उहापोहबाट अलग एउटा मान्छे (कथा)
–मधुवन पौडेल
मेरो नयाँ सरकारी जागीर थियो । आफ्नो कामको क्षेत्र र “नयाँ मुल्ला”को स्थिति भएकाले छिमेकी मुलुक र देशको सीमानाको छेउछाउ नाघ्ने सौभाग्य हुन्नथ्यो । शुरुका दिनमा कहिले बरिष्ठ सहकर्मीले फकाउँदै त कहिले हाकिमले माया देखाउँदै भन्ने गर्थे, “काम सिक्ने बेला यही हो, दुइ दिन सीमाको बैठकमा गएर आउनु धेरै कुरा थाहा हुन्छ ! बस्ने खाने ठाउँ सिडियोले मिलाइहाल्छन् !” यस्तै कुनै काम लिएर म त्यतिबेला देशको पूर्बी सीमानाको एउटा जिल्ला पुगेको थिएँ। बैठक कुनै कारणबश सरिसकेको रहेछ । तर अघिल्लो दिन विदा परेकोले बैठक सरेको खबर मसम्म पुगेको थिएन । यसरी अप्रत्याशित रुपमा पुग्दा म शायद त्यहाँ बिचल्लीमा पनि पर्न सक्थेँ होला, तर संयोगवश म जस्तै खबर नपाएका तर उतै जन्मघर भएका अर्का एक सहभागी पनि एउटै हवाईजहाजमा रहेछन् । एकछिनको भलाकुसारीपछि उनले बैठकको सवै संयोजन कार्यमा संलग्न स्थानीय एक प्रहरी ईन्स्पेक्टरसंग मलाई मद्दत गर्न अनुरोध गरेर आफ्नो बाटो लागेका थिए ।
सोही अनुसार आफुलाई लिन आएको प्रहरी भ्यानमा चढेर म ठानाका हाकिमको कोठाभित्र पसेको मात्र थिएँ, त्यहाँ त ठूलै गलफत्ती पो भइरहेको देखेँ । इन्स्पेक्टर छेउमै बसिरहेको एउटा बन्दीजस्तो लाग्ने नौजवान केटोसँग ठूलै आवाजमा रस्साकस्सी गर्दै थिए,
“के हो भाई? पुलिस स्टेशनमा त्यो पनि गल्ती गरेर आएपछि यत्रो फूर्ती ?”
“तँलाई सिध्याइदिन्छु म, यहाँबाट त यहाँबाट वाहिर निस्कुँ न” ! दुई जना हठ्ठा कठ्ठा प्रहरी जवानले अँठ्याइरहेको भए पनि बल लगाएर फुत्कन खोजिरहेको नौजवान लगातार फिल्मी जस्तो लाग्ने मुद्रामा एउटै रट लगाइरहेको थियो । अर्कोतिर कुर्सीमा उपरखुट्टी लगाएर पुरै आत्मबिश्वासका साथ ठानाका हाकिम कुर्लंदै थिए ।
“के नाप्छस् तैँले ? हिक्मतबहादुर सिंह हुँ म ! कस्ता कस्तालाई त तह लगाएँ, तँ नाथे टोले गुण्डा कुन ड्यांगको मूला होस् र ! तेरो धम्कीले गल्ने पुलिस होइन म, बुझिस् ? तँ जस्तालाई तह लाउन मैले पनि धेरै तरकीब जान्या’छु । लैजाओ यसलाई, म अब यसका कुरा सुन्दिन !” हातको डण्डा घुमाउँदै उनी भन्दै थिए ।
सामान्य भलाकुसारीपछि हिक्मतबहादुरले बैठक सरेको खबर नपुग्नुमा आफ्नो दोष भएको भन्दै क्षमायाचना पनि गरे। पहिलोपल्ट भेटेको भए पनि हिक्मतबहादुरसँग म अत्यन्तै प्रभावित भएको थिँए । दिउँसोको खाना पनि उनकै क्वार्टरमा खाएर उनको सौजन्यतामा मिलेको हवाईजहाजको सीटमा म साँझमा काठमाडौँ उडेँ । त्यो दिनपछि हाम्रो अलि अलि हिमचिम पनि बढ्यो। उनीकाठमाडौँ आउँदा भेटघाट र गफगाफ हुन्थ्यो र यदाकदा जमघट पनि !
प्रहरी इन्सपेक्टरको रुपमा हिक्मतबहादुरसिंह निडर, इमान्दार र निष्कलङ्क थिए । फोर्समा पनि उनी निकै सख्त, आफ्नो मर्यादाको ख्याल राख्ने र सहयोगी अफिसरको रुपमा चिनिन्थे र उनको पोस्टिंग् प्राय: चुनौतीपूर्ण स्टेशतिर मात्र हुने गर्थ्यो । आफ्नै बलबुत्तामा उनले धेरै महत्वपूर्ण व्यावसायिक तालीम पनि लिइसकेका थिए । अर्कोतिर रोहित त्यो ठाउँको कहलिएको नामूद गुण्डा र सरकारी संरक्षण र राजनैतिक पहुँच भएको सानोतिनो चवन्नी नेता थियो । यसवाहेक आफ्नो कार्यक्षेत्र सीमानामा भएकोले सुरक्षा ब्यबस्स्थापन गर्नु निकै कठिन काम थियो हिक्मतवहादुरका लागि । त्यसमा पनि रोहित जस्ता मान्छेलाई सुधार्नु भनेको अर्को फलामको च्युरा चपाउनु नै थियो । तैपनि उनले १२।१३ महिनादेखि साँझ विहान नभनी पुरै खटिएर आफ्नो जिम्मेवारी पुरा गरेका थिए र आफ्नो जिम्मेवारी पुरा गर्न कटिबध्द थिए । उनलाई त्यो दिनको राम्रै सम्झना थियो, जब रोहितले आफु रङ्गेहात पक्डिएपछि पहिले अप्रत्यक्ष अनि प्रत्यक्ष रुपमा उनको सरुवा अन्यत्र गराइदिने धम्की समेत दिएको थियो । जसरी भए पनि उनलाई लखेटेर त्यो जिल्लामा आफ्नो गुण्डागर्दी र मनोमानीलाई निरन्तरता दिने उसको उद्देश्य थियो ।
यत्तिकैमा नहुनुपर्ने कुरा भयो, त्यो दिन र अरु दुइ दिन पनि हिक्मतबहादुरले जसोतसो रोहितलाई खोरमा नै जिपट्याए, तर त्यसपछि परिस्थिति बदलिएर अर्कै रुप लियो । रोहित उनलाई औँला ठड्याएर मात्र गएन, उ निस्केको पाँच छ महिनामा नै उनको एउटा दुर्गम पहाडी जिल्लामा सरुवा पनि भयो, धन्न जागीर चाँही जोगियो । त्यतिमात्र होइन ‘चुनावका बेला राम्रो शान्ति सुरक्षाको व्यवस्था गर्नै नसकेको’, ‘सीमापारीबाट हुने अवैध धन्दा रोक्न नसकेको’ र ‘आफुलाई मन नपर्ने जोसुकैलाई पनि कानून बाहिर गइ यातना दिने गरेको’ जस्ता मिथ्या आरोप पनि लागे ।
वर्ष वित्दै गए, समय समयमा सहकर्मी साथीहरुको बढुवा हुन्थ्यो, हिक्मतबहादुरको नाम पछाडी भने उही पुरानै झूटो आरोपको दाग छँदै थियो, उनी झन् पछाडी धकेलिइन्थे र अनि अरु नयाँ नयाँ सहकर्मी आउँथे । केही बर्षपछि उनको संगठन नवागुन्तकले भरिएपछि त सवैले हिक्मतबहादुर भन्नासाथ उही पुरानो र क्यरियरमा दाग लागेको हिक्मतबहादुर भनेर मात्र चिन्ने भए । यसै गरी २० वर्ष विताएपछि पेन्सन लिएर हिक्मतबहादुरले जागीर छोडे । छोराछोरीले राम्रै पढेकाले कुँढिएको र आक्रोषित मन लिएर हिक्मतबहादुर उनीहरुकै पछि लागेर विदेशिए !
वास्तवमा हिक्मतबहादुरले विरक्तिएरै देश छाडेका थिए ।
यस पटकको घुमाईमा मेरो गन्तव्य हिक्मतबहादुर बसेको राज्य पनि परेकोले म उनको ठेगाना बटुलेर त्यहाँ पुगेको थिएँ । मैले उनमा खास केही फरक देखिन, पहिलेजस्तै कडक र हक्की ! जिन्दगीको उहापोहले पटक्कै असर नगरे जस्तो ! पहिले अपराधीहरुलाई हकारे झैँ अहिले परिवारका सदस्यको सातो खाँदा रहेछन्। दुइ महिनाको बसाईमा अनुकूल मिलाएर म उनीकहाँ पस्ने गर्थेँ।
उनी अर्थात् हिक्मतबहादुर अहिले आफ्नो जन्मथलोबाट टाढा छन्, आफ्ना बाल्यकाल र कार्यक्षेत्रका हितैषीबाट टाढा छन्, हिमाल र पाखा पखेराबाट टाढा तर जहाँ छन् त्यहाँ सुखी र खुशी नै छन् । त्यति भएर पनि उनले आफ्नो जन्मथलो बिर्सेका छैनन्, ती हिमाल, हरिया र नाङ्गा डाँडा काँडा, ती पहेँलै फुलेका फाँट, मठ मन्दिरका भीडभाड र जुनसुकै बेला चोला बदल्न सक्ने ती मान्छेहरुको झुण्ड पनि बिर्सन सकेका छैनन् । तर केही दशक अगाडी एउटा स्थानीय देखिए पनि राष्ट्रिय स्तरको हाई प्रोफाईल गुण्डालाई कारवाई गर्ने क्रममा थानाको प्रहरी जवानले उसलाई घिच्याउँदै लैजाँदा आफुले बोलेका शब्द हिक्मतबहादुरका कानमा अझै बज्रिरहने गर्छन् । उनको छोराले भने अनुसार, सेवानिवृत्त र बृध्दावस्थामा पुगिसकेका उनी पुराना कुरा संझेर एक्लै घोत्लिँदा प्राय: यस्तै घटनाको पूर्बस्मृतिमा हराइरहेका हुन्छन् ! उनी दिनको एकपल्ट भए पनि नाती नातिनालाई फकाएर नेपालको खबर सुन्ने गर्छन्, अनि आफैँ हाँस्छन्, रिसाउँछन्, मुख चेप्र्याउँछन् ।
आज टेलिभिजनको पर्दामा कुर्लिरहेको उही रोहित कुमारको अनुहार हेर्दा हिक्मतबहादुर केही विचलित भएका थिए, उनलाई आफ्नो जन्मथलोको चिन्ताले सताएको थियो । त्यसैले उनले रोहितको आवाज सुन्नुपर्ला भनेर टेलिभिजन नै बन्द गरिदिए । उनी पुरानै आरोप संझेर आफ्नो भाग्यलाई कोसिरहेका थिए भने उनको अपराधी रोहितको सामाजिक चिनारी अर्कै भइसकेको थियो । उनको प्रतिक्रियामा म पल्लो सोफामा बसेर हेरेको हेर्यै भएँ । एक छिन अघिमात्र कामबाट फर्केर हामीसंग बात मार्ने सुरमा त्यहाँ सोफामा टुसुक्क बस्न आएको उनको छोरालाई शायद चित्त बुझेन,
“किन सँधै ती पुराना दिन सम्झेर आफैँलाई मर्माहत र विचलित बनाउनुहुन्छ बुवा ? हामी यता आएकै बीस वर्ष हुन लागिसक्यो ! अब त बिर्सिदिनोस् !” उनको छोरो पछाडीबाट भन्दै थियो ।
हिक्मतबहादुरले पछाडी उभिएको छोरालाई पुलुक्क हेरेर मलाई “म एकै छिनमा आएँ है बाबु” भन्दै उनी विस्तारै आफ्नो कोठातिर लागे । जाने बेला उनी एक्लै बड्बडाउँदै थिए, “यिनीहरुलाई मेरो मनको वह थाहै छैन ! त्यसैले पनि मलाई फर्कन मनै लाग्दैन !”
mbpaudel@hotmail.com
2