गोधुली
डायरीको पन्नाबाट
(मिति- सेप्टेम्बर २८, २०२२, स्थान – युलेस, टेक्सास)
बिस्तारै साँझ पर्दैछ । झ्यालबाट बाहिर हेर्दै यो डायरी लेखिरहेकोछु । कोठामा बत्ति बालेको छैन । किन किन बत्ति बाले पछि मलाई “दिन सकियो त” भन्ने लाग्दछ | साँझको अवस्थालाई पनि तह तहमा बर्गिकरण गरेको कुरो मलाई थाहा छ । तर कुन कुन हो भन्ने चाँहि मैले अहिले बिर्सिएँ । अहिले बाहिर देखिएको साँझको अवस्था चाँहि गोधुली हो भनेर म भन्न सक्दछु । सूर्य बिस्तारै डुब्दै गरेको र गाई-गोरुहरु बाटोमा धूलो उडाउँदै गोठ तिर लागेको अवस्थालाई “गोधुली” भनिन्छ । । साँच्चै साँझको यो समय अति नै मनमोहक हुन्छ ।
अव अमेरिकाको यो शहरमा साँझमा धुलो उडाउँदै गोठ फर्किरहेका गाईवस्तुहरु त हेर्न कहाँ पाउनु? यो त एउटा साङ्केतिक अभिव्यक्ति हो – यहाँको लागि । तर बाल्यकालका स्मृतिहरुका पन्ना पल्टाउँदै गर्दा हजुरबुवासँग गाउँको घरमा बिताएका दिनहरु सम्झन्छु । पिंढीमा राखेको फलैंचामा साँझ पख हजुरबुवा बस्नुहुन्थ्यो । मलाई सँगै राखेर यताउताका कुराहरु गर्नुहुन्थ्यो । त्यहिँबाट साँझमा धुलो उडाउँदै घर / गोठ फर्किरहेका गाउँका बस्तुभाउहरुको लश्कर हेर्न पाइन्थ्यो । डाँडामा डुब्न लागेको घाम, गाइवस्तु र चराहरु आ-आफ्ना गुँडमा फर्किन लागेको, अनि तल त्रिशुली नदी बगिरहेको दृश्य हेर्दै म हजुरबुवाका कुराहरु सुन्थेँ । कुरा सुन्दासुन्दै झिसमिस साँझ परिहाल्थ्यो । हजुरबुवा पनि बत्ति नबालि फलैंचामा बस्न मनपराउनु हुन्थ्यो । कहिले झ्याउँकिरीको झ्याउँ -झ्याउँ सुनिन्थ्यो, कहिले जुनकिरीहरु टिलपिल चम्किदै आँगनमा उडिरहेका हुन्थे । मलाइ हुक्का तयार गर्न भन्नुहुन्थ्यो, अनि हुक्का ट्वार्र ट्वार्र गर्दै तमाखु खानु हुन्थ्यो । हजुरबुवासँग लुपुक्क टाँसिएर बस्दा मेरो बेग्लै शान हुन्थ्यो त्यो घरमा |
बाल्यकालका स्मृतिहरुबाट बाहिर निस्केर म बर्तमानमा आउँछु । अहिले म यो शहरको एउटा दुई तले घरको माथिल्लो तल्लाको कोठामा बसेर झ्यालबाट बाहिर हेरिरहेकोछु । यो घरमा न मटान छ, न बार्दली छ, न कौशी छ, न पिंढी छ, न आँगन छ । बाहिर हेर्न कि त बाहिरै निस्कन पर्यो, कि झ्यालहरुको सहारा लिनु पर्यो । साँझमा गाईगोरुहरु घर फर्केको, झ्याउँकिरीहरु कराएको, जुनकिरीहरु चम्किएको हेर्नु भनेको त त्यस्तै हो यहाँ । बरु दिनभरि काममा जोतिएर गोधुलीमा गाडीमा घर फर्कदै गरेका मान्छेहरु देखिरहेको छु मैले । उनीहरुलाई देखेर मनमा नआउनु पर्ने कुरा आयो – “कतै मैले बालककालमा देखेका गाईगोरुहरुले मान्छेको जुनी पाएर यतै पो आएछन कि” ! कस्तो वाहियात कुरो मनमा आएको? आफ्नो मनलाई आफैले साफसँग हप्काएँ ।
(सम्पादित- जुन २३, २०२३)