बौद्धिक स्तर (लघुकथा)
–बैकुण्ठराज आचार्य
मैले भनेको कुरा यहाँ कसैले बुझ्दैनन् | मलाई त संगतै गर्न मन लाग्दैन |” उहाँ भन्दै हुनुहुन्थ्यो | मैले भने – “के कुरा बुझेनन्?”
“हेर्नोस न, यहाँ एउटा राम्रो सामाजिक कामको शुरुवात गर्यौं भनेर घरैमा एउटा कार्यक्रम गरें | मैले गर्न लागेको कामको औचित्य पनि बताएँ | कसैले पनि खासै चासो दिएनन् | एउटा कुरो भन्न खोजेको छु, अर्कै अर्कै कुरा गर्छन | भनौं, बुझ्दै बुझेनन् | मान्छेहरुको बौध्दिक स्तरनै कम छ | त्यसैले आजकल म कसै संग संगत नै गर्दिन |”
“अनि छलफल त गर्नुभयो होला | उहाँहरुको कुरा पनि सुन्नु भयो होला | नबुझेको रहेछन भने बुझ्ने किसिमले भन्नुभयो होला नि त ?”
“ मैले पुरा लेखेर लगेको थिएँ | त्यसैमा सवैलाई मैले के गर्न खोजेको, तपाईंहरु यसमा मलाई के सहयोग गर्न सक्नुहुन्छ भनेर सोधें | आफ्ना “टर्म्स एण्ड कन्डिसन” पनि देखाईदिएँ | तर बुझ्दै बुझेनन् |”
“तपाईंले बुझाउन सक्नु भएन कि? उनीहरुले बुझ्ने भाषामा भएन कि ?”
‘त्यस्तो नबुझ्ने कुरा केहि थिएन | मैले भनि हालें नि यहाँको मान्छेको बौध्दिक स्तरनै कम छ |”
भनिदिन त मन लागेको थियो – “ आफ्नो कुरो जनसाधारणलाई राम्रो संग बुझाउन सक्नुहुन्न भने अर्काको बौद्धिक स्तर हैन आफ्नै बौद्धिक स्तरको बारेमा सोच्नुपर्छ | आफ्नो कुरो राम्रो संग भन्न सकिन्न भने कसरि बौद्धिक भईन्छ र ? फेरि आफ्नो मात्रै निहित स्वार्थले अघि सार्न खोजेका कार्यक्रमहरु साधारण मानिसहरुले पनि थाहा पाउँछन | अनि सहयोग गर्दैनन |”
तर मैले केहि भनिन | गांठवाला र राम्रो जागिर भएको मान्छे हुनुहुन्थ्यो उहाँ | त्यसैले आफुलाई ‘सर्बज्ञानी’ र समाजलाई मार्गदर्शन गर्ने सोचमा हुनुहुन्थ्यो | के ‘तित्राको मुख बैरी” भनेजस्तो गर्नु भनेर चुप बसें | त्यहि गल्तीको सजाय समाजले भोगिरहेको हेर्न बाध्य छु म आजकल |