–बैकुन्ठराज आचार्य
अबोध थिएँ म
बालक थिएँ म
तिमीमा उभिएर
बागमती हेर्थें
उनको चंचलता हेर्थें
साउने झरीमा
उनको शालीनता हेर्थें
हिउँदको चिसोमा
तिमी को हौ
थाहा थिएन
मात्र बागमती देख्थें
बगिरहेकी बागमती !
यौवन आयो म मा
बैंश आयो म मा
लाग्यो मलाई
तिमी
निस्कृयता हौ
सँधै एकै ठाउँमा छौ
तिमी श्वमसान हौ
धुवाँको मुस्लो
मलाई तिम्रो छेउ बस्नु छैन
मलाई तिमी कहाँ कहिल्यै जानु पर्दैन
अजर छु म
अमर छु म
र
बागमतीको प्रवाह संगै
हिउँद बर्षाको चक्र संगै
म परिवर्तित हुँदै
फेरि आउंछु तिमि कहाँ
उभिन्छु तिमीमा
समयले मेरा नजर
मेरा हेराई
मेरा बुझाई
बदलिसकेछ
तिमी को हौ
चिन्न सक्ने बनाई सकेछ
आर्यघाट !
तिमी को हौ
मैले चिनिसकेँ !
हेरिरहेछु
तिमीले कतिको
घमण्ड, पीडा, रोग, इच्छा, आकांक्षा, प्रेम
बिसर्जन गराएका छौ
कतिलाई जीवन के हो सम्झाएका छौ
बुझीसकेँ तिमीलाई
बुझीसकें जीवन र मृत्युलाई
बुझिसकें एकदिन म पनि
त्यहि सुतिरहेको हुनेछु
र धुवाँको मुस्लो बन्नेछु
हेर्नेछन मलाई पशुपतिको प्रांगणबाट
पारी किनारबाट
बच्चा, तन्नेरीले
देखनेछन् सिर्फ धुवाँको मुस्लो
मैले पहिले देखे जस्तै
तिमी पर्खाउनेछौ
उनीहरुलाई यथार्थ बुझ्न
मलाई जस्तै
आर्यघाट !
मैले देखिसकेछु
तिम्रो असली रुप
मैले देखिसकेको छु
तिम्रो यथार्थ
अनि आफ्नै यथार्थ
आर्यघाट !
तिमी सँधै उही छौ
तर मैले
बिभिन्न कालखण्डमा
तिमीलाई
बेग्लाबेग्लै संग हेरें
बेग्लाबेग्लै संग बुझें
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...