आखिरमा कोरोनाले बचाँएन… (कथा)

शिव शर्मा
भुकम्पले गाउँमा घर ढल्दा चेपमा परेर पनि उ बाँचेको थियो । लागेको थियो उसलाई फेरी नया जीवन पाए । नेपालको निजामति सेवाको सामान्य कर्मचारी थियो हरिकृष्ण । जिन्दगीमा सपनाहरु उसले धेरै देखेको थियो ।
साथीभाइको लहै -लहैमा लागेर ऊ विदेशको चक्कर काटने दाउ पनि हेरेको थिए । कोरिया जाने मोहले कहिले इपिएस कक्षा लिन दर्गुरिन्थ्यो । जापानिज भाषाको कक्षा लिन पनि ऊ चुकेन । कोरिया जाने इपिएसमा भने उर्तिण हुन सकेन । जापानका लागी जापनिज दुताबासले पासपोर्टमा भिसा हानिदिएन ।
यसपछि भने उसमा विदेशको भुत हटेको थियो । यता आफनो सानो जागीरले परिवारको गाडी चलाउन उसलाई हम्मे थियो । घर थियो तनहुको दुर्गम भेगतिर । काठमान्डौ सहरमा डेरा लिएर जेनतेन परिवारको गुजारा चलाइरहेको थियो ।
साना तीन बच्चाबच्चीलाई स्कुल पठाएको थियो । उसलाई पनि विदेश गएर केही कमाएर स्वदेश फिरेर आनन्दसंग जीवन बिताउने चाह पलाएको थियो । सबै सोचे जस्तो पनि हुदैन । समयले कोल्टे फेदै गयो ।
जापान कोरिया पछि ऊ अमेरिका जाने र डलर कमाउनेतर्फ ध्यान केन्द्रित गर्न थाल्यो । तर अमेरिका छिर्न सजिलो थिएन । कित डिभी पर्नु पथ्र्यो कित विद्यार्थी भएर पढनका लागी जानु पथ्र्यो । विदेश जाने हर प्रयास विफल भएपछि ऊ त्यता सोच्न छाडीसकेको थियो ।
काठमान्डौको मंहगी, डेरोको बाँस र चार जना परिवारको डुंगा चलाउन उति सजिलो भने थिएन उसलाई । जसोतसो जिन्दगी चल्दै थियो ।
एकमन त उसलाई लाग्दै थियो गाउँमा त्यत्रो पाखोबारी जमीन छ गाउ“मै गएर के गर्ने कि । तर बच्चाबच्चीलाई राम्रो शिक्षा दिक्षा दिनुपर्छ भनेर ऊ सहर छाडन सकेको थिएन । भुकम्पले ढलेको घर पनि जेनतेन ठडाएको थियो । घन्टौसम्म भुकम्पको चेपमा परेर पनि ऊ बा“चेको थियो ।
विदेशको मोह बिर्सिसकेको हरिकृष्णलाई संयोगले चिठ्ठा परेको आभाष हुन्छ । उसलाई अमेरिका जाने अफर आउछ । सुरुमा त विश्वास लाग्दैन उसलाई । वैधानिक बाटोबाट अमेरिका जान सजिलो छैन भन्ने उसले राम्रोसंग बुझेको थियो । अमेरिका जाने अफर त आयो उसलाई तर वैध बाटो बाट भने थिएन । उसले गम खायो ।
तल्लो बाटो अमेरिका पुग्नेहरुको कथा त उसले राम्रोसंग पढेको थियो । आफैपनि एउटा शिक्षित मान्छे उसलाई गलतबाटो बाट अमेरिका जाँउ भन्ने त लागेकै थिएन । तर पनि उसले सानो जागीरे आम्दानी र परिवारको भविष्यका लागी जानी जानी आहालमा पस्ने निर्णय गर्छ । ऊ अबैधानिक बाटो भए पनि सपनाको मुलुक अमेरिका छिर्ने कठोर निर्णय गर्छ ।
उसले देख्छ छिमेकका साथीभाई अमेरिका पुगेर कमाएको टाठबाठ । अमेरिकाबाट फर्कदा उनिहरुको हाइफाई देखेर उसलाई पनि भित्रभित्रै अमेरिका जाने भुतसवार भएको थियो । अन्ततः ऊ दलाल मार्फत नै तल्लोबाटो हुदै अमेरिकाको यात्रामा निस्कने कठिन निर्णय गर्छ ।
जेनतेन खर्चको जोरजाम गर्छ । सामान्य सरकारी कर्मचारी उससंग बचत गरिएको पैसा थिएन । साथीभाई इष्टमित्र र छरछिमेकसंग सापट लिएर अमेरिकाको यात्रामा निस्कन्छ । आगोले पोल्छ भन्ने जान्दा जान्दै पनि ऊ आगोमा खुट्टा टेकेर अगाडी बढन खोज्छ । दलाललाई देशैपिच्छे मोटो रकम बुझाउदै ऊ अमेरिकाको धरती टेक्न अघि लम्कन्छ । जंगलको बाटोमा भोक– भोकै हिड्छन् । लासहरु लडेका देख्छ बाटोमा ।
कोही हिडनै नसकेर थलिएको देख्छ । ऊ पनि कति पटक त बीच बाटोबाटै फर्को जस्तो भएको थियो । तर ऊसले धेरै ऋण फसाइसकेको थियो । चाहेर पनि ऊ फर्कने आ“ट गरेन । बीचबाटै फर्कन उति सजिलो पनि थिएन । सास्ती र हन्डर झेल्दै ऊ लम्किन्छ यात्रामा । बीच बाटोमा दलालहरुले गर्ने पैसाको बार्गेनिङले ऊ हत्तु भएको थियो । झण्डै पाच महिनाको पीडादायी नरक यात्रा पार गरेर ऊ
तान्जानिया, केन्या तथा दक्षिण अमेरिका हुदै मेक्सिकोको पर्खाल नाघ्दै ऊ छिर्छ अमेरिका । ५० लाख अमेरिका छिर्ने चक्करमा स्वाह बनाउछ । सिमा सुरक्षा बलले पक्राउ गरेपछि झण्डै तीन महिना ऊ जेल बसेर निस्कन्छ ।
अमेरिका छिर्दा पाएको कष्ट त छदै थियो हरिकृष्णको । फेरी अमेरिका छिरेपछि अर्को संर्घषको यात्रा सुरु हुन्छ । गैरकानुनी प्रवेश गरेकाले उंसग केही कागजपत्र थिएन । एक्लो ज्यान साथीभाइसंग मिलेर घन्चमन्च बस्न ऊ न्युयोर्क सहरतिर लाग्छ ।
स्याङजाका किसम क्षेत्रीसंग रुममेट भएर बस्न थाल्छ क्विन्सतिर । अमेरिकामा भुकम्प पीडितका नाममा धेरै नेपालीले टिपिएस लिएका थिए । तर हरिकृष्ण यथार्थमा भूकम्प पीडित थियो ।
टिपिएस फाइल गर्छ र उसले त्यो सुविधा हासिल गर्छ । कानुनी सल्लाह र कागजपत्रका लागी नेपाली वकीललाई समाउछ । नेपालीले नेपालीलाई ठग्छन भनेको सही रहेछ । ऊ पनि त्यस्तै एउटा वकीलबाट ठगिन्छ । उ बिचरोबाट ति वकीलले कागजपत्र बनाइदिने बहानामा आवश्यकता भन्दा बढी हर्सुछन् ।
सुरुवाती दिनहरुमा त उ न्युयोर्कका अग्गा चुच्चा निस्केका घर, भुमीगत रेल बजारमा भीडभाड, चिप्ला सडकमा गुडीरहेका सवारीहरु देखेर दंग पर्छ । ऊ मनमै भन्छ– ‘साँच्चै अमेरिका त अमेरिका रहेछ ।’सायद ऊ नेपालमा हुँदा पनि साथीभाईले सामाजिक संजालमा पोस्टिने अमेरिकाको यस्तै फोटाहरुले आकर्षित भएको थियो । तर यो क्षणभंगुर हो भन्ने कुरा उसले बुझीसकेको थिएन । उसले काम खोज्न थाल्यो । भारतीयले संचालन गरेको एउटा सेभन इलेभेन स्टोरमा काम पायो । काम सुरु भएपछि बल्ल अमेरिकाको व्यस्त दैनिकी उसले बुझन थाल्यो । उसले कामको घन्टा बढाउन थाल्यो । उसलाई बल्ल महसुस भयो अमेरिकाको व्यस्त दैनिकी । कामले गर्दा कोही कसैलाई कसैको मतलब थिएन । काम गयो र घरमा आयो सुत्यो यो बाहेक अरु जिन्दगी उसले देखेन । बल्ल उसले अमेरिकी जीवनशैली बुझदै थियो ।
सातामा उसको आईतबार एक दिन मात्र विदा थियो । एक दिन आराम गदै र दैनिकी उपभोग्य बस्तुको बन्दोबस्त गदै जान्थयो । बल्ल उसलाई यहा“को रंगीन संसार व्यर्थ लाग्न थालेको थियो । आफनै मुलुक ठिक लाग्दै थियो । अमेरिका आउदा लागेको त्यतिका खर्च उसले तिर्नु पर्ने थियो । यसैले पनि बढी ऊ काममा व्यस्त हुन थाल्यो ।
स्टोरको काम छाडेर न्युयोर्कमा अलि बढी आम्दानी हुने उबर ड्राइभरको काम सुरु ग¥यो । ऊ अझ बढी खटिन थाल्यो । केही कमाउन थाल्ये एक छोरा र दुई छोरीको भविष्य सम्झेर ऊ मरिमेटेको थियो । जेनतेन अमेरिका आउदा लागेको ऋण चुक्ता गर्ने अवस्थामा पुगीसकेको थियो । यही बीचमा परिवारलाई झिकाउन उसले स्थायी बसेोबासका लागी ग्रिनकार्ड फाइल गरेको थियो । तर खै किन हो उसले सोचे जस्तो भएको थिएन । उसको ग्रिनकार्ड हुन सकेको थिएन । यही ग्रिनकार्ड फाइल गर्दा पनि उसको धेरै खर्च भइसकेको थियो ।
उल्टै नेपालमा माओवादीको नाममा चन्दा आतंक सृजना गरेर पछि नक्कली कागजपत्र बनाएर माओवादीबाटै बिस्थापित भएको भनि अमेरका छिरेका केहीको कागजपत्र बनेको थियो । तर उसको हरप्रयास गर्दा पनि बन्न सकिरहेको थिएन । तर पनि ऊ ग्रिनकार्ड बनेपछि परिवार झिकाएर नया जीवन सुरुवात गर्ने कल्पनामा लागीरहेको थियो ।
अमेरिकामा कामको व्यस्त जीवनशैलीले दिन महिना र वर्ष बितेको पत्तै हुदैनथ्यो । ऊ अमेरिका छिरेको पनि पाँच वर्ष बितिसकेको थियो । यतिका वर्ष उसको परिवारसंग बिछोडिएर एक्लै छटपटिदै जिन्दगी बितिरह्यो । जिन्दगी चल्दै थियो । यही बीचमा चीन हुदै अमेरिकामा पनि एउटा अदृश्य शक्ति भित्रियो । बासिङटन राज्यमा भित्रिएकाे कोरोना पछि न्युयोर्क राज्य प्रभावित बन्यो ।
विश्वलाई नै थिलोथिलो बनाएको कोरोना महामारीले हरिकृष्णको दैनिकी पनि प्रभावित नभई रहन सकेन । ऊ कोरोनाबाट अति प्रभावित विश्वकै इपिसेन्टर बनेको न्युयोर्कमा बस्दै आएको थियो । कोेराना महामारीले उग्र रुप लिदै गर्दाको केही अघिसम्म पनि ऊ उबर हाकीरहेको थियो । न्युयोर्कमा कोरोनाले धेरैको ज्यान गइसकेको थियो । केही नेपालीको ज्यान गएकाे थियो ।
यही बीचमा हरिकृष्णलाई पनि सामान्य खोकी र ज्वरो आउछ । तर ऊ उसलाई सामान्य मानेर घरमै तातो पानी पिएर बस्छ । तर उसलाई फेरी सास फेर्न अलि गारो भए जस्तो हुन्छ । ज्वरो र खोकी झनै बढ्छ । नजिकैको क्लिकमा गएर चेकअप गराउछ । भोलीपल्ट उसलाई कोविड–१९ को पोजेटिभ रिपोर्ट आउछ । घरमै क्वारेन्टाइनम बस्न भनिन्छ ।
एक दुई दिन त केही हल्का भएको आभाष हुन्छ उसलाई । फेरी अर्को दिन उसलाई अलि बढी गारो हुन्छ । तारन्तार खोकी लागीरहन्छ र सास फेर्न पनि द्यौ द्यौ भए जस्तो हुन्छ । साथी किसमले फोन गरेर एम्बुलेन्स बोलाउछन् । उसलाई अस्पतालको इर्मजेन्सीमा लगिन्छ । झण्डै १० दिन अस्पतालमा उपचार पछि उसलाई झनै च्याप्छ । भेन्टिलेटरमा राखिन्छ । सायद यही नै उसको जिन्दगीको अन्तिम घडी रहेछ । डाक्टरले उसलाई बचाउन सक्दैनन । साथी किसमले अस्पतालले मृतक घोषणा गरेपछि फेसबुक वालमा लेख्छन्– ‘साथी हरिकृष्ण रहेनन अलविदा ।
बिचरो हरिकृष्ण भुकम्प आउदा चेपमा परेर पनि बा“चेको थियो । अमेरिकाको सपना बुन्दै महिनौ लगाएर ज्यान जोगाएर तल्लो बाटो हुदै अमेरिका आइपुगेको थियो । ऊ भन्न त भन्थयो कोरोनाले हामीलाई केही गर्न सक्दैन । तर यही कोरोना महामारीले उसलाई अल्पायुमै जिन्दगी चुडेर लग्यो । सबै भएर पनि यो बिरानो ठाउ“मा मर्ने बेलामा उसको कोही आफन्त भएनन । उसको लास समेत बुझने कोही भएन । अस्पतालकै तर्फबाट उसको लासको दाहसंस्कार गरियो । परिवारको कत्रो सपना बोकेर ऊ अमेरिका आएको थियो तर ति सपनाहरु पुरा नहुदै ऊ संसार छाडेर धेरै टाढा पुगीसकेको छ । धेरै टाढा कहिल्यै नफर्कने गरी……………..।