कुरा करिव सात बर्ष अगाडीको हो । म केहि बर्ष बाहिर बसेर नेपाल फर्केको थिएँ । आफन्तहरु भेट्ने क्रममा ८० नाघिसक्नु भएका, बिभिन्न उच्च ओहोदामा बसी सेवा निबृत हुनु भएका एक मान्यजनलाई भेट्न गएँ । उहाँको घर अगाडी एउटा आठ तले ब्यापारिक घर खडा भैसकेको रहेछ । मैले उहाँलाई सोधें -” हजुर, यहाँ त यत्रो ठूलो घर बनिसकेको रहेछ । कसले बनाएछ ?” उहाँले भन्नु भयो – ” खै, कसको हो भन्ने मलाई पनि थाहा छैन । कता कता एउटा लेखकको घर हो रे भन्ने सुनेको छु । किताव बेचेर कमाएको पैसाले बनाएको रे ।”

म अचम्मित भएँ । सुनेको थिएँ – विदेश तिर, अझै भनौं, फ्रान्स तिर लेखकको ठूलो ईज्जत हुन्छ रे । कुनै लेखकको किताव त्यहाँको नाम चलेको प्रकाशकले छाप्न लाग्यो भने लेखकको घरमा “अव यो लेखक संग पैसैपैसा हुन्छ, नयाँ घर किन्छ ” भनेर “रियल स्टेट”वालाहरुको भीड लाग्छ रे । नेपालमा पनि त्यस्तो दिन आइसकेको रहेछ भनेर खुशीले गदगद भएँ । एक बर्ष देखि मैले पनि केहि कनिकुथी लेखि अनलाइन पत्रिकाहरुमा छपाईरहेको थिएँ ।त्यसैले मैले पनि ठूला ठूला सपनाहरु देख्न थालें । आफु भित्र लेख्न सक्ने प्रतिभा भएकोमा गौरव गर्न लागेँ । मन मनै भने पनि -” बिदेशमा किन हड्डी घोटिरहन्छस , कान्छा ! आफ्नै देशमा यति ठूलो अवसरको सिर्जना भैसकेको रहेछ । अव यहिं किताव लेख्ने, छपाउने, जमेर बस्ने ।अनि त अरु कुराहरु तपशिलमा आईहाल्छ ।“

भिडें त्यस पछि आफ्नो लेखन शीप खार्न, निखार्न तथा चम्काउन । त्यसको फलस्वरूप एक बर्ष भित्रै एउटा कितावको प्रारूप तयार भयो । खुव खुशी हुँदै प्रकाशकको खोजीमा लागें । बिस्तारै थाहा भयो – धरातलीय यथार्थ । बिना शिफारिस, चिनाजानी नयाँ लेखकले स्तरिय प्रकाशक पाउनु त “त्यस्तै” रहेछ । आखिर भनेकै पनि छ -“कौन पुछे खेसरिका दाल !” त्यस्तै भयो – कसैले “पुछेन”।आत्म-सम्मानमा चोट लाग्यो । अनि “मौकामा हीरा पनि फोड्नु पर्छ ” भन्ने ठानेर आफ्नी “बूढी”लाई प्रकाशक बनाएर आफ्नै पैसाले किताव निकाल्ने निर्णय गरेँ । छापाखानाले सोध्यो – ” कति प्रति निकाल्ने ?” आफुमा उत्साह, उमंग सेलाएको थिएन । त्यसैले भने -” कम्तिमा त एक हजार त चाहिन्छ होला हैन ? अहिले एक हजार छापेर हेरौं । मार्केटमा “हट केक” भए पछि अरु छाप्नु त छँदैछ ।” छापाखानाको संचालक इमान्दार भएर हो वा मलाई नपत्याएर हो -“शुरुमा ५०० प्रति छाप्नुस, सर । बजारमा के हुन्छ, राम्रो गर्यो भने फेरि छापौंला ” भन्यो । मनमा अलिकता चिसो त पसिसकेको थियो | तर पनि “नेपालीको जन्मजात बानी नै नकारात्मक सोच्ने हो, भोलि बजारमा यो कितावले तहल्का मच्चाए पछि आफैं उत्तर आइहाल्छ नि” भन्ने सोचें ।” हुन्छ त, ५०० नै छापौं ” भनें ।

किताव छापिसके पछि बजारीकरण भनेर बिभिन्न पुस्तक पसलमा लगेर किताव राखिदिन अनुरोध गरेँ । केहि प्रति बिदेशमा बजारीकरणको लागि आफ्नै मान्छेलाई दिएर पठाएँ । त्यस पछि म आफ्नो जिविकापोर्जनका लागि फेरि बाहिर गएँ | त्यहाँ काम गर्नुका साथै अर्को किताव लेखनमा व्यस्त भएँ । एक बर्ष पछि फर्केर अर्को किताव प्रकाशन र पहिलो पुस्तकको दोश्रो संस्करण प्रकाशनको लागि पुन: सक्रिय भएँ । बुझ्दै जाँदा बिदेशमा पठाईएका कितावहरु त्यहि त्यतिकै थन्किएर बसेका रहेछन । यता नेपालका पुस्तक पसलमा दिएका कितावहरु गोदामको कुनै कुनामा अलपत्र परेका रहेछन । यी हेर्दा लाग्यो कितावहरुले गोदामको कुनाबाट मलाई उद्धारको लागि अनुरोध गरिरहेका छन् । पुस्तक वितरकले यी सवै दुरावस्थाको नालीबेली लगाऊँदै, सयौं लेखक / प्रकाशकका पुस्तकहरुको बेहालको कथा सुनाउँदै मलाई सान्त्वना दिंदै भन्नुभयो – ” सर, यहाँ यस्तै छ । तपाईंहरुको पनि बेहाल छ, हाम्रो पनि बेहाल छ ।“

अनि मैले त्यो आठ तले घर र त्यसबाट प्रेरित भएर आफुले पुस्तक लेखेको, छपाएको कथा सुनाएँ । ती वितरक त मरीमरी हाँसे । अनि भने -“सर , यो नेपाल हो । यहाँ मान्छेले के बोल्छ, के लेख्छ, के गर्छ कुनै कुराको पनि ठेगान हुँदैन । यहाँ जे देखिन्छ, त्यो हुन्न । जो देखिन्न त्यो हुन्छ । सर विदेश तिर हुनुहुन्छ कि, कसो?” मैले मुसुक्क हाँसेर नबोलिकन “हो ” भन्ने उत्तर दिएँ ।

उनले थपे -” त्यस्तो किताव लेखेर ८ तले “बिजनेस कम्प्लेक्स” बनाउन सक्ने भाग्यमानी लेखकको कुरा दन्त्यकथा हो, सर । तपाईं पत्याउनु हुन्छ भने म के भनुँ ? यहाँ कसले सोझो कुरा गर्छ र ? तपाईंलाई थाहै छ नि हात्तीको देखाउने र खाने दाँत छुट्टाछुट्टै हुन्छन । तपाईंलाई यहाँका मान्छेका खाने दाँतको बारेमा थाहै रहेनछ ।” उनले यहाँका धेरै मान्छेका धेरै कुरा सुनाउनु भयो । सुन्दै जाँदा ” म जस्ता सोझाले यहाँ गरि खान सकिन्न ” भन्ने कुरा मनमा आयो । मान्छेहरु किन बाहिर जान बाध्य हुँदा रहेछन त्यो पनि छर्लङ्ग भयो ।

आफ्नो आठतले घर बनाउने सपनाको भग्नावेषको एक टुक्रा बोकेर म त्यहाँबाट निस्कदै थिएँ । कुना बाट ” मलाई यो अँध्यारो कुनाबाट निकालीदिनोस न ” भन्ने क्रन्दन सुनें । माया लाग्यो – आखिर सृष्टि त आफ्नै हो । “म तिमीलाई भोली लिन आउँछु” भन्ने संकेत दिंदै म बाहिरिएँ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected