म छु (व्यंग)

अप्ठ्यारो परेको बेला ” म छु ” भनेर आड-भरोसा दिनेहरुलाई त देवदुत / भगवानको दर्जामा राखेका नै छौँ । त्यति मात्रै होईन मन-मुटुमा पनि सँधै राखिरहन्छौँ । तर अहिलेको घोर भौतिकवादी युग वा वैश्य युगमा साँच्चिकै ” म छु” भन्नेहरु पाउन गाह्रो छ । हाम्रो घर-परिवार, समाज र देशमा नक्कली “म छु” भन्नेहरुको जालोमा फसेर माकुराको जालोमा परेका झिंगाको हविगत भोगिरहेका मान्छेहरुको बारेमा हामीले आफ्नै आँखाले वा संचार माध्यमबाट थाहा पाइरहेका छौँ । अरुको बारेमा के भन्नु आफैँ पनि कति चोटी यस्ताको जालोमा परियो, त्यसैको कारणबाट कति दुख:, हण्डर खाइयो। यो कुरो समयमै नबुझ्दा कति शारीरिक तथा मानसिक प्रताडना भोगेछु, अनि प्रगति पनि कम गरेछु -भर्खरै पो कुरो राम्ररी बुझ्दैछु !
“जव जागे तव सवेरा” भने जस्तै कुरो नबुझेर मस्त निन्द्रामा सुतेको बेलाको के कुरा गर्नु? जव चेत भनौँ कि चेतना खुल्यो तव न आफ्नो जीवनको झलमल्ल बिहानी भयो । कता कता भाग्यवादी दर्शनले मलाई यस्तो जालोमा परेको बेला ” आफ्नो कर्म” ” आफ्नो लेखान्तर”, ” आफ्नो भोग”, ” जे हुनुछ भएरनै छोड्छ” भनेर चित्त बुझाउन लगाएको रहेछ । तर अहिले चाँहि ” भाग्य त्यस्तो होइन काँइला, तेरो बुद्धि त्यस्तो” भन्ने उक्तिले पो मेरो बाँकी जीवनको मार्गदर्शन गर्न लागेको छ । त्यो बेला आफ्नो बुद्धि त्यस्तै भएर नै “फटाहा”हरुले ” म छु” भनेर खाल्टोमा खसालेर भएको लट्टीपट्टि पनि खोसेर बेपत्ता भएको । के गर्नु, त्यो बेला यस्तो हो भनेर बाटो देखाउने, सम्झाउने, बुझाउने आफ्ना कोहि भएनन !
अव आफुले देखेका, जानेका, बुझेका, भोगेका कुराहरु भन्दिनु पर्छ ताकि अरुले त्यस्तो हण्डर खान नपरोस भन्ने ‘चेत’ पनि खुल्यो मेरो । अनि हाम्रा समाजमा भएका बिभिन्न ” म छु ” भनि जालमा पार्ने “फटाहा”हरुको बारेमा आफुले देखेको, बुझेको सानो झलक प्रस्तुत गरेको छु । के गरौँ, मन फुकाएर सवै कुरा लेखुँ भने लामो हुन्छ – आजकल मान्छेहरुलाई लामो पढ्ने बानीनै हराईसक्यो । तयारी चाउचाउ जस्तै सानो प्याकेटमा कुरा राखे मात्रै आजकलका मान्छेहरुले खान्छन / पढ्छन -भलै त्यो अस्वास्थ्यकर किन नहोस ! जमाना अनुसार, जनताको ईच्छा अनुसार चल्नै पर्यो नत्र “खटारा” बस भनेर यात्रुहरु अर्कै “नयाँ” बसमा चढिहाल्छन !
अव गाँठी कुरोमा आउँ । हाम्रो समाजका बिभिन्न क्षेत्रहरुमा “म छु ” भन्ने फटाहाहरुले गरेका “करामत”हरु हेर्नोस त-
आर्थिक क्षेत्र
” म छु नि माइजु, हजुरलाई १८% ब्याज सोझै दिलाईदिन्छु भनेर ४० लाख सहकारीमा राख्न लगाएर मर्नु न बाच्नु पार्ने “भान्जा”हरु
– “म छु नि भनि बढी भाउमा जग्गा किनाएर बिचको ‘दलाली’ खाने को भनौँ (?) हरु
तपाईंले बुझिहाल्नु हुन्छ, म बढि के लेखुँ – म छु भनि आर्थिक चलखेल गर्नेका कति रुप छन् कति !
यता विदेश तिर पनि नयाँ आएकाहरुसँग “बेपत्तै फाईदा छ यो ब्यापारमा, लगानी गर्नोस, म छु नि ” भन्दै पैसा हात पारि बिल्लीबाठ बनाउनेहरुको कर्तुत बाहिर आउन थालेको छ ।
राजनैतिक क्षेत्र
यो क्षेत्रको त झनै कुरै नगरौँ ! भन्छन नि- हजार जिब्रो भएका शेषनागले त भन्न सक्तैनन् भने म “छुसी”को त के कुरो भो र । तर पनि एक दुइटा उदाहरण दिईहालुँ –
– म छु नि भनि जिन्दगी भरि झोले / करिया बनाउनेहरु
-मेरो पार्टीमा आउनुस म छु नि भनि घर न घाटको बनाईदिनेहरु
– म छु नि भन्दै आन्दोलन गर्न उचाल्ने, अङ्गभंग भएर उपयोगी नभए पछि नचिन्नेहरु
– म छु नि भन्दै मालदायक ठाउँमा पुर्याएर भ्रष्टाचार गर्न लगाउने, त्यहाँबाट ठूलो दुनो अदृश्य रुपमा आफुले तान्ने, झन्झट आइलागे हात टकटक्याएर डिल्लीबजार खोरमा पुर्याउनेहरु
यस्ता प्रसंगहरु सामाजिक संजालमा कति आउँछन् कति !
साहित्य । संगीत क्षेत्र
-तपाईंको किताव बजारमा ‘हिट’ बनाईदिन्छु, सवै काम म गरिदिन्छु , “म छु नि” भनि पाण्डुलिपि तथा दक्षिणा लिई बर्षौं बेपत्ता हुनेहरु
– नाम चलेको सङ्गीतकार / गायकबाट तपाईंको गीत ‘हिट’ गराईदिन्छु भन्दै रकम कुम्ल्याएर बेपत्ता हुनेहरु
सूची लामो छ, तपाईंहरुलाई थाहा पनि छ, कमेन्टमा लेख्नु होला ।
सामाजिक क्षेत्र
यो क्षेत्रको त झन् कुरै नगरौं । थाहा पाए देखि यो क्षेत्रमा “म छु” भन्नेहरुले “गर्नु गरेका” उदाहरणहरु कति छन् कति । केहि उदाहरण यस्ता छन् –
– ” म छु नि, भान्जी” भन्दै दशकौँ देखि नेपाली चेलीहरुलाई मुम्बई, कलकता, दिल्ली आदिको ‘रेड लाइट’ क्षेत्रमा पुर्याएर नारकीय जीवन बाच्न बाध्य बनाउनेहरु
– ” म छु नि” भन्दै अवैध रुपमा अमेरिका, युरोप तथा अन्य मुलुकहरुमा पुर्याउने भन्दै कन्तबिजोग पार्नेहरु
– “तपाईं जस्तो विद्वान, अनुभवी तथा सक्रिय मान्छेले त सामाजिक सेवामा ठूलो योगदान गर्न सक्नु हुन्छ । आउनुहोस हाम्रो संस्थामा, म तपाईंलाई बोर्डमा राख्छु, पछि अध्यक्ष नै बनाइदिन्छु भन्दै संस्थामा घुसाएर बिना पारिश्रमिक गोरुलाई जोताए जस्तै जोताएर आफ्नो नाम चलाउनेहरु
– म छु नि भन्दै बिहाको लागि केटा वा केटी पक्षलाई फसाउनेहरु
प्रेमिल क्षेत्र
