सोचेको थिएँ

रामायण, महाभारत

पौराणिक हो

त्यो लडाई सकिसक्यो

सत्यको विजय भईसक्यो

 

तर होइन रहेछ

यसको रुप मात्रै भिन्न भएको रहेछ

यो सर्वकालिक रहेछ

पात्र, परिवेश, मान्यताहरु

फेरबदल भएको रहेछ

यो बिस्वब्यापी रहेछ

 

समयले

युद्धका स्वरुपहरु

सत्यका स्वरुपहरु

पात्रका आदर्शहरु

धेरैको परिभाषा बदलिसकेको रहेछ

 

आफुलाई

त्यो पौराणिक कालखण्डमा

आदर्शको कित्तामा

कुनै पात्रसंग आत्मसात गराउँदै

समाजले फेरि सकेको परिभाषासंग अनभिज्ञ हुँदै

थाहै नपाई

युद्ध मैदानमा उभिएको रहेछु

 

स्वार्थका साँठगाँठहरु

क्षण क्षणमा बदलिने पात्रहरु

आदर्शका खोल ओढेका ब्वाँसाहरु

अनि फेरिरहने समीकरणहरु

बिच आफुलाई अनभिज्ञ बनाएर

आफुलाई कमजोर बनाइरहेको रहेछु  

 

देखिरहेको छु

जस्तै

छद्मयुद्ध, गुरिल्ला युद्ध, छलयुद्ध नबुझ्नेहरु

फेरिएको युद्ध शैली, समीकरण नबुझ्नेहरु

युद्ध मैदानमा ढलेकाछन्

परमधाम भएकाछन्

आसुरीशक्तिहरु रमाईरहेका छन्

 

भ्रममा नपरौं

युद्ध सकियो

राम कृष्ण चाहिदैन अव

यहाँ

सँधै चलिरहन्छ

सुपात्र कुपात्रको लडाई

सँधै चलिरहन्छ रामायण महाभारतको लडाई

 

यहाँ

आसुरीप्रबृती बढ़दो

सवैले आफुलाई अध्यावधिक योद्धा बनाउनु

सवैले आधुनिक राम कृष्ण बन्नु

आधुनिक युद्धपिशाचहरुलाई पराजित गर्नु

बेडफोर्ड, टेक्सास

मे , २०२१

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected