धादिङ्ग बेँसी
इन्टरनेटमा बिभिन्न जीवन उपयोगी लेख–रचना, भिडियो हेरिरहँदा राती एकबजिसकेको रहेछ । त्यस पछि सुतेँ । एकै निन्द्रामा बिहान ७ बजे ब्युँझिएँ ।ब्युँझनु भन्दा पहिले सपना देखिरहेको थिएँ ।
सपना यस्तो थियो –
हामी केहि मित्रहरु कता कता बिदेशमा गाडीमा कुनै ठाउँमा गइरहेका रहेछौं। एक ठाउँमा पुगे पछि गाडी रोकियो । त्यहाँ अरु मित्रहरु जम्मा हुनु भएकोरहेछ । केहि बेर गफगाफ भए पछि अर्को ठाउँमा जाने निर्णय भएछ । त्यहाँदुइटा मात्रै गाडी देखिन्थे । मित्रहरु दौडादौड गरेर ती गाडीहरुमा बसेछन । मचाँहि “सिट पाइहालिन्छ नि, पुरानो सिट पनि त छ नि ” भनेर त्यतिहतारिएनछु । परिणाम ? मैले सिट पाएनछु । यो संसारमा ” पाईहालिन्छ नि, भै हाल्छ नि” भनेर जिन्दगीमा कति धोका, हण्डर खाएँ, सपनामा पनि फेरिदोहोरियो । यो प्रतिस्पर्धाको संसारमा ” अरुले विचार गरिहाल्छन । मेरो / मलाइ सिट राखिहाल्छन नि ” भन्ने सोचेर पनि कहिँ हुन्थ्यो? सपनामा पनिकोहि पनि मेरो बारेमा सोच्न पनि चाहिरहेका थिएनन् । मेरो स्थिति ” हिस्सबुढी, हरिया दाँत ” जस्तै भइरहेको थियो । म त्यो टिम बाट अलगिएँ– सिटनपाएर ।
अव के गर्ने ? एक्लै परेँ । साथीहरु त हुइँकिहाले ! सपनामै कत्रो पिरलो ! भाग्यबस, एउटा सार्बजनिक बस देखियो – केहि पर । त्यो बस चढेर म एउटाडाँडाको टुप्पोमा पुगेछु । त्यहाँको चौतारोमा एक्लै सुस्ताएर बसेछु । एउटीसिन्दुर, पोते लगाएकी, नातिनी लिएर हिँडेकी प्रौढा आईन । उनले बडोआदरपूर्वक अभिवादन गरिन । मैले पनि त्यतिकै आदरले अभिवादन फर्काएँ। उनीलाई चिने जस्तो लाग्दथ्यो । तर ठम्याँउन सकिन । त्यस पछि उनीकता गइन –त्यो पनि सम्झिन सकिन ।
पछि त्यो डाँडाबाट म एक्लै ओरालो झर्न लागेँ । शायद साउनको महिनाथियो । चारै तिर हरियाली थियो । अनि बाटो पनि बिग्रिएको थियो । ठाउँठाउँमा भड्खालाहरु हुनुका साथै बाटो एकदमै चिप्लो पनि थियो । उक्लनभन्दा झर्न गाह्रो हुन्छ भनेको जस्तै भइरहेको थियो । ओरालो झरिसकेपछिसम्म फाँटको मुखैमा एउटा खोला रहेछ । खोलो त पुरा गड्गडाउँदै बगिरहेकोरहेछ । अव तर्ने कसरि ? पूल पनि छैन, साथ दिने पनि कोहि छैन । भएनफसाद ! तर मनले ” यस्ता धेरै अप्ठ्याराहरु भोगियो, एउटा अर्को नै सहि ” भन्दै खोलामा होमिएछु । “तँ आँट, म पुर्याउँछु” भने जस्तै साउन महिनामाचम्केको खोलो एक्लै तरें । खोलो पारि एउटा सुन्दर बस्ति रहेछ । खेत– बारी, बजार रहेछ ।
“ज्यान बचे लाख उपाय” भने जस्तै लाग्यो मलाई । एउटी नवयुवती डोकोबोकेर कतै जाँदै थिइन् । “कुन ठाउँ हो यो, बैनी ?” मैले सोधें । तल देखिमाथि सम्म हेरेर उनले भनिन – ” कुन ठाउँबाट आउनु भएको तपाई ? धादिङ्गबेँसी पनि नचिन्नी!“
“माथि डाँडाबाट झरेको ।” मैले छोटो उत्तर दिएँ । उनलाई मेरो उत्तरले चित्तबुझेन ।
सोधिन -“अनि यता कसरि आइपुग्नु भयो? घर कहाँ हो तपाईंको?”
” खै कसरि आइपुगें भनौं ? अनि लाहुरेको कता घर भनौं ” मैले भनेछु ।
“किन कुरा लुकाएर कुरा गर्नु भएको ? भन्न के भो ? मलाई त तपाईं धादिङ्गबेँसीकै हुनुहुन्छ जस्तो लाग्छ ।“
उनको सरल, आत्मियता भरिएको निर्दोष जिज्ञासाले मलाई तरंगित गर्यो ।मनले भन्यो उनलाई सवै कुरा भनिदिऊँ – “हेर्नोस न, के के भयो के के | मबिदेसमा थिएँ । कसरि यहाँ आइपुगेँ । मलाई नै थाहा छैन… ।“ तर त्यहिबेलामा खल्तीमा भएको मोबाइल थर्थरायो । मैले मोबाइल निकालेँ ।पहिलेको टोलीको एकआत्मीय मित्रको फोन रहेछ । उहाँ मेरो बारेमा चिन्तितहुनुहुँदोरहेछ । मैले गाडीमा सिट नपाएर अर्कै गाडीमा चढेको आदि सवैकुराहरु भनेँ । उहाँले यो सवै व्यवस्थापनको कमजोरी हो भन्नुभयो ।
ती नवयुवतीले फोनमा भएको मेरो कुरा एक छिन सुनिरहिन् । त्यस पछि योमान्छे लाहुरेनै रहेछ भन्ने खालको अभिव्यक्ति प्रकट गर्दै हिँडीन । त्यस पछिम ब्युँझिएँ । सपना बिर्सने डरले कापी–कलम लिएर एकै सासमा सवै कुरालेखेँ । लेख्दा–लेख्दै मनमा आइरहेको थियो – जतिसुकै अप्ठ्यारो परे पनि, एक्लै परे पनि म अगाडि बढन चाँहि छोड्दोरहेनछु । किनभने बिभिन्नसपनामा र वास्तविक जीवनमा यस्ता कुराहरु भएका थिए । साथै वर्तमानपरिस्थिति पनि सपनामा देखिएको जस्तै भएको र निकास खोजिरहेकोअवस्थामा चलिरहेको छ । सपनाबाट मलाई कता कता खुशी लाग्यो ।आफैँलाई भनेँ – ” जीवनको उतरार्धमा आएको यो अप्ठ्यारो मोडमा पनिअघि बढन मेरो अन्तरात्माले अझै आँट गरिरहेको रहेछ ।“
फेरि मनमा आयो – “मेरो सन्दर्भमा सपनामा देखेको त्यो धादिङ्ग बेँसीनेपाल र ती नवयुवती मेरा स्वदेशवासी हुन् । सपनामा धादिङ्ग बेँसी पुगेपछि “ढुक्क” भए जस्तै बिपनामा नेपाल पुगे पछि म “ढुक्क” हुनेछु ।थोत्रोगाडी उकालोमा घिचघिच गरि चढे जस्तो कति बेला के हुने हो थाहा नभएकोजिन्दगी कति काट्नु यहाँ । अव त नेपालको टिकट काट्नु पर्छ ।“
जुरुक्क उठेर पर्दा खोलेँ । बाहिर मिठो घाम लागिरहेको रहेछ । शरदकोस्वच्छ आकास मुस्काइरहेको थियो । छेउमै रहेको एउटा नेपालीको घर–आँगनमा सयपत्री र मखमली फूल फुलिरहेको थियो ।
(सेप्टेम्बर २२, २०२१ को डायरीको परिमार्जित अंश )
–बैकुण्ठराज आचार्य