बैकुन्ठराज  आचार्य

 

जव उसलाई उसले गाली गर्थ्यो

मलाई लाग्थ्यो

त्यो नै बदमास हो

म त ज्ञानी छु

उसले मलाई गाली गर्दैन

मैले त उसले भनेको सवै मानेकै छु

मलाई त उसले कति धेरै माया गर्छ

———————————————————-

उसले आफ्नो वरिपरिका सवैलाई थर्काउँथ्यो

म सोचिरहन्थें

तिनीहरु बदमास हुन्

उसले तिनीहरुलाई सम्झाएको हो

उ त्यस्तो छैन

मलाई त झन् कति माया गर्छ

—————————————————

एक दिन उसले मलाई पनि थर्कायो

मैले सोचेँ –केहि बिगारें होला

उसले मलाई सम्झाएको हो

यो गाली होइन, माया हो

——————————————————

फेरि अर्को चोटी उसले थर्कायो

“मैले भनेको मान्दैनस – तँ संगका सवै सम्पर्क बन्द गरिदिन्छु“

र गर्यो पनि

मैले सोचें –

के गर्ने? गल्ति त गरेको थिइन, त्यसै रिसायो

दुई–चार दिन पछि रिस मर्छ, सम्पर्क खोलिहाल्छ

उसले मलाई कति माया गर्छ

———————————————————–

तर उसले धेरै दिन सम्म सम्पर्क

खोलेन

मेरो दुर्दशा हेर्यो तर उसको मन पग्लेन

दवाव पर्यो चारैतिर बाट– सम्पर्क  खोल्यो

“मैले केहि गरेकै छैन “- सवैलाई भन्यो

———————————————————–

म सोच्न लागें, कुरा बुझ्न लागेँ

साँच्चै उ मलाई माया गर्छ ?

यो माया हो कि दादागिरि हो मैले बुझ्नु पर्छ !

————————————————————

र एक दिन.…

मलाई थाहा भयो

आजकल मायाप्रेम धेरै कम पाइन्छ

त्यसको नाममा ब्यापार हुन्छ

त्यसको नाममा शोषण हुन्छ

त्यसको नाममा दमन हुन्छ

त्यसको नाममा प्रभुत्व जमाइन्छ

——————————————

र एक दिन.…

मैले उ सँग अधिकारको कुरा गरेँ

उ रिसायो

उ बौखलायो

चाहिने नचाहिने आरोप लगायो

फकायो, घुर्क्यायो, थर्कायो

भन्यो

“दिन्न तँलाई केहि, त्यो मेरो हो, तँलाई कसैले भड्कायो“

————————————————————-

मैले उसको अनुहार गहिरिएर हेरें

महाभारतको एउटा खलपात्र सम्झें

अनि म झल्यास्स भएँ

धरातलीय ज्ञानको झिल्को निस्क्यो

यहाँ आ –आफ्नो स्वार्थ मात्रै हेरिन्छ

त्यसैलाई माया–प्रेमको जलप लगाइन्छ

घुमाई फिराई प्रभुत्वकै कुरा हुन्छ

चाहे त्यो देश होस

या मानिस हुन् ।।

 

 

 

 

 

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected