सन्चै हुनुहुन्छ? (व्यंग)
समय अनुसार भलाकुसारीका तरिकाहरु पनि परिवर्तन हुँदै गएका छन् । पहिले पहिले भेट हुँदा – “भात (भुजा ?) खानु भयो (ज्युनार गरिस्यो ) भनेर सोधिन्थ्यो । आजकल यो खालको भलाकुसारी घट्दै गएको छ । अझै चल्तीमा रहेको भलाकुसारी चाँही ” सन्चै (आरामै ?) हुनुहुन्छ (होइसिन्छ?) ” हो । यसले पहिले शारीरिक स्वास्थ्यको अवस्था संकेत गर्दथ्यो । तर आजकल स्वास्थ्यलाई शारीरिक रुपमा मात्रै हेरिदैन । बिस्व स्वास्थ्य संगठनले स्वास्थ्य भन्नाले शारीरिक , मानसिक तथा सामाजिक स्वास्थ्य एक मुस्ठ जनाउने उल्लेख गरेको छ | त्यसैले ” सन्चै हुनुहुन्छ ?” भनेर कसैले प्रत्यक्ष भेटघाट, इमेल, मेसेन्जर, फोन आदिमा भलाकुसारी गरे तीनै किसिमका स्वास्थ्य अवस्थाको बारेमा सोचेर मात्रै जवाफ दिनु पर्ने भएको छ। कतिलाई यो भलाकुसारीको दायरा बढेको थाहा छैन |अनि कतिले आधुनिक संचार माध्यममा यसलाई दुरुपयोग गरेका पनि छन् – जानी जानी वा नजानिकन । यस बिषयमा मैले भोगेका, अनुभूत गरेका केहि प्रसंगहरु प्रस्तुत गरेको छु –
प्रसंग १.
एउटा भेटघाट कार्यक्रममा म बोल्दै थिएँ । सवैले ध्यानपूर्वक सुनिरहेका थिए । म उत्साहित हुँदै अझै बोल्दै थिएँ । कार्यक्रममा बसिरहनु भएका मेरा एक आदरणीय दाजु संग मेरा आँखा जुधे । तुरुन्तै भलाकुसारीको लहजमा दाइले भन्नुभयो – ” सन्चै हुनुहुन्छ भाइ?” म मुसुक्क हासेँ र भनेँ – ” सन्चै छु, दाइ ।“ त्यस पछि हल्का रमाइलो पारामा मैले भनेँ – ” दाइ, कतै मैले गडबड त बोलिरहेको छैन, दाइले ‘सन्चै छ?’ भनेर सोध्नु भयो नि?” दाइले तुरुन्तै कुरा बुझिहाल्नु भयो । मरि मरि हास्नु भयो, अनि आएर अँगालो हाल्नु भयो । वातावरण एकदमै रमाइलो भयो ।
प्रसंग २
नेपालमा एकजना बहिनीलाई भाइबरबाट फोन गरेको थिएँ । त्यो बेला यहाँ राती थियो र नेपालमा बिहान । फोन उठेन । त्यस पछि म सुतेँ । भोलीपल्ट बिहान म्यासेज देखेँ – ” सन्चै हुनुहुन्छ दाइ ?”
म त अक्क न बक्क परें । के जवाफ दिउँ ? बहिनीको जवाफ त यस्तो हुनुपर्थ्यो – ” दाइ, कल “मिस” भएछ । दाइलाई अहिले कल गर्न मिल्छ ?” तर “सन्चै हुनुहुन्छ ?” भन्ने सन्देसले त मलाई आफ्नो मानसिक स्थिती “सन्चै छ कि छैन?’ सोच्न बाध्य बनायो ।
प्रसंग ३.
“चिन्नु न जान्नु, घचेडी माग्नु” भने जस्तै मेसेंजरमा कुनै ” गुनकेसरी मैयाँ” को नाम बाट सन्देस आयो – ” सन्चै हुनुहुन्छ ?” आफु सोझो मान्छे ! भलाकुसारीमा पनि के चित्त सानो पार्नु भन्ने सोचेर – “ठिकै छु” भनेर जवाफ दिएँ । बिस्तारै आफ्नै जस्तो बनाइ हालि / हाल्यो । ‘भरे त’ यो त बल्छी / ढडिया / ढोक्सा (जे भने पनि हुन्छ!) थापेको रहेछ । पासोमा पारि हाल्यो / हाली । बल्ल बल्ल प्रहरीको सहयोगमा बचियो ।
प्रसंग ४
धेरै बर्ष पहिले देखि चिनेको एउटी बहिनीले मेसेंजरमा खवर पठाइन – ” दाजु, दर्शन ! सन्चै होइसिन्छ?” यति मात्रै लेखिएको थियो, अरु हुनुपर्ने थियो तर थिएन । एउटै शहरमा बस्छौं हामी । फोन गरेको भए पनि हुन्थ्यो । किन यस्तो रहस्यमयी पाराले खवर पठाइन, अचम्म लाग्यो । “अगुल्टोले हानेको कुकुर बिजुली देखि तर्सिन्छ” भने जस्तै मनमा अनेक कुरा आयो – ” कतै उनको फेसबुक ‘ह्याक’ त भएन ? कतै कुनै ‘साइबर क्रिमिनल’ले पासोमा थाप्न जाल बुनेको त होइन? अथवा कतै कसैले मेरो फेसबुक “ह्याक” गरेर उनलाई नराम्रो भिडियो / सन्देस त पठाएन ? अथवा मेरो नामबाट कुनै लिङ्क पठाएर त्यहाँ क्लिक गर्नु त् भनेन -अनि उनले क्लिक गर्न डराएर मलाई अप्रत्यक्ष रुपमा सोधेको त होइन ? अथवा कसैले उनलाई आजकल मेरो मानसिक अवस्था ठिक छैन, ज्यादै चिन्तामा डुब्नु भएको छ त भन्दिएन ?
यो अधकल्चो सन्देशले मेरो मनले तर्क-बितर्क गर्न खुराक पाइहाल्यो । अनि त्यो तर्क-बितर्कको दुस्चक्रमा रुमलिनु भन्दा जवाफ पठाउन ठिक सोचेर लेखे – ” ठिक छु, बैनी । सम्झनु भएकोमा धेरै धेरै धन्यवाद ।” तर दुई दिन सम्म जवाफको अत्तो-पत्तो छैन । अर्को टेन्सन ! पछि खवर पाएँ – एउटा कार्यक्रममा निमन्त्रणाको । लाग्यो – उनले पहिले मेरो स्वास्थ्य स्थिती बुझौँ, अनि अरु कुरा गरौला भनेर बुद्धि पुर्याएकी होलिन ।
प्रसंग ५
” दाइ, सन्चै हुनुहुन्छ ?” मेसेन्जरमा यति मात्रै संदेश आयो । हिसावले त पठाउनेले मलाई काका / अङ्कल भनेर सम्बोधन गर्नुपर्ने हो तर “दाइ” सम्बोधन गरेकोले यो संदेश “लफडा” हो भन्ने मलाई शंका लागिहाल्यो । त्यसमा पनि कहिले केहि नआउने ठाउँबाट आएको संदेश थियो त्यो । मेरो दिमागलाई “खोजी पत्रकारिता”को गहिरो छाप परेकोले दिमाग सक्रिय हुन थालिहाल्यो । कुनै पापी “साइवर क्रिमिनल” ले फालेको बल्छी हो कि भनेर “खोज” गर्न मन लाग्यो । त्यहि बेला नेपाल प्रहरीको समाचार पढन पाएँ – ” अमेरिका बस्ने नेपालीको फेसबुक ‘ह्याक’ गरि आफन्तहरुलाई सहयोगको अपिल गरि हजारौँ रुपैया ठगि गर्ने पक्राउ।”
