कोकगोष्ठी (कोठे कविगोष्ठी), २०५३ सालको असार २२ गतेदेखि मूलत: नेपाली कविताको परिमार्जन गर्दै क्रियाशील रहने उद्देश्यले स्थापित साहित्यिक संस्था हो। कोकगोष्ठीभन्दा केही समय अगाडि २०५३ वैशाख ८ गते स्थापित छन्द बचाऊँ अभियान

नेपाली कविता साहित्यको उत्थानका लागि समर्पित रहेर निरन्तर सक्रिय हुने संस्था हो।यही संस्थाको सार्थक प्रयासमा वैशाख ८ का दिनलाई छन्ददिवसका रूपमा मनाउने प्रचलन समेत प्रारम्भ भएको यथार्थ हामीसामु छर्लङ्ग छ। यस पुनीत कार्यका सन्दर्भमा आफूलाई अनवरत क्रियाशील बनाएर खट्नुहुने नेपाली साहित्यका अथक साधक माधव वियोगीको अहं भूमिका महत्त्वपूर्ण रहेको तथ्य पनि हामीबाट छिपेको छैन। अभियानको नेतृत्व गर्ने आदरणीय वियोगीज्यू र उहाँका सहकर्मी साथीहरू धन्यवादका पात्र हुनुहुन्छ।

कोकगोष्ठीका सन्दर्भमा यहाँ केही कुराहरू उल्लेख गर्नु सान्दर्भिक ठान्दछु।  २०५३ साल असारदेखि उन्नयन साहित्यिक पत्रिकाको संयोजन र प्रोत्साहनमा हामी       (कमलमणि दीक्षित, रमेश खकुरेल, अच्युतरमण अधिकारी, कोषराज न्यौपाने र प्रह्लाद पोख्रेल) पाँचजना मिलेर कोकगोष्ठीको सुरुवात भयो । त्यस समयदेखि दीक्षितज्यूसँगको सक्रिय सहभागितामा घनीभूत रूपमा बैठक र कार्यक्रमहरू सञ्चालन हुन थाले। ती बैठक र कार्यक्रमहरूमा नेपाली साहित्यको सम्वर्द्धन हरहालतमा हरहमेसा भइरहनुपर्छ भन्ने मूल उद्देश्यका साथ दीक्षितज्यूको संलग्नता सदैव प्रेरणादायी र उल्लेख्य रह्यो।

२०७७ असार २७ गतेसम्म आइपुग्दा कोकगोष्ठीका ९३ वटा शृङ्खला सम्पन्न भएका छन्।कोकगोष्ठीको एउटा फरक विशेषता के हो भने – गोष्ठीमा वाचित समग्र कविताहरूको समच्छन्दी कवितात्मक टिप्पणी कार्यक्रमको अन्तमा एकजना कविबाट सुनाउने गरिन्छ। यस्ता टिप्पणीहरूको एउटा सङ्ग्रह दश वर्षको दस्तावेजका रूपमा २०६३ मा प्रकाशित भयो।यो हो – साहित्यकार कोषराज न्यौपानेको समालोचना चम्पू अननुकरणीय।

सुरुमा पाँचजना भएर स्थापना गरी सञ्चालन गरिएको कोकगोष्ठीमा साहित्यकारहरू क्रमश: भुवनहरि सिग्देल, प्रभा भट्टराई, ओमी शर्मा, सनतकुमार वस्ती सम्मिलित हुनुभयो र कोकगोष्ठी अभियानले अझ जीवन्तता प्राप्त गर्‍यो। मूलत: छन्दोवद्ध कवितालाई परिमार्जित, परिष्कृत र सम्प्रेषणीय बनाउँदै गुणात्मक उचाइमा पुर्‍याउने हेतुले थालिएको यस अभियानमा गीत, गीतिकविता र गजलका सन्दर्भहरूले पनि राम्रो स्थान र चर्चा पाए। कोकगोष्ठीसँग आवद्ध वरिष्ठ गजलकार सनतकुमार वस्ती आफ्नै व्यस्तताले केही ससमयपछि निष्क्रिय रहनुभयो। कोकगोष्ठी परिवारकी सक्रिय सदस्य ओमी शर्माको ४२ वर्ष नपुग्दैको कलिलो उमेरमा भएको असामयिक एवं दु:खपूर्ण निधन भने कोकगोष्ठीका निम्ति ज्यादै हृदयविदारक घटना थियो।

कोकगोष्ठीलाई काठमाडौँ उपत्यकाबाहिर पुर्‍याउने उद्देश्यले कोकगोष्ठी परिवारको एउटा बैठक २०७० सालमा दोलखामा आयोजना गरियो। उक्त अवसरमा कला साहित्य प्रतिष्ठान, दोलखासँगको सहकार्यमा चरिकोटमा कविगोष्ठी गरियो। त्यस अवसरमा ८४ वर्षीय संरक्षक कमलमणि दीक्षितको ओजस्वी व्यक्तित्व र गोष्ठीमा बोलेका कुराहरूले निकै चर्चा पाएका दृश्य अहिले पनि झल्झली छन्। कोकगोष्ठी परिवारमा हाल साहित्यकारहरू जीवन काश्यप, जगदीश्वर पोखरेल, शान्ति सापकोटा र प्रध्यापक डा. जीवन अधिकारी पनि जोडिन आउनुभएको छ र यसले स्वाभाविक गतिशीलता प्राप्त गरिरहेको अवस्था छ ।

हाम्रा प्रेरणादायी संरक्षक कमलमणि दीक्षित (१९८६ भदौ १२-२०७३ पुस १४) को भौतिक अवसानपछि हाम्रो उत्साहमा आएको शिथिलतामा पुन: जागरण थपेर उत्साहजनक क्रियाशीलता प्रदान गर्न अहिले कोकगोष्ठीका संरक्षकको कार्यभार प्राध्यापक डा. माधवप्रसाद पोखरेलको काँधमा आएको छ। हालको परिवर्तित परिप्रेक्ष्यमा मूलत: स्वास्थ्यको स्थिति र अंशत: वेलावेलामा विदेश बसाइको अवस्थितिका कारण पर्याप्त समय प्रदान गरेर पूर्ववत् सक्रिय हुन नसके पनि उन्नयन साहित्यिक पत्रिकाका प्रधान सम्पादक अच्युतरमण अधिकारीले सल्लाहकारका रूपमा कोकगोष्ठीको उन्नयन गर्ने कार्यमा आफूलाई संलग्न गराइरहनुभएको छ।

पछिल्ला केही वर्षदेखि उत्साही छन्दसाधकहरूको क्रियाशील संस्था प्रतिभा निकुञ्ज को सहकार्यमा कोकगोष्ठीको सञ्चालन हुन थालेको छ। यो सहयात्रा अटुट रूपमा अगाडि बढ्ने दृढतासाथ हामी अहिले छन्दोवद्ध कविताको उत्थान, परिमार्जन र विश्वव्यापीकरणको अभियानमा सक्रिय छौँ। पछिल्लो समयमा कोकगोष्ठी र प्रतिभा निकुञ्जको सहकार्यमा २०७६ कार्तिकमा इलाममा र मंसिरमा देवघाट, तनहुँमा समेत विस्तृत कार्यक्रम सम्पन्न गरिएको छ।
अहिलेको अवस्थामा आएर छन्द बचाऊँ अभियान, २०५३ र कोकगोष्ठीले नेपाली छन्दोवद्ध कविताको उत्थान, उन्नयन र परिमार्जनमा सक्रिय रहने प्रतिभा निकुञ्ज, छन्द चौतारी, छन्द तरङ्ग, रचना वाचन, साहित्य सुधा, साहित्य वाटिका, छन्द समाज, भैरहवा, छन्द साधना समूह, अमेरिकाजस्ता थुप्रै साहित्यिक संस्थालाई सक्रिय साथी या सहकर्मीका रूपमा पाएका छौँ। यो अत्यन्त खुशी र सन्तोषको विषय हो।
कवितात्मक अभियानमा सक्रिय रहने बानी र व्यवहार पनि भएकोले कतिपय सन्दर्भहरू कवितात्मक लबजमै व्यक्त गर्न रुचि राख्छु। अत: यस सन्दर्भका केही कवितांश प्रस्तुत गर्ने अनुमति चाहन्छु।
कोकगोष्ठी
खेलाऔँ छन्दलाई सहजसित भनी थालियो कोकगोष्ठी
गोष्ठीको मर्म बुझ्‍ने कमलमणि थिए कर्मशाली यशस्वी
गोष्ठी अध्यक्षताको गहनतम कडा भार बोक्छन् रमेश
चिन्ता, चासो समेटी भुवनहरि सधैँ खट्दछन् निर्निमेष।

आभा पाई प्रभाको चहकसित उठी जुट्दछन् कोषराज
साथी प्रह्लाद पाई अनवरत जुट्यो काव्यकर्मी समाज
ओमीको सिर्जनामा सलललल बगी कोकगोष्ठी सुहायो
स्रष्टा साहित्यकर्मी सहृदय रहँदा कोकगोष्ठी रमायो

पायो उत्प्रेरणाको प्रथम धरहरा अच्युतं अर्चनीय
गोष्ठीको कर्मभूमि प्रथम चरणको स्पष्ट उल्लेखनीय
गोष्ठीको यो पछिल्लो चरणतिर पुगी फैलिएछौँ सभामा
सानो दृश्यावली यो प्रकट हुन गयो सुस्तरी सम्झँदामा।

साथै छन् अब शान्ति जीवनहरू राम्रो कलाका धनी
पाई श्री जगदीशको सरलता उध्याउँछन् लेखनी
छन् संरक्षणहेतु माधव जहाँ गोष्ठी खरो पार्दछन्
ओजस्वी कविवर्ग छन्दसरिता झर्नासँगै झार्दछन् ।

जन्मेथ्यो कोकगोष्ठी रसमय ऋतुमा मास पारी असार
जुट्थे स्रष्टा अनेकौँ रसिक कवि तथा शीर्ष साहित्यकार
उध्याई छन्दलाई चमक दिन उठे छन्दशिल्पी प्रशस्त
पाई आत्मीय माया मल र जल पुगी देखियो तन्दुरुस्त !

स्रष्टा उल्लेख्य लाग्थे पुरु, भरतहरू, कृष्ण, पूर्णप्रकाश
त्यस्तै दैवज्ञ हाम्रा प्रियतम कवि हुन् कोकगोष्ठी प्रकाश
ओमी शर्मा अकस्मात् अलप जब भइन् भाँच्चियो एक हात
बन्दा वैकुण्ठवासी कमलमणि भयो कोकगोष्ठी अनाथ !

जे होस् कोठा चहार्दै घरघर दगुरी हिँड्छ यो कोकगोष्ठी
गर्दै साहित्यसेवा सुललित कविता छन्द खोजी समष्टि
हिँड्ला गन्तव्य ताकी गतिमय रहँदै काव्यधर्ती सजाई
पढ्ने लेख्‍नेहरूको अगणित ममतासाथमा त्राण पाई

यात्री हो कोकगोष्ठी सबलतम सबै अङ्ग हुन् काव्यकार
पाई साहित्यकर्मी प्रखर नवयुवा झन् रमाओस् असार !
पौडिन्छन् पोखरीमा सृजनरत बनी प्रौढ साहित्यकार
दौडिन्छन् लक्ष्य खोज्दै कलमसित नयाँ जोसिला कर्णधार

यो हो पच्चीस वर्षे अथक पथिकझैँ जोश बोक्ने जवान
छोड्नै सक्तैन जल्ले सितिमिति कहिल्यै होस राख्‍ने इमान
बन्दै झन् स्वाभिमानी समुचित गतिमा हिँड्नुपर्नेछ यल्ले
देलान् नि:स्वार्थ सेवा कदमकदममा स्पष्ट चिन्लान् जजल्ले
यल्ले जो नाम पायो अलिकति रसिलो ‘कोकगोष्ठी’ भनेर
जे जस्तो काम पायो सुरुचिसित गर्‍यो छन्दयात्री बनेर
बन्दै स्वच्छन्दयात्री सुमधुर कविता छन्द बोकेर आऊन्
यात्रा गर्दा खुसीले वर र पर घुमी काव्ययात्री रमाऊन्।

अन्त्यमा, छन्द साहित्यको सेवामा पच्चीस वर्षको लामो समयसम्म उल्लेख्य कार्य गरिसकेको संस्था छन्द बचाऊँ अभियान, २०५३ को उद्देश्य अनुरूपका कार्यहरू सम्पन्न गर्न यस संस्थालाई सफलता प्राप्त हुन सकोस् भन्ने शुभकामना व्यक्त गर्दै कोकगोष्ठीसम्बन्धी संक्षिप्त जानकारी दिने उद्देश्यको लघु आलेखलाई यहीँ रोक्छ ।
              (काठमाण्डाैं)

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected