कम मत ल्याएर पनि राष्ट्रपति भएका अमेरिकाका ५ राष्ट्रपतिहरु

कुमार जंग कार्की
न्युजर्सी-अमेरिकामा यही बर्षको नोभेम्बर ३ तारिखमा ५९ औ राष्ट्रपतिय कार्यकालका लागि मतदान हुदैछ । चुनाबी दौडमा मुख्य गरि रिपब्लिकन पार्टीको तर्फ बाट बर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीका तर्फ बाट उम्मेदवार जो बाइडन प्रतिस्पर्धा गर्दैछन् । धेरै लाई लाग्न सक्छ अमेरिकामा राष्ट्रपति प्रत्यक्ष मतबाट चुनिन्छ अर्थात् नोभेम्बर ३ तारिख मै मत गणना सकिए पछि जसले धेरै मत प्राप्त गर्छ उही अमेरिकाको राष्ट्रपति चुनिनेछ । तर अमेरिकाको राष्ट्रपति चुन्ने प्रक्रिया भने अलि भिन्न छ । अमेरिकामा राष्ट्रपति प्रत्यक्ष मतबाट नभई प्रत्यक्ष मतबाट चुनिएका इलेक्टर्स हरुको मत को आधारमा चुनिने गरिन्छ ।
निर्बाचनको दिनमा भएको मतदान को आधारमा चुनावको केही सातापछि इलेक्टर्स हरूको समूह ( जसलाई इलेक्टोरल कलेज पनि भनिन्छ ) हरुले राष्ट्रपति र उपराष्ट्रपति चयन गर्ने कार्य गर्दछन । प्रत्येक राज्यमा त्यहाँको जनसङ्ख्याको आधारमा इलेक्टर्सको सङ्ख्या तोकिएको हुन्छ। अमेरिकामा इलेक्टर्सको जम्मा सङ्ख्या ५३८ रहेको छ । अमेरिकामा सबै भन्दा बढी इलेक्टर्सको संख्या भएका राज्य हरु मध्य क्यालिफोर्निया राज्यमा सबैभन्दा बढी ५५ इलेक्टर्सहरू छन् भने त्यस पश्यात टेक्सासमा ३८ , न्युयोर्कमा र फ्लोरिडामा २९/२९ , इलिनोइस र पेन्सिलभेनियामा २०/२० रहेका छन् भने थोरै जनसङ्ख्या भएका अलास्का, डेलावेयर, डिस्ट्रिक अफ कोलम्बिया , मोन्टाना, नर्थ डकोटा, साउथ डकोटा, भेर्मोंट, र वोमिंग राज्यहरुमा ३ / ३ जना इलेक्टर्सहरू छन् । ५३८ इलेक्टोरल भोट मध्य राष्ट्रपतीय निर्वाचन जित्नका लागि २७० वा त्योभन्दा बढी मत प्राप्त गर्नुपर्छ । यसर्थ निर्बाचनका दिन कसले धेरै मत ल्यायो भन्दा पनि कसले कुन राज्यमा बिजयी भयो र सो राज्यको इलेक्टोरल भोट को संख्या कति छ सो कुराले बढी महत्व राख्दछ ।
त्येसैले अमेरिकामा धेरै मतदाताको मन र विश्वास जिते पनि राष्ट्रपति बन्न नसक्ने सम्भावना पनि उत्तिकै रहन्छ । चुनाबका दिन उम्मेदवारले प्राप्त गरेको जम्मा मत लाई पपुलर मत भनिन्छ । अमेरिकामा पपुलर मत थोरै प्राप्त गरेपनि आवश्यक इलेक्टोरल भोट ल्याएका कारण राष्ट्रपति बनेका ५ राष्ट्रपतिहरु छन् ति मध्य पछिल्ला पाँच निर्वाचनमध्ये दुईवटा निर्वाचनमा त्यस्तै उम्मेद्वारहरूले राष्ट्रपतीय चुनाव जितेका हुन् जसले आफ्ना प्रतिद्वन्द्वीभन्दा आमजनताबाट कम मत अर्थात कम पपुलर मत पाएका थिए ।
जोन क्विन्सी एडम्स (१८२५ – १८२९)
चुनाब मिति : अक्टोवर २६, १८२४
सन् १८२४मा अमेरिकाको १० औ राष्ट्रपतिय कार्यकालका लागि राष्ट्रपतिका चार उम्मेदवार थिए एन्ड्र्यू ज्याक्सन, जोन क्विन्सी एडम्स, विलियम क्रफोर्ड र हेनरी क्ले । ति मध्य मतदानमा टेनेसीका एन्ड्र्यू ज्याक्सनले सबै भन्दा धेरै पपुलर भोट र इलेक्टोरल भोट जितेका थिए। उनले खसेको कुल मत मध्य करिब ४१ प्रतिसत मत हासिल गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी जोन क्विन्सी एडम्सले मात्र ३०.९ मत प्राप्त गरेका थिए ।
तर ज्याक्सनले जित्नका लागि आवश्यक १३१ इलेक्टोरल भोट मध्य जम्मा ९९ भोट मात्र प्राप्त गरे भने एडम्सले मात्र ८४ भोट प्राप्त गरे अर्थात् जित्नका लागि आवश्यक १३१ इलेक्टोरल भोट कुनै उम्मेदवारले पनि प्राप्त गर्न सकेनन । अमेरिकी संबिधान अनुसार यदि कुनै पनि उम्मेद्वारले बहुमत पाएनन् भने अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा राष्ट्रपति निर्वाचित गर्नका लागि मतदान हुन्छ। यही प्राबधान अनुसार हाउस अफ रिप्रिजेन्टेटिभ्सले निर्बाचन मा दोस्रो भएका म्यासाचुटेसका जोन क्विन्सी एडम्स लाई बिजयी गराएको थियो ।