मनमा दश थरीका कुरा खेलाइरहने मलाई काण्ड पुगिहाल्यो । मनमा आयो, कतै भतिजोलाई कुनै साइबर क्रिमिनलले -” बाबु, म अमेरिकामा अलपत्र परें । घरबारबिहिन भएर सडकमा सुतिरहेको छु । बिरामी छु । मलाई खान र नेपाल फर्किन एक लाख सहयोग गर” भन्दै मेरो तर्फबाट म्यासेज त गरेन?” त्यसो त भतिजो त्यति सोझो त छैन कि उसले यस्तो कुरो तुरुन्तै पत्यावोस । तर पनि उसले अरु कुरा किन लेखेन, फेरि ‘दाइ’ भनेर किन सम्बोधन गर्यो ? मनमा कुरा खेलिरह्यो ।
“दुई चार दिन हेरौँ के प्रतिक्रिया हुँदोरहेछ” भनेर जवाफ पठाइन । चार दिन पछि संदेश आयो – ” नयाँ बर्ष २०८० को शुभकामना ! दाइ, नेपाल कहिले फर्कने?” सन्देशले फेरि टाउको दुखायो । गाँठी कुरो अझै लेखेन । नेपाल कहिले फर्किने भनेर पो सोध्छ । नेपालमा आफुलाई माया गर्ने सवैलाई भगवानले बोलाइसकेको अवस्थामा यो भतिजको मनमा कसरि मायाको अंकुर पलायो? अवश्यनै यो साइबर क्रिमिनल हुनुपर्छ – “लाहुरे आउँछ अनि हनी ट्रयाप … ” भन्दै ढुकेर बसेको हुनुपर्छ । सुनेको छु -आजकल सडकमा ढुंगा हान्नेहरु, बार तोड्नेहरु, मुक्का हान्नेहरु, के पो गर्नेहरु “आका”हरुको संरक्षणमा “हनी ट्रयाप” बिजनेस चलाइरहेका छन् रे । यसमा लगानी भनेको अलिकता “हनी”को खर्च मात्रै हो रे । अनि फाइदै फाइदा, नो रिस्क रे । खाडी वा अन्य मुलुकमा श्रम गर्न त आफ्नो देशमा “मसल” देखाउन नसक्ने “लुतेहरु” पो जाने हो रे । गुण्डागर्दी, फट्याई, लुच्च्याई आदि को शीप-कला-कौशल भएकाहरुलाई विदेश किन जान पर्यो पो भन्छन रे ।
पछि थाहा भयो – त्यस्तो केहि भएको होइन रहेछ । भतिजो पार्टीबाट फर्केर अलि अवेला लेख्ने गर्दोरहेछ । तर आफुलाई चाँही भतिजोको पार्टीबाट फर्केर अधकल्चो सन्देश लेख्ने “हर्कत”ले दुई-चार फन्को घुमाई हाल्यो नि । त्यस पछि नदुखेको टाउको किन डोरी लाएर दुखाउने भनेर त्यो भतिजोलाई मैले कुनै जवाफ पठाइन । कुरो आयो, गयो भयो ।
अन्त्यमा,
यति प्रसंग जोडेर लेखे पछि अवश्यनै बुझिहाल्नु भयो होला – सन्देशमा ” सन्चै हुनुहुन्छ?” मात्रै लेखेर अरुको टाउको नदुखाईदिनोस, प्लिज ! हुनत ‘सन्चै हुनुहुन्छ ?” मात्रै लेखेर भए पनि अलिकता अपनत्व पाइन्थ्यो (साइबर क्रिमिनलको अपनत्व बाहेक), अव त्यो पनि घट्दै गएको देखिन्छ । अव त ” हाई” मात्रै लेखिनेहरु म्यासेन्जरमा देखिन थालेका छन् । यसमा अधिकांश स्त्री नामधारीहरू भेटिन्छन । वास्तवमा तिनीहरु “पुरुष” त के भनौँ भालेलिङ्ग सूचक हिंश्रक पशु हुँदा रहेछन । स्त्री नाम को प्रयोग त उनीहरुको शक्तिसाली अस्त्र पो हुँदोरहेछ ! भुलेर अलिकता रमाइलो गफ गरिहालौँ भनेर अघि बढ्नु भयो भने… बुझ्नोस फन्दामा पारिहाल्छन। त्यस बारेमा कुनै दिन लेखौंला । हस त, अहिलेलाई यति मात्रै !
मे ५, २०२३
टेक्सास