हातमा स्मार्ट फोन हुँदैमा…

“बा“को पालामा
स्मार्ट फोन , गुगल थिएन
एउटा कुरा थाहा पाउन
गाउँ चाहार्थे उनी
तर उनी स्मार्ट थिए
आफ्नो सहजबुद्धि, समुदायको बुद्धि कति राम्रो सदुपयोग गरे
परिवारको लालन–पालन, शिक्षा, व्यक्तित्व विकास कति राम्रो गरे
तर तिम्रो पालामा
स्मार्ट फोन हातमा भए पछि
सुचनाको स्रोत हातको अंगुलामा आए पछि
स्मार्ट भै गयौ तिमी
कसैलाई नगन्ने भयौ तिमी
सोच्यौ
सवै जानकारी त मेरै हातमा छ
मलाई किन कसै संग
सर–सल्लाह लिनु छ
बुझेनौ फरक
जानकारी, ज्ञान र बोधको
बुझेनौ उपयोग
अनुभव, सहजबुद्धि, समझदारी र अन्तर्दृस्टीको
बुझेनौ मूल्य
मानवता, नम्रता, करुणा, दया, माया–प्रेम, संस्कारको
भन्न लाग्यौ
दुनिया बजार हो
यहाँ सव चिजको मूल्य हुन्छ
यहाँ आफैंलाई पोस्ने हो
भौतिक सामग्री बटुली
ऎश–आराम गर्ने हो
आफ्ना भन्नु स्वार्थको नाता हो
मानवीय संवेदना
बेकारको कुरा हो
तर तिमी रुँदा तिम्रो महँगो कार
तिमी संग रुँदैन
तिमीलाई संकट परि घर बेच्दा
त्यो घर तिमी संग रुँदैन
रुने त अफ्नाहरुनै हुन्
दु:ख पर्दा चाहिने तिनीहरुनै हुन्
कता जाँदैछौ, के गर्दैछौ
एक चोटी आफैंलाई हेर
भौतिकताको दौडमा
मानवीय मूल्य गुमाउँदैछौं
एक चोटी गंभिर भएर सोच
तिमीमा मानवीय संवेदना छैन भने
मान्छे हैन, रोबोट हुन्छौ तिमी
बिभिन्न जानकारी पाउँदैमा
विवेकी, बुद्धिमान हुन्नौ तिमी
हातमा स्मार्ट फोन हुँदैमा
स्मार्ट हुन्नौ तिमी
–बैकुण्ठराज आचार्य
युलेस, टेक्सास
जुन १२, २०२१