मध्यरातमा नमिठो सपनाले झस्केर उठे । झयालको पर्दा हटाएर बाहिर नजर लगाए । आकाशमा टहटह जून लागेको थियो । वातावरण सुनसान देखिन्थ्यो ।
आँत सुके जस्तै भयो । एक गिलास पानी सिनित्त पारे । पल्ङमा पल्टिए तर निदाउन सकिन । ल्याप टप अन गरे । एक प्याक रेड लेबलको चुस्की लगाउदै किबोर्डमा हातहरु सल्बलाए । अलि पहिला कतै सुनेको घटनालाई कथामा उतार्न चाहे । कथाका मुख्य पात्र थिए सन्तु र  सबि। अमेरिकाको बाल्टीमोर राज्यमा थियो उनिहरुको बसाई । आठ वर्ष अघि मात्रै उनिहरु एक भएका थिए । प्रेमविवाह गरेका थिए । दुई छाेरीहरु  थियो उनिहरुको । सांस्कृतिक कार्यक्रममा सहभागी हुन आएको सन्तु त्यसपछि नेपाल फर्किएन । यतै कागज बनाएर बस्यो । औला भाचेर गन्दा ऊ अमेरिका टेकेको दस वर्ष भइसकेको थियो । । कागज नहुदा सुरुमा उसले नगरेको काम केही थिएन । अहिले त ऊ एउटा रेष्टुरेन्ट र ५ वटा ग्रोसरी सपको मालिक भइसकेको छ । यहाँ  सम्म आइपुग्न उसले धेरै हाड घोट्यो । कयौ रात अनिदोमा बितायो ।
भारतीयको रेष्टुरेन्टमा भाडा माझेन कि उसले । किचन हेल्पर देखि ग्रोसरी सपको सामान लोड अनलोर्ड सबै काम ग¥यो । कहिले ड्रक डाइभरको सहयोगी बनेर हिड्यो । भोक तिर्खा केही भनेन उसले । कामका लागी ऊ दिनरात केही नभनी खटियो । यही दुखले उसलाई केही वर्ष यता रेष्टुरेन्ट र ग्रोसरी स्टोरको मालिक बनाएको हो ।
अमेरिकी नागरिक पनि बनिसकेको थियो । भर्जिनिया राज्यमा बस्दै आएकी सबिलाई  उसले जीवनसाथी रोजेको थियो । इडिभी मार्फत अमेरिका आइपुगेकी सबिले कम्पयुटर इन्जियिनर सकेर आइटीकै राम्रो जागीर खान थालेकी थिइ ।
विवाहको सुरुको तीन वर्ष उनिहरुको सम्बन्ध राम्रै चल्दै थियो । न मायाको कमी थियो न उनिहरुसंग पैसाको । सन्तुको व्यवसायबाट राम्रै कमाई आउथ्यो । आइटीको जागीरे सबीकाे कमाई पनि कम थिएन । बिस्तारै उनिहरुकाे  सम्बन्धमा चिसोपना बढ्दै गयो । सबी काे गुनासो एउटै हुन्थयो– पतिले घरपरिवारलाई समय दिएनन् ।  छाेरीहरुकाे हेरचाहमा पतिले समय दिएनन् । चारतिरै व्यवसायीले सन्तुलाई पनि समय जुटाउन हम्मे परिरहेको थियो ।
तर पनि उसले सकेको र भ्याएको समय छोरीहरुलाई र पत्नीलाई दिएकै हो । सामान्य कुरामा पनि उनिहरु बीच झगडा हुन थाल्यो ।साना तिना झगडाले पति –पत्निको सम्बन्ध दुरी बढ्दै गयो । संगै बस्ने गफिने क्रम उनिहरुको पातलो हुदै गयो । छुट्टीको दिन घरमा हुदा पनि उनिहरु घरभित्रै पनि विपरित दिशातिर फर्किएर बसेका हुन्थे । बच्चाको भविष्यका लागी पनि यस्तो दुरी बढाउनु हुकदैन भन्नेमा थियो सन्तु ।
विदाको एक दिन सन्तु सोफामा बसेर टिभीको रिमोर्ट घुमाउदै हिन्दी लभ संङ हेरिरहेको थियो । खै त्यो दिन उसलाई गीतहरु हेर्दा हेदै के फिल भएछ । उसले अलि पर सोफामा बसीरहेकी सबिलाई  भन्यो–
‘हामी यसरी किन टाढिदैछौ, भुईमा खेलिरहेकी सानी

