पीडामा अल्झिएको जीवन
खोइ किन हो आजकाल दिन पनि अध्यारो लाग्दै छ, शरीर कमजोर हुँदै गएको महसुस हुदैछ। बल्लतल्ल अतितका पिडाहरुलाई भुलेर नयाँ जिन्दगीको सुरुवात गरेकी थिए। त्यो पनि आफ्नो देश भन्दा धेरै टाढा अर्काको देशमा, तर खोइ किन हो मेरो पिडा कम हुनुको साटाे झन थपिदै जान्छ। आकाश हेर्छु चुपचाप छ, धर्ति हेर्छु मुस्कुराइ रहेछ। तर यो मन भने ठिक ठाँउमा छैन। एकोहोरो सोच्ने बानी परेको यो मन मनै भित्र बसेको पिडा सँग गुनासो पोख्छ ! हे पिडा तलाइ नै सधै मेरै जिबनमा बास बस्न मन पर्छ है ? हुन पनि मेरो मन कमलो भएर होला यो पीडा भन्ने चिज म बाट टाढा जानै मान्दैन। जिबनमा यहि एउटा त छ कहिले छुट्न नखोज्ने साथी नत्र यो पराइ देशमा आफ्नो भन्नु को छ र ? यो शरीर त पहिले नै रोगले थिला थिला भएर मुर्ति जस्तै भएर बसेको छ।
हो यो जिबन औसिको रात जस्तो अन्धकार भएको छ, बाटो पहिल्याउन खोज्छु केही देख्दिन अनि त्यहि अन्धकारको कुनाबाट कसैले चियाइरहेको भान हुन्छ। को हो त्यो ? किन त्योले बर्सौ देखि मलाई चियायी रहेछ ? आखिर उ म बाट के चाहान्छ ? म सँग के छ र? यहि एउटा छियाछिया भएको मुटु अनि मरिसकेको एउटा जिउदो शरीर त छ। मन त धुजाधुजा र खोक्रो भइसकेको छ। अब त बचेका आसा पनि निभ्न लागेको बत्ती जस्तो धिपधिप बल्दै छ। कतिखेर निभ्छ थाहै छैन। मेरो लागि त साउन भदौको हरियाली पनि चैत बैशाखको खडेरी जस्तो भएको छ। बसन्त ऋतुमा धपमक्क फुलेका फुलहरु पनि ओइलेर झरेको जस्तो भएको छ ।
सायद बिदेशी ब्यस्त जिबन, कमजोर शरीर र मनमा अनगिन्ती पिडा भएर होला यी मेरा कमजोर मन अनायासै छट्पटीरहन्छ। त्यसैले त मन र शरीर कमजोर भएको अवस्थामा नपत्याउने घटनाहरु घट्न पनि जान्छ। त्यस्तो बेला कहिलेकाही त सुतेको समय ऐठन हुने गर्छ। सास फेर्न गाह्रो हुन्छ, छट्पटाउछु, चिच्याउन खोज्छु, सक्दो त्यसबाट छुटकारा पाउन खोज्छु अनि केही समयको युद्धपछि जित त मेरै हुन्छ। हो अहिलेको जमानामा यस्ता कुराको बिश्वास नहोला तर मैले आफुले धेरै पटक अनुभव गरेकी छु। धेरै पटक यस्तो हुदा आफ्नो सिरानी मुनि चक्कु, चाबि या अरु कुनै फलामको बस्तु पनि राख्ने गर्छु। बिश्वास त छैन तर पनि आफुले प्रत्यक्ष भोगेकोले पीडाबाट थोरै भए पनि छुटकारा पाउन सकिन्छ कि भनी यी सब गर्न बाध्य हुन्छु। साच्चिकै कहिलेकाही त जिबनमा यस्ता चिजहरुको सामना पनि गर्नुपर्ने हुन्छ कि जसको कल्पना पनि गरेको हुदैन। त्यो समयमा