एक्लै हिंडिरहेको छु म
साँझमा
सुनसान छ सडक
सुनसान छ वस्ती
लाग्छ मलाई
यहाँ भयङ्कर युद्ध भएको थियो
अहिले युद्ध बिराम छ
तर त्यस्तो पनि देखिंदैन
कतै तहसनहस भएको पनि देखिंदैन
सोच्छु कतै
अर्कै ग्रहको जीवसंग भेट हुनेछ
हाम्रो कुराकानी हुनेछ
इशारै इशारामा वार्तालाप हुनेछ
कति कुरो मैले बुझ्दिन
कति कुरो उसले बुझ्दैन
शायद उसले भन्नेछ
किन यस्तो सुनसान
खै त मान्छेहरु ?
मैले भन्नेछु
कोरोना भाइरसको जगजगी छ
मान्छेलाई मर्छु भन्ने त्राश छ
ऊ हास्नेछ
मान्छे यति निरीह !
भन्नेछ म त मान्छेको तागत बुझ्न आएको
सोचेको थिएँ
मान्छे हामी भन्दा धेरै बलियो छ
हामीलाई हराउने छ
हाम्रो आधिपत्यको सवै ग्रहहरु लिनेछ
हामीलाई अधिनमा राख्नेछ
तर मान्छे …!
उ हास्नेछ
“मैले मान्छेलाई ओभरइस्टिमेट गरेछु”
“उसको हाउभाउ, टाँईफुँईले झुक्किएछु”
म घोसेमुन्टो लगाएर
कुना- कुनै लागेर
सुनसान वस्तीमा हराउनेछु
एउटा साँझको कथा
एउटा मान्छेको कथा
मान्छेले हारेको एउटा समयको कथा
हो, कथा फेरिनु पर्छ अव
मान्छेले घोत्लिनु पर्छ अव
हो मान्छेले सोच्च्नु पर्छ अव
अरुको दृस्टीकोण पनि बुझ्नु पर्छ
एक अर्कालाई धाक दिएर के गर्नु ?
आफ्नो असली हैशियत पनि बुझ्नुपर्छ अव
सम्बन्धित खवर
-
उनलाई डालस एयरपोर्टमा ...
-
भाषण गर्छ, निर्देशन दिन्छ उपदेश ...