म त अमेरिका जान्न ( लघुकथा)
-वैकुन्ठराज आचार्य
स्कुले साथी हो राम प्रसाद दिलीपको । स्कुल देखिनै हाटहुट, डाँगडुंगमा सिपालु । कलेज त गएको हो तर पढाई पुरा गरेको जस्तो लागेन । दिलिप संग उसको भेट भैरहन्थ्यो । भेट हुँदा ठुला ठुला नेताको नाम लिन्थ्यो । कहिले ठेक्कापट्टा, कहिले समाजसेवा, कहिले राजनीति गर्छु भन्थ्यो । दिलीपले चाँहि स्नातक पास गरेर लोकसेवा पास गरि सुब्बा भयो ।१५ बर्ष जागिर खाँदा पनि घरपरिवार चलाउन गार्हो परिरहेको थियो । उखानै छ नि – सोझो औंलाले घिऊ आउँदैन । तर उ औंला बाङ्गो गर्न सक्दैनथ्यो ।हाकिम र नेताको चाकडी गर्न जान्दैनथ्यो । अनि जिन्दगी कसरि उँभो लागोस ? १५ बर्ष काम गर्दा कता बाट खुट्टो बाटोमा परेछ शाखा अधिकृत भयो दिलिप । आफ्नो श्रीमानको बानी व्यहोरा सवै बुझेकी श्रीमतीले जे भए पनि यीनले गरिखाँदैनन् भनेर डि.भि. भरिछिन । परेछ पनि । जान्न अमेरिका आफ्नै देशमा काम गर्छु भन्दैरहेछ । आफन्तहरुले उसको स्वभाव र यताको चालामाला देख्दा जान नै सुझाव दिए । अनि अमेरिका पनि गयो । तर अमेरिका जाँदैमा सवै चिज कहाँ पाइन्थ्यो र ? टुकुटुकु जिन्दगी चलाईरहेको थियो उ अमेरिकामा ।
राम प्रसादले भने यो १५ – १६ बर्षमा आफुलाई केहि हुँ भन्ने बनाइसकेको थियो । समाजले पनि उसको भौतिक उन्नति अनुरुप सम्मान गर्न लागिसकेको थियो । दिलिप ३ बर्ष पछि बिदामा नेपाल आयो । राम प्रसादले कता कता बाट थाहा पाइसकेको रहेछ । फोन नम्बर पनि पत्ता लगाईसकेको रहेछ । दिलिपलाई फोन गरेर ‘डिनर’को लागि बोलायो ।श्रीमान श्रीमतीले कुरा गरे – त्यस्तो चम्मु राम प्रसादले त्यसै त हामीलाई बोलाएको छैन, अवस्य पनि केहि मतलव होला ।
डिनरको लागि गए श्रीमान श्रीमती । धापासी हाइटमा भब्य घर रहेछ । घरमा पस्ने बित्तिकै ढोका देखिनै राम प्रसादले घरको बर्णन गर्न लाग्यो । ढोकाको कति पर्यो, आँगनमा के छापेको छ, कति पर्यो, बगैंचा सिगार्न कति पर्यो, माली कति चोटी आउँछ आदि इत्यादी । घरका प्रत्येक कोठा देखायो । बैठक कोठामा राख्यो राम प्रसादले दिलीपका श्रीमान श्रीमतीलाई । बैठक कोठाको त के बर्णन गर्नु र – सिनेमामा देखाएको जस्तो थियो । त्यतिकैमा बाहिरको ढोकामा घन्टी बज्यो । घरको सहायकले ढोका खोलिदियो । राम प्रसादले पर्दा खोलेर हेर्यो । दिलीपले पनि देख्यो – कपाल बाँधेका, मुन्द्रा लगाएका, पाखुरा देखाएका ४ – ५ जना आँगनमा थिए । राम प्रसादले कोठै बाट उनीहरुलाई अर्को कोठामा बस्न भन्यो । अनि “एक छिन है ” भनेर गयो ।
एक छिन पछि आउने बित्तिकै भन्यो – ” हेर्नोस न, यिनीहरु मेरा पुराना सहयोगी हुन। मलाई यहाँ सम्म ल्याईपुर्याउनमा यिनीहरुको ठूलो सहयोग छ । यिनीहरु बिना ठेक्का-पट्टा, समाजसेवा, व्यापार, राजनीति केहि पनि हुँदैहुँदैन । तपाईं त मेरो पुरानो मित्र मेरो बारेमा तपाईंलाई थाहै छ । टेबुलमा एउटा ब्रोसर देख्यो दिलीपले – ” राम प्रसादको संघर्षपूर्ण जीवन – केहि झिल्काहरु” लेखेको थियो कभरमा । ” पढ्नोस दिलिपजी ” उसले भन्यो ।
दिलीपले त्यो ब्रोसर पढ्यो । के के लेखेको थियो – पढ्दै जिल्ल हुँदै थियो उ । फलानो सालको फलानो आन्दोलनमा यति महिना फलानो जेलमा बसेको, भारतको इलाहाबादबाट राजनीतिशास्त्रमा स्नातक गरेको, फलानो फलानो संस्था / मन्दिरलाई आर्थिक सहयोग गरेको आदि इत्यादी । दिलिपलाई राम्ररी थाहा थियो – त्यो केहि पनि होईन । राम प्रसादले फेरी भन्यो -“बुझ्नु भो दिलिपजी, यहि कोठामा पार्टीका ठूला नेताहरुलाई डिनरमा बोलाएको थिएँ । त्यो कुर्सीमा फलानो, त्यसमा फलानो, त्यो सोफासेटमा फलानो फलानो थिए । के गर्नु यसपाली टिकट लिनु छ । एक चोटी सांसद अनि मंत्री बन्ने विचार छ । हेर्नोस न, ब्यापार पनि गरियो, समाजसेवा पनि गरियो, राजनीति पनि गरियो -तर पनि अझै पछि परिएको छ । त्यो फलानोले म जस्तै गर्थ्यो, मंत्री पनि भयो, अरवपति पनि भयो । आफ्नो चाँही यहि दु:खम सुखम चलिरहेको छ ।“ उसलाई चित्त बुझिरहेको थिएन -यति गर्दा पनि मुल्याङ्गकन र कदर नभएकोमा ।
“अनि सुनाउनुस दिलिपजी, तपाईंको प्रगति ।” राम प्रसादले भन्यो ।
“अँ , मेरो उस्तै हो । पहिलेको भन्दा के राम्रो भनुँ , के नराम्रो भनुँ ।”
“भन्नोस् के काम गर्नु हुन्छ अमेरिकामा ?”
“त्यहि ग्यास स्टेसनमा काम गर्छु ।”
“कहाँ ? टेक्सासमा ?”
“अँ.।”
“आफ्नै ग्यास स्टेसन कि.… ?”
“हैन अर्काको ”
“टेक्सासमा त मेरा पार्टीका थुप्रै साथीहरु छन् । फलानो , फलानो चिन्नुहुन्छ ?”
“अँ.… ”
“बुझ्नु भो दिलिपजी, मेरो एउटा नातेदार पहिले ग्यास स्टेसनमा काम गर्थ्यो, अहिले त मालामाल छ ।”
“अँ, धेरैले राम्रै गरेका छन् ।”
“बुझ्नु भो, दिलिप जी, म त अमेरिका कुनै हालतमा पनि जान्न । हो कहिलेकाँही घुम्न जाउँला, त्यत्ति हो । त्यहाँ गएर को हड्डी घोटिरहोस ? मलाइ त् आफ्नै देश प्यारो लाग्छ । छोरा-छोरीलाई चाँही पढन पठाउने सोचेकोछु ।“आफु त आफ्नै देशको सेवा गर्यो, रुखोसुखो खायो, मेहनत गर्यो । अर्काको देशमा गएर के गर्नु ? जे गर्न सकिन्छ आफ्नै देशमा गर्न पर्छ ।”
“किन जान पर्यो अमेरिका तपाईंलाई ? तपाईंलाई त यहिं अमेरिका भन्दा धेरै राम्रो छ ।”
राम प्रसादले थप्यो – “म त बुझ्दै बुझ्दिन मान्छेहरु किन मरिहत्ते गर्छन विदेशमा गएर काम गर्न । म त जान्न विदेश आफ्नो स्वर्ग जस्तो देश छोडेर ।”
दिलिपले केहि जवाफ दिएन । उसको मनमा त आइरहेको थियो -” हामी पनि किन जान्थ्यौं र ! देश त स्वर्गै हो । तर उचक्काहरुले सोझा साझाहरुलाई बस्न, केहि गर्न र अघि बढ्नै दिदैनन । अनि बाध्य भएर विदेशमा केहि होला कि भनेर जाँदा रहेछन । उचक्काहरुलाई त झनै खुँदो ! कोहि त्यसै आफ्नो गाउँ, देश, परिवार, घर छोडेर बिदेशमा किन भौतारिन जान्छन र !” तर दिलीपको मनको कुरो मनैमा रह्यो ।
राम प्रसादको घरबाट फर्कदैं गर्दा बाटोमा दिलीपकी पत्नी भन्दैथिईन -“कुनै दिन त आउला नि नेपालमा जव हामी जस्ताले पनि म त अमेरिका जान्न भन्न सक्नेछन ।”
दिलिपले भन्यो – “त्यहि त !”
(फ्रान्क्फर्ट विमानस्थलको प्रतिक्षालयमा टर्की , इस्तानबुल जाने हवाइजहाज पर्खाइको समयमा लेखिएको -मिति फेब्रुअरी २६, २०२० )