पाँच वर्षकी छाेरी सायालाई  देखाउदै भन्यो–‘कमसे कम आफनो नभए नि यसको भविष्य त हेरौ ।’
मोवाईलमा झुन्डिरहेकी सबिले केही जवाफ फर्काइन । खै ऊ म्यासेन्जर च्याटिङ गर्नमै मग्न थिइ । उसले नसुनेपछि फेरी सन्तुले दोहोराएर त्यही भन्यो । यस पटक भने सबि  कडिएर बोली–‘‘भविष्य हेर्नेले त समय दिनु प¥यो नि घरमा ।’ आदर्शमान बन्न खोजेर के गर्नु, व्यवहारमा पनि हुनु प¥यो नि सबै ।’
मेरो छाेरीहरुकाे भविष्य कसरी बनाउने त्यो मलाई राम्रोसंग थाहा छ । हजुरले सिकाइ राख्नु परेन ।
‘चित्त नबुझेको कुरामा छलफल गरौ, हामी मिलौ, यसरी किन सधै झगडा गरेर बस्ने, सन्तु फेरी बोल्यो । उसले गुरुप्रसाद मैनालीको कर्तव्य कथामा पढेको लोग्ने– ‘स्वास्नीको भगडा परालको आगो भन्ने सम्झयो ।’
चारैतिरको व्यवसायको व्यस्तताले उसले भने जति परिवारलाई समय दिन सकेको थिएन । सन्तुले यो कुरा महसुस नगरेको हैन । यो सब उसको रहर नभई बाध्यता पनि थियो । त्यत्रो संघर्ष गरेर कामदारबाट मालिक भएको ऊ व्यवसायलाई माथि उकास्न चाहन्थयो । व्यवसाय तल गिरेको हेर्न चाहदैन्थयो । उसलाई राम्रोसंग थाहा थियो आफु नखटी व्यवसाय माथि जान सक्दैन भन्ने । तर खै किन हो सबिले  यो कुरा बुझेर हो या नबुझेर आफनो जागीरलाई नै महत्व दिइन । पतिको व्यवसायलाई गौण सम्झी ।

सबि फेरी बोली–‘अब आ–आफनो मन खुशी गर्ने । जे मन लाग्छ त्यही गर्ने । कसैलाई रोकतोक छैन । मन नभए स्वतन्त्र भएर जिउन पनि सकिन्छ ।’
सन्तुले यो भन्दा अघि बोल्न चाहेन । ऊ चुपचास सुनिरह्यो जसरी हुन्छ छाेरीहरुकाे  भविष्यका लागी पनि पति–पत्नीको सम्बन्ध राम्रो होस भन्ने ठान्थ्यो ऊ । तर उसले चाहे जस्तो र सोचे जस्तो हुन सकेन ।
सन्तु विवाहको सुरुवाती दिन सम्झन्छ । ख्याल ठट्टा गदै बुढाबुढी जिस्केको । एक अर्कोको गाला चिमोटेको । पार्कतिर बरालिदै अंगालेमा बाधिदै  माया गरेकाे ।रेष्टुरामा कुम जोडेर कफि पिएको । हनिमुन मनाउन युरोप गएको । लंग ड्राइभमा रमाइला ठाउ घुमेको । त्यो सबै उनिहरुको जीवनमा अतित जस्तै भइसकेको थियो । अहिले पति–पत्नी बीच ठ्याक्कै यो सम्बन्ध उल्टो भएको छ । संगै बस्ने र गफिने त थिएनन नै । उनिहरुको ओछ्यान पनि अलग भइकेको थियो । पति–पत्नि बीच हुनु पर्ने सम्बन्ध केही थिएन । बस्नका लागी मात्रै उनिहरु संगै बसेको जस्तो भान लाग्थ्यो । बोलचाल हुन छाडेको थियो । एक अर्कोको ‘केयरिङ’ थिएन । कति भ्यालेन्टाइन आए उनिहरु संगै भएनन् । वैवाहिक वर्षगाठलाई पनि उनिहरुले सम्झेनन् ।
सम्बन्ध सुधार्न सन्तुले भरमग्दुर प्रयास नगरेको हैन । तर खै किन हो त्यो सफल हुन सकेन । सबिले  पनि सन्तुको कुरा खान सकिन । घरमा उनिहरु आ–आफनो कोठमा हुन्थे । सबि खै अरुसंगै फोनमै बढी व्यस्त हुन थालेकी थिइ । अपरिचित नम्बरबाट धेरै कलहरु उसको मोवाइलमा आउथ्यो ।

यस्तै एक दिन सबि माेबाईल  चार्जमा छाडेर किचनमा कुकिङ गरिहेको समयमा एउटा म्यासेज फोनमा आयो । सन्तुले म्यासेज देखि हाल्यो । आज ठिक चार बजे रमाइलो रेष्टुरेन्टमा जम्नुपर्छ आउ ल ।’ पंकज भन्ने नामबाट त्यो म्यासेज आएको रहेछ । जुन भ्यालेन्टाइनको दिन थियो । पहिला त यो दिन सबि  र सन्तुले क्यानडल लाइट डिनर गरेका थिए । तर केही वर्ष यता सम्बन्ध धमिलिएपछि यो सबै अतित बनीसकेको थियो ।

त्यो दिन सबि  पनि त्यही म्यासेजको फ्लो गदै आधा घन्टा अघि नै घरबाट निस्केर हिडी । नेपालबाट आमालाई झिकाएकोले उसलाई पनि छोरीहरु  छाडेर हिडन सजिलो भएको छ । सन्तुलाई लाग्दै थियो सम्बन्ध किन यसरी बिग्रयो । आफुनै गलत भए कि भन्ने लाग्दैथ्यो । उसले आफुलाई सुधार्न धेरै प्रयत्न ग¥यो । उसले नै मन पराएर प्रपोज गरेर सबिलाई जीवनसाथी बनाएको हो । यही भएर पनि ऊ केही कुरामा कम्प्रमाइज गर्न चाहन्थयो । सबिलाई  खुशी बनाउन चाहन्थयो । तर उसको प्रयास सबै विफल भयो । धेरै यत्न–प्रयत्न गर्दा पनि उसको जोड चलेन । एउटै घरमा पति पत्नि पराय जस्तै भए । पति पत्निबीचको भावनात्मक र शारीरक सम्बन्ध पनि हुन सकेन । सन्तुले आफुलाई एक्लो महसुस गदै थियो । उसलाई पनि माया चाहिएको थियो । बाध्य भएर उसले आफनो एकाकी पन मेटाउन परस्त्रीसंग सम्बन्ध राख्न बाध्य भयो । उता सबि  पनि अन्य पुरुष संग नै डेटहरु जान थालेकी थिइ । सन्तुलाई पत्निसंगको यो सम्बन्धले जिन्दगी केही तनावग्रस्त जस्तै लाग्दै थियो ।

उसको बिजनेस पनि दिनप्रतिदिन ओरालो लाग्दै थियो । रेष्टुरेन्ट त डुबेर उसले घाटामै बेच्नु प¥यो । स्टोर पनि घटाएर दुई मात्रै बाकी रह्यो । त्यो पनि राम्रो चलीरहेको थिएन । आइटी जागीरे सबिकाे जागीर बाल्टीमोरबाट क्यालिफोर्निया पोष्टिङ भयो ।
आमा अनि छोरीहरु च्यापेर सबि  क्यालिफोर्निया हिडी । सन्तुलाई संगै जाउ सम्म भनिन । जेनतेन धानिएको दुई स्टोर चलाउदै सन्तु एक्लै बाल्टीमोरमै रुमल्लियो । उसले दुवै स्टोर बेचेर क्यार्लिफोर्निया हिडने योजना पनि नबनाएको हैन । सबि  यो कुरामा सहमत नभएपछि उसले बेच्न सकेन । पत्नि संगै हुदा त साथ महसुस गर्न नपाएको सन्तुले झनै सबैले छाडेर गएपछि कसको साथ अनुभव गरोस । ऊ नितान्त एक्लो भयो । बिजनेसलाई पनि राम्रोसंग अघि बढाउन सकेन । एक्लै कोठमा बस्दा टोलाउने र धेरै सोच्न थाल्यो । चुरोट पनि धेरै पिउन थालेको थियो । उसलाई डिप्रेसन भइसकको थियो । सुगर र हाइप्रेसर बढ्दै गयो उसलाई । ऊसको ख्याल गर्ने कोही भएन ।
एक दिन स्टोरकै काउन्टरमा बस्दा– बस्दै प्रेसर बढेर ऊ भुईमा ढल्यो । केही हलचल भएन । स्टोरमै काम गर्ने भाईले ९११ म कल गरे । तुरुन्तै पुलिस आएर उसलाई अस्पताल लगियो । क्यार्लिफोर्नियामा रहेकी पत्नि सबिलाई  खबर भयो । प्रेसरले लडेको सन्तुको बोली मात्र हैन हात खुट्टानै नचल्ने प्यारालाइसिस भइसकेछ ।
झन्डै एक महिना अस्पताल राख्दा पनि उसको बोली आएन । हात खुट्टामा पनि सुधार आएन । जागीरको छुट्टी मिलाएर आएकी सबिकाे  विदा सकियो । डाक्टरले सन्तुको बोली नफर्कने बताए । हात खुट्टा पनि चलेनन् । लाखौ खर्च भयो अस्पतालमा । स्टोर बेचेर अस्पतालको बिल भुक्तानी भयो । व्ल्हिचिरमा बसको सन्तुको दुई परेलीबाट आँसु बगेर टिर्सटमा खस्यो । उसले पुछ्न खोज्यो तर हात चलेन । अरुले पुछिदिएनन् । न ऊ बोल्थ्यो । न हात खुट्टा चल्थे । सबिले  उसलाई संगै क्यालिफोर्निया लगी । फेरी नलगेर ऊ कहाँ जाओस । अरु कोही पनि त थिएनन् उसको ।

जे जस्तो भए पनि सन्तु उसको लोग्ने थियो । सबिले  उसको यस्तो हालत देख्दा कत्ति पनि दयालु नदेखाएकी हो कि जस्तो देखिन्थयो । अव म नोकर भएर बस्ने कि काम पनि गर्ने भन्दै भित्र भित्रै भुटभुटाउन थालि । ऊ यो दिकदारीबाट उम्किन चाहन्थी । उसले सन्तुका बा आमालाईनै अमेरिका झिकाइ । छोराको हालत देखेर सन्तुका बा–आमा भक्कानिए । उपाय केही थिएन । बाबुआमा आएपछि सबिले  उसलाई समय दिन छाडी । बाबुआमाले नै सन्तुको हेरचाहमा खटिए । बोल्न चाहन्थयो तर सक्दैनथ्यो सन्तु ।

सन्तुको हालत दिनदिनै बिग्रीरहेको थियो । ज्यान सुकेर सिठो जस्तै भएको थियो । सन्तुको थप उपचार संभव थिएन । फिजियो त उसको धेरै गराइयो । तर केही सुधार आएन । सानो छोरीले  बाबा भनेर बोलाउदा ऊ जवाफ दिन सक्दैनथ्यो । एकोहोरो हेरि मात्रै रहन्थयो । उसका बाबुआमाले एउटा निर्णय गरे–‘अव छोरालाई नेपालनै लिएर जाने ।’ बुहारी अर्थात सबिसंग  यो कुरा राखे उनिहरुले । सबिले  पनि सहमति जनाइ । अपांग छोरा लिएर सन्तुका बुबा आमाले अमेरिकाको धरती छाडे । त्यसपछि सन्तु पुनः सात समुन्द्रपारीको यो मुलुक फर्किन सकेन । नत सबिनै  अपांग पति भेटन नेपालनै फर्कि ।

ओहो एकोहोरो लेखाईमा घोत्लिदै गर्दा रात बितेको पनि पत्तै पाइन । बिहानको चार बजीसकेछ । बेडमा पल्टिन खोजे । निदाउन सकिन मनमा फेरी हुन्डरी चल्यो ।
घटनाका पात्र सन्तुको त्यसपछि अवस्था के भयो होला । अनि सबिले  के गदै होली भन्ने कौतुहलतामा रुमल्लिदै गर्दा भुसुक्कै निदाएछु ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected