किचकन्नी (कथा)
–बैकुण्ठराज आचार्य
धूलो, धूवाँ र ध्वनि प्रदुषण मात्रै होईन, धेरै कुरा छ काठमाडौँमा । झन् त्यसमा आजकल कोभिड -१९ थपिएको छ । ट्याक्सीको मोलमोलाई, तरकारीको मोलमोलाई र कतै मान्छेकै मोलमोलाई भैरहेको त धेरै पहिले नै देखिआएकै हो । बाहिरबाट आएकाहरुलाई यहाँ चहलपहल गर्न सामना गर्नु पर्ने सवैभन्दा ठूलो चुनौती ट्याक्सीकै मोलमोलाई हो । मैले पनि यो १० दिने बसाईमा तरह तरहका ट्याक्सीचालकहरुको आँखा तराइ, घुर्की , धम्कीहरु सहेकोछु । भन्न त प्रशासनलाई खवर गर्नोस भन्ने सूचना पनि सुनेकोछु । तर को लफडामा लागोस – कामकुरो एकातिर कुम्लो बोकी ठिमी तिर । यो समस्या निवारण गर्न चाह्यो भने प्रशासन संग सयौ अरु तरिकाहरुछन् – प्रशासनले नबुझेको के छ र ? आँखा चिम्लेको मात्रै हो !
यो दश दिने बसाईमा बिभिन्न ट्याक्सीचालकहरुको संगतमा धेरै कुरा बुझेँ मैले । कहिलेकाँही त एउटा अनुसन्धानात्मक प्रतिवेदननै तयार गरूँ कि भन्ने लाग्यो । फेरि सोंचें – अर्काको भाग के छिन्नु ? त्यत्रा गैरसरकारी संस्थाहरु छँदैछन् नि ! मैले यहाँ तरह तरहका चालकहरु भेटें -“पहलमान”, टिम्के, दार्शनिक, नेता, क्रान्तिकारी, साहित्यकार आदि । मजेदार कुरो त के थियो भने एउटा ट्याक्सीचालकले त मलाई उ चालक नभएर काठमाडौँकै मेयर हो कि भन्ने भ्रम पैदा गर्न सफल भएको थियो । यस्ता धेरै कुराहरु छन् तर अहिले एउटै मात्रै घटनाको बारेमा लेख्दैछु ।
जानु थियो नारायणगोपालचौक, माहाराजगन्जबाट बूढानीलकण्ठ । चौककै नजिकै बसेका चालकहरुमध्ये एउटा हेर्दामा अलि “सोझो” लागेर त्यसै संग कुरा गरेँ -” बूढानिलकण्ठ जानु हुन्छ ?
“कहाँ ?” उसले सोध्यो ।
“फलानो” नेताको घर छेउमै ” मैले भनेँ ।
उसले तुरुन्तै थाहा पाइहाल्यो -कहाँ जाने भन्ने कुरो ।
“मिटर चल्छ हैन ?” मैले सोधेँ ।
उ एकछिन चूप लाग्यो । अनि भन्यो -“मिलाएर दिनोस न ।”
“मिलाउँदा कुरो मिल्दैन, मिटरमै जाउँ हुन्न ?” मैले भनें ।
मैले ठूलो नेताको नाम लिएको थिएँ । अनि चालक पनि “सोझै” देखिन्थ्यो । मलाई लागेको थियो -उसले मान्छ । नभन्दै मान्यो उसले |”बस्नोस” भन्यो ।
यति सजिलै कुरो मिलेकोमा मलाई एकदमै खुशी लाग्यो । कति गाह्रो छ यहाँ ट्याक्सीसंग मोलमोलाई गर्न त्यो त मैले भोगेकै थिएँ । कतै, ठूलो नेताको नामले काम गर्यो कि जस्तो पनि लाग्यो ।
गाडीमा बसेँ । स्टियरिंगको छेउमै एउटा धागोमा रातो, निलो, पहेंलो, हरियो चुराहरु झुन्ड्याएको देखें । मलाई यो “सोझो” चालकसंग कुरा गर्न मन लाग्यो ।
” तपाईले यी चुराहरु किन झुन्ड्याउनु भएको?”
“राती गाडी चलाऊँछु । किचकन्नीहरु आएर हैरान पारे ।”
“साँच्चै किचकन्नी कि अर्कैलाई भनेको ?” मैले कुरा कोट्याउन खोजें ।
“साँच्चै भनेको हो ।” उसले भन्यो ।
“मैले त् केटाकेटी देखि यस बारेमा धेरै कुरा सुनेको थिएँ । तर कहिले पनि जम्काभेट भएन ।” मैले भनें ।
“मेरो त् कति कति ।” उसले भन्यो ।
“हो र भन्या ?”
मैले आश्चर्य मिश्रित स्वरमा भनेँ ।
त्यस पछि उसले भन्यो –
“म तपाईंलाई एकचोटीको घटना सुनाउँछु । रातीको एघार बजेको थियो । धापासी चौकमा म प्यासेन्जर कुरिरहेको थिएँ । एकाएक कताकताबाट आएर एउटा केटीले “मलाई बालाजु पुरयाई दिनुस” भनिन । उनि एकदमै राम्री थिइन् र उनको शरीरबाट मगमग बास्ना आइरहेको थियो । मैले गाडी चलाएँ तर मलाई बालाजु पुगेको होशै भएन । उनले “यहाँ गाडी रोक्नोस” भनिन । मैले गाडी रोकेँ । उनले “मेरो घर जाउँ” भनिन । म लुरुलुरु उनको घर गएँ । कति खेर म आफ्नो गाडीमा फर्कें । कति खेर घर गएर सुतें । मलाई केहि थाहा भएन । तर भोलिपल्ट बिहान आफ्नो कमाई हेर्दा “मनि ब्याग” रित्तो थियो । मैले श्रीमतीलाई केहि भन्न सकिन ।“
मलाई उसको कुरामा चाख लागिरहेको थियो ।
“अनि अन्त पनि त्यस्तै भयो त?”
“अँ, भयो । म दिउसो कमाएको पैसा घरमै छोडन लागें । राति पैसा लिएर हिड्दा डर हुन्थ्यो । तर म दुब्लाउँदै गएँ । श्रीमतीले पिर गर्न लागिन । राति गाडी नचलाऊ भन्दै थिइन् । राति गाडी नचलाई राम्रो आम्दानी हुँदैनथ्यो ।कसैले उनलाई भनिदिएछ – काठमाडौँमा राति राति अनेक भूतप्रेत, किचकन्नीहरु हिंड्छन । अनि उनले एउटा ” जान्ने”लाई भेटिछन् । जान्नेले मलाई किचकन्नीले छोएको रहेछ भनेछन । त्यसपछि मलाई बिभिन्न जन्तर, औंठी बनाएर लगाइदिनु भनेछन । साथै गाडीमा आफैं गएर यो चुराको माला झुन्ड्याईदिनु , बूढालाई राती गाडीमा चढन एक्लै कोहि महिला अपर्झट आएमा यो चुरा बजाउदै, यो मन्त्र जप्दै उसलाई नचढाई सकेसम्म गाडी कुदाइहाल्नु भन्नु भनेछन ।”
उसले कुरा गर्दै गयो , म सुन्दै गएँ ।
“अनि तपाईंले “जान्ने”ले भनेको जस्तै गर्नुभयो त?” मैले सोधेँ ।
“अँ , त। हेर्नोस न , यो चुरा , यो औंठी , यो जन्तर |” उसले सवै देखाउंदै भन्यो ।
“अहिले सवै ठिक छ त, तपाइंको ?” मैले सोधें ।
“सवै ठिक छ , देखिहाल्नु भो नि ।” उसले भन्यो ।
“राति एक्लै कोहि महिला अपर्झट देखियो र गाडीमा बस्न आए भने… !” मैले भनें ।
“चान्सै छैन । म गाडी कुदाई हाल्छु ।”
मैले “सोझो ” भन्ठानेको चालक साँचिक्कै सोझो हो त?-आफैं संग प्रश्न गर्दै म गाडीबाट ओर्लिएँ ।
(कथाकार आचार्य युएसनेपाल पाेस्ट काे शनिवारिय साहित्यका नियमित स्तम्भकार हुन ।)