डायरी पल्टाएर हेर्दा …
डायरीको पानाबाट
(मार्च २२, २०२३, डालस)
खै, डायरी लेख्न लाग्दा के लेखुँ, के नलेखुँ जस्तो हुन्छ । लेखुँ भने त मनमा कति कुरा छन् कति ! ती लेख्न थालेँ भने गन्थनको पोको भन्लान | आफ्ना दैनिक जीवनमा आएका भाव, भावना, विचार, घटना – यस्तै त लेख्ने हो नि भन्ने जस्तो लाग्दछ । ती नलेख्ने हो भने अरु के नै बाँकी रहन्छ र लेख्न! आखिर डायरीमा निवन्ध, इतिहास आदि लेख्ने कुरो पनि त भएन |
तर कहिलेकाँहि त यो डायरी लेख्ने काम पनि चटक्कै छोडिदिउँ कि जस्तो पनि लाग्छ । सँधै एउटै जस्तो जिन्दगी भए पछि के लेखिरहने? त्यसो त सँधै को त के कुरा प्रत्येक दिन जिन्दगी फरक देखिन्छ – हेर्न सके ! तर त्यो हेर्न सजिलो कहाँ छ र? डायरी लेख्न छोड्नु हुँदैन भन्ने कुरा पनि बुझेको छु । यी सवै कुरा बुझ्दाबुझ्दै पनि “आ… ” भनुँ जस्तो लाग्दछ ।
जिन्दगीको बितेको कालखण्ड फर्केर हेर्न डायरीले ठूलो सहायता गर्दछ । त्यसमा पनि उमेर ढल्किँदै गए पछि “बिर्सने” बानी हुने हुँदा डायरी पल्टाएर हेर्दा सम्झना ताजा भएर त्यो बितेको कालखण्डमा विचरण गर्न पाइन्छ । त्यो कालखण्डको फोटो, भिडियोले बाहिरी संसार सम्झिन मद्दत गर्छ भने डायरीले त्यो समयमा कस्तो विचार आउँदो रहेछ, कस्तो अनुभूति हुँदो रहेछ आदि बुझ्न पाइँदो रहेछ ।
फेरि ‘गुगल’ गरेर हेर्दा डायरी लेख्नुमा फायदै फायदा रहेछ – मानसिक स्वास्थ्यको लागि |जीवनको एकदमै अप्ठ्यारो अवस्थामा पनि मेरो मानसिक स्वास्थ्य “स्थिर” अवस्थामा राखिराख्न डायरीले ठूलो काम गरेको रहेछ | आखिर मान्छेको जीवन भाव, भावना, विचार, कल्पना र कुनै घटना प्रति आफ्नो अनुभूतिको सँगालो नै त रहेछ । ती कुराहरुलाई डायरीमा झ्याप्प उतारेर राख्दा समयमा त्यसले काम दिने रहेछ, कतिपय अवस्थामा बर्तमान र भविष्यलाई मार्गदर्शन पनि गर्दोरहेछ ।
डायरीका पानाहरुमा बरालिँदै किशोरावस्था, युवावस्थाका मीठा मीठा कुराहरुमा हराउँदै गर्दा एक्लोपनले चियाउँन पनि आँट नगरेको मलाई प्रत्यक्ष अनुभूति छ । फुर्सदमा ओछ्यानमा एक्लै पल्टिएर डायरी हेर्दै घोत्लिदा, रमाउँदा पाएको आनन्दको रसस्वादन जसले गर्यो उसैलाई मात्रै थाहा हुने रहेछ डायरीको मजा !
(परिमार्जित- जुलाई ६, २०२३)