यो क्षेत्र त झनै कोमल मन र भावनाको फूलवारी हो । यहाँ मान्छे अर्कै हुन्छ – धरतीमा नभई स्वर्गमा विचरण गरिरहेको हुन्छ । साच्चिकै स्वर्गमानै भएको भए त मेरो केहि भन्नु थिएन । तर धरतीमा बसेर स्वर्गमा भएको कल्पनामा रमाईरहेको हुन्छ | अनि त्यहिबाट कुरो बिग्रिन्छ । यो धरती अहिले वैश्य युग अर्थात कारोवार युगमा छ । यहाँ हरेक चिजको कारोवार हुन्छ – नाता-सम्बन्धको, मित्रताको, आत्मीयताको, भावनाको, माया-प्रेमको अर्थात् सवै चिजको ।
धरतीमा आक्कल-झुक्कल मात्रै साच्चिकै प्रेम गर्नेहरु भेटिन्छन । ती साच्चिकै प्रेम गर्नेहरुलाई अरुहरुले पागल भन्दछन । मैले कतै पढेको थिएँ – पिंजडामा जीवन बिताइरहेको चराले आकाशमा कावा खाँदै उडिरहेका चराहरुलाई पागल भन्छ रे । यहाँ मान्छेहरु आवस्यकताको, स्वार्थको, घमण्डको पिंजडामा कैद छन्- प्रेमको खुला आकासमा उनीहरुले स्वतन्त्र रुपमा कहिल्यै उडन सक्दैनन ।
एक छिनको शारीरिक आकर्षणलाई प्रेमको नाम दिएर यहाँ धेरै मर्नु न बाच्नु, बेवारिसे, अलपत्र तथा मानसिक रोगी भएका कति कथा-व्यथाहरु छन् कति ।
त्यसैले ‘म छु’ भन्दै “इलु, इलु” गर्नेहरु स्वतन्त्र पन्छी हो कि पिंजडाको बन्दी – कुरो बुझेर मात्रै अघि बढ्नोस । त्यो स्वर्गीय प्रेम त त्यस्तै हो पाउन तर धरतीको डुप्लिकेट प्रेम भए पनि पाउनु भएछ भने धन्य – नत्र धोकै धोका ! आलुलाई माटो मुनिको स्याउ भनेर फ्रेन्च भाषामा भने जस्तै कुरो हो – स्वर्गको प्रेम र धरतीको प्रेम !
अन्त्यमा,
हिन्दीमा एउटा “कहावत” छ जसको भावार्थ यस्तो छ – वकिल, डाक्टर र पुलिसको चक्करमा पर्दै नपर्नु । यिनीहरुको चक्करमा परे पछि जिन्दगी भरि चक्कर काटिरहनु पर्छ । त्यस्तै हो यी ” म छु” भन्ने फटाहाहरुको चक्करमा पर्दै नपर्नु ।
त्यसैले कसैले ” म छु नि!” भन्यो भने मनमनै भन्नोस् – ” यो धरतीमा आफ्नो लागि आफु बाहेक कोहि हुँदैन । यसले म संग कुनै कारोवार गर्दैछ । कारोबार भए पछि स्वार्थ नहुने कुरै भएन । लौ, अहिलेलाई मानि लिउँ – निस्वार्थ भावनाले बोलेको हो , हरेक कुरामा शंका गर्नु ठीक हुन्न, तर कहिले सम्म यो निस्वार्थ भावना बाँचिरहन्छ ?”
तर अर्को कुरो पनि मनमा राखिरहन पर्ने हुन्छ – सवैलाई एउटै तराजुमा राखेर तौलन मिल्दैन । सुन तौलने र आलु तौलने तराजु फरक हुन्छ । कारोवारी नै सहि यो संसार – आफु पनि कारोवारी बन्न पर्यो । सुनको कारोवार र आलुको कारोवारको फरक महत्व पनि बुझ्नुपर्यो । अर्थात् ” म छु” भन्नेको पनि श्रेणी हुन्छ – सवै फटाहा हुँदैनन् , तिनीहरुलाई तौलेर भाउ राख्नु पर्यो ।
यो धरतीमा बाच्ने मेलो हो – यो कुरो !
युलेस, टेक्सास,
जुलाई १३, २०२३