त दुखेको घाउ माथी सियोले घोचे जस्तो असह्य पिडा हुन्छ। शरीर भित्र पिडाका महासागरहरु उर्लिएर पिङ खेल्दो रहेछ। अनि त्यस्तो बेला त हिम्मतले नि साथ दिन छोड्दाे रहेछ। तर पनि सजिलै यो जिन्दगी देखि बिदा लिन त कहाँ सकिन्छ र? आफुले भोग्नु पर्ने त जसरी नि भोग्नै पर्छ। चाहे रोएर होस् या हासेर, दुखले होस् या सुखले। जिबनमा खुसी हुन नसके पनि सास रहुन्जेलसम्म बाध्यताले जिन्दगी जिउनै पर्दोरहेछ। कहिले आफ्ना लागि कहिले अरुको लागि।
लामो समय देखि बेलाबेलामा स्वास्थ्य खराब, कामको थकान अनि परिस्थितिले पनि साथ नदिदा मनमा अनेकौं कुराहरू उठ्नु र खेल्नु समान्य कुरा हो। त्यसैले त कहिलेकाही यो मन कताकता जिबन देखि हारेको आभाष हुन्छ। नचाहेर पनि सबै कुरा भुलिदिदो रहेछ। साच्चिकै कहिलेकाही त असह्य पिडा हुदा थाहै नपाइ बरर आँसु आउदोरहेछ। तर म आफ्ना मन भित्रका पीडाहरु कसैलाई सुनाउन चाहान्न। म आफू पिडामा भए पनि अरुको सामु हासेर बोलिदिन्छु। दुनियाँ स्वार्थी छ। त्यसैले त बोलेर भन्दा नबोलेर आफुलाई अलि सुरक्षित ठान्छु अनि मैले मेरा हरेक पिडालाई गुम्साएर एउटा अँध्यारो कोठामै बन्द गरेर राखेकी छु, धेरै जसो त रोएर मन हल्का गराउने गरेकी छु। खोइ कति छ आँसु कुन्नि न रोकिन्छ न त सकिन्छ ।
बर्सौं देखि पिडामा अल्झिदै आएको छ यो जिबन। दुखले त म सधै तेरो पछि पछि हिन्नेछु भन्छ म चाहिँ केही समयको लागि एक्लै छोड्दे भन्छु। किनकी कहिलेकाही त यो मन खुसी भएर स्वतन्त्र पंन्छी जस्तै खुला आकासमा उड्न मन लाग्छ। तर जिन्दगी जिउन यति सजिलो कहाँ छ र ? जन्मिदै कर्ममा भाबिले लेखेको कहाँ मेट्न सकिन्छ र ? एकबारको अमुल्य जिन्दगी त पाइदोरहेछ तर एउटा कहिले नरोकिने रेस जुन जिबन जिउनको लागि निरन्तर संघर्षशिल यात्रा सँगै पाइलापाइलामा चोट अनि बाध्यतामा जिन्दगी जिउनै पर्ने भाग्य। त्यसैले त म मेरा पिडाहरु सँग एकान्तमा बस्न मन लाग्छ। सुन्य कोठा भित्र एक्लै हराउन मन लाग्छ। अनि फेरि सोच्ने गर्छु साच्चिकै यो मेरो मुटुले पनि धेरै दुख पाएको छ। त्यसैले त यो मुटु भन्छ अब त धड्कीन बन्द गर्छु अनि यो मनले भन्छ अझै संघर्ष गर्नु छ, अझ धेरै दुख पाउनु छ, अनि केही गर्नु छ। अनि म एकोहोरिन्छु जिन्दगीको फैसला लिन सक्दिन, टाेलाइरहन्छु, दिन बित्यो, महिना बित्यो, बर्ष बित्यो तर यो मेरो जिबनमा खुसीको आभाष कहिले भएन। तर अझै पनि हिम्मत हारेको छैन अझै पनि जिन्दगी देखि भागेको छैन।