम्मानित अदालतमा मुद्दा दर्ता भएको छ । यदि तपाईहरूको यस्तो साथ पाएका थिएनौँ भने हामीले यति बेला घरमा रुँदै बस्नुको विकल्प केही थिएन । तर यो काम अस्ति नै र यत्रो संघर्ष नगरी हुनुपर्ने थियो । पीडितले न्याय पाउने अधिकार प्राकृतिक अधिकार हो । कोही मानिस पीडित भएको छ भन्ने थाहा पाएपछि न्याय दिलाउन बसेको निकायले आफ्नो राम्रो भूमिका निर्वाह गरेर, सत्यतथ्य कुरा बाहिर ल्याएर पीडितलाई न्याय दिलाउनु पर्छ । तर यहाँ रक्षक नै भक्षक भएकाले गरिब, निमुखा र पहुँच नभएकाहरू उल्टै न्याय दिलाउने ठाउँमा बसेका मानिसहरूको व्यक्तिगत स्वार्थका कारण झन पीडित हुनु परिरहेको छ । न्याय माग्न जाँदा उल्टै डर धम्की सहनु परेको छ । त्यसको प्रत्यक्ष सिकार हाम्रो परिवार भएको छ । हुन त, हाम्रो परिवारले प्रशासनबाट जस्तो व्यवहारको सामना गर्नुपर्यो, त्यो एउटा प्रतिनिधि घटना मात्रै हो भन्ने निष्कर्षमा म पुगेकी छु । हाम्रो हकमा त्यसको मुख्य कारण इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख र जनप्रतिनिधिको बेवास्ता भएको कुरा देशविदेशमा रहनुभएका सबैले जानकारी पाइसक्नु भएको छ । यत्रो घटना भयो, यहि कारण हामी झन अन्यायमा परेका थियौँ र यत्रो धेरै मानिसहरूले आन्दोलनमा सहभागी हुनुपर्ने बाध्यता आयो । हामी हजारौँ मानिसले जिल्लामा समेत पुगेर आन्दोलन गर्नुपर्ने स्थिति सिर्जना भयो । हजारौँ मानिसले दुःख पाउनु भयो तर पनि उद्धव पोख्रेललाई अहिलेसम्म इलाका प्रहरी कार्यालय, उर्लाबारीको प्रमुख बनाएर राखिएको छ । यति सब जानिसकेपछि उद्धब पोख्रेललाई तत्काल कारबाही हुनुपर्ने होइन र ? यो मान्छेले हामी जस्ता कति निमुखा र सहारा बिहीनहरूमाथि अत्याचार गरेको होला, कल्पना गर्नुस् त ! र यो मान्छेलाई अझै पनि यसरी पदमै रहिरहन दिने हो भने हामी जस्ता कतिलाई आफ्नो स्वार्थका लागि अत्याचार गर्छ होला ? सोच्दा पनि शरीर जिरिङ्ङ हुन्छ । भोलि सनिबार ११ बजे सभ्य तरिकाले प्रशासनलाई कारबाहीको माग गर्दै उर्लाबारी चौकमा भेला हुन अनुरोध गर्दछु ताकी भोलिको दिनमा न्याय माग्न जादा डराएर, निराश बनेर कोहि पनि फर्किनु नपरोस।
–सदि़क्षा बाँस्ताेला
🙏