चेतनाको थप्पड

मेरो ‘अहम‘ कडकिदै थियो
म सर्वश्रेष्ठ, सर्वज्ञानी, सर्वत्रबिजयी
अरु सवै अज्ञानी भन्दै थियो
थाकेको शरीर मेरो
कति सुनोस “म“को मपाईं
अनि उसको हेपाई
घुप्लुक्क सुत्यो
मस्त संग निदायो
कोहि आयो सपनामा
मेरो जस्तै मुहारमा
सौम्य, सुसंस्कृत व्यक्तित्व
दिव्य प्रकाश–पुञ्ज युक्त
मेरो ‘अहम‘ उफ्रियो
“को होस् तँ?”
निकम्मा, आडम्बरी उपदेश दिन आएको
म को हुँ? छैनस कि थाहा पाएको
उ मुस्कुरायो
मेरो “अहम” झनै बौखलायो
झम्प्टन पो लाग्यो
छोड्दिन तँलाई गरिस तैंले मेरो अपमान
मैले जिन्दगीमा झुक्न जानेको छैन
उसले मुस्कुराउँदै भन्यो
‘हेर, तिमी जस्ता कति आए
अनि कति गए
हिटलर, मुसोलिनीहरु
समाज, देश थर्काउनेहरु
संसारनै अधिनमा राख्छु भन्नेहरु
आत्म–चिन्तन गर
जितिदैन त्यसरी संसार
उत्तेजित मेरो “अहम” हात उठाउन लाग्यो
उसलाई तथानाम भन्न पो लाग्यो
“शान्त होऊ !” उसले भन्यो
तर मेरो “अहम“ले हाथापाई गर्यो
“अति भयो तिम्रो अहंकार”
उसले शान्त भावमा भन्यो
एक जोडदार थप्पड
मेरो “अहम“लाई दियो
एकाएक मेरो “अहम“को अहम कता गयो
उ त सानो बालक झैं रोयो
उसले शान्त भावमा भन्यो
म तिम्रो चेतना र विवेक हुँ
तिम्रो “अहम“को भूत उतार्न आएको हुँ
तिम्रो जिन्दगी नर्क जस्तै भयो
तिमीलाई स्वतन्त्र गर्न जरुरी थियो
सपनामै म “अहम” मुक्त भैसकेको थिएँ
बिहान प्रात–भ्रमणमा गएँ
बाटोमा सवैसंग हाँसखेल गरेँ
जोश–जाँगर, खुशी–उमंग, माया–प्रेमले भरिपूर्ण थिएँ
–अगस्ट ७, २०२१