रथरफोर्ड बि हायस (१८७७-१८८१)
चुनाब मिति : नोभेम्बर ७ , १८७६
त्यस्तै २३ औ राष्ट्रपतिय कार्यकालका लागि भएको चुनाबमा रिपब्लिकनका उम्मेदवार रथरफोर्ड बि हायस र डेमोक्र्याट उम्मेदवार स्यामुल जे टिल्डेन लगाएत करिब ५ उम्मेदवार बीच प्रतिस्पर्धा भएको थियो । मतदानमा डेमोक्र्याटका स्यामुल जे टिल्डेनले ५०.९ प्रतिसत मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी रथरफोर्ड बि हायसले ४७.९ मत प्राप्त गरेका थिए तर इलेक्टोरल कलेजको मतदानमा भने कुल ३६९ मध्य रथरफोर्ड बि हायसले १८५ मत ल्याएका थिए भने स्यामुल जे टिल्डेनले १८४ मत लाएर मात्र १ मत ले पराजित भएका थिए ।
यो चुनाबलाई अमेरिकी इतिहासमा सबै भन्दा बिबादास्पद निर्बाचन मानिन्छ सो बारे पछि कुनै बेला चर्चा गरौला ।
बेन्जामीन ह्यारीसन (१८८९-१८९३)
चुनाब मिति : नोभेम्बर ६, १८८८
२६ राष्ट्रपतिय कार्यकालका लागि भएको यस निर्बाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार बेन्जामीन ह्यारीसन र डेमोक्र्याट पार्टीका उम्मेदवार ग्रोभर क्लीभल्यान्ड लगाएत ४ जना उम्मेदवार बीच प्रतिस्पर्धा भएको थियो । जसमा पपुलर मत अन्तर्गत डेमोक्र्याट पार्टीका उम्मेदवार ग्रोभर क्लीभल्यान्डले ४८.६ प्रतिसत मत ल्याएका थिए भने रिपब्लिकन पार्टीका उम्मेदवार बेन्जामीन ह्यारीसनले ४७.८ प्रतिसत मत प्राप्त गरेका थिए ।
दुइ बीच करिब ९० हजार को मतान्तर रहेको थियो तर तर इलेक्टोरल भोटमा बेन्जामीन ह्यारीसनले ४०१ मध्य २३३ मत प्राप्त गरेका थिए जहाँ उनलाई राष्ट्रपति बन्न मात्र २०१ मतको मात्र आवश्यक थियो भने ग्रोभर क्लीभल्यान्डले मात्र १६८ इलेक्टोरल भोट प्राप्त गरेका थिए ।
जर्ज डब्ल्यू बुश (२००१-२००५)
चुनाब मिति : नोभेम्बर ७ , २०००
सन् २०००मा ५४ औ राष्ट्रपतिय कार्यकालका लागि रिपब्लिकन पार्टीका उम्मेदवार जर्ज डब्ल्यू बुश, डेमोक्र्याटिक उम्मेदवार अल गोर लगाएत ७ जना उम्मेदवार बीच प्रतिष्पर्धामा भएको थियो । मतदानमा केहि राज्य हरुमा जर्ज डब्ल्यू बुश र अल गोर बीच झिनो मतको मात्र फरक रहेको थियो जसका कारण सो राज्य हरुमा पुन मत गणना समेत गर्नु परेको थियो ।
मतदानमा पपुलर भोट अन्तर्गत डेमोक्र्याटिक उम्मेदवार गोरले ५०,९९९,८९७ अर्थात् (४८.३८%) मत प्राप्त गरेका थिए भने रिपब्लिकन उम्मेदवार बुशले ५०,४५६,००२ अर्थात् (४७.८७ %) मत मात्र प्राप्त गरेका थिए । तर त्यस बिपरित इलेक्टोरल भोटमा भने बुशले ५३८ मध्य २७१ मत प्राप्त गरेर राष्ट्रपति मा बिजयी भएका थिए भने गोरले मात्र २६६ इलेक्टोरल मत पाएका थिए ।
डोनाल्ड ट्रम्प (२०१७-हाल)
चुनाब मिति : नोभेम्बर ८, २०१६
अमेरिकाको ५८ औ राष्ट्रपतिय कार्यकालका लागि २०१६ को नोभेम्बर ८ मा मतदान भएको थियो सो निर्बाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प , डेमोक्र्याटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टन लगाएत ७ जना बीच प्रतिस्पर्धा भएको थियो । मतदानमा पपुलर भोटमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनले रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प भन्दा करिब 28 लाख बढी मत प्राप्त गरेकी थिइन् तर ३०४ इलेक्टोरल भोट ल्याई रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्बाचित भए भने हिलारी क्लिन्टन ले मात्र २२७ इलेक्टोरल भोट प्राप्त गर्न सफल भइन ।
क्लिन्टनले क्यालिफोर्निया र न्यु योर्क जस्ता ठूला तथा बढी जनसंख्या भएका राज्य हरुमा ठुलो मत अन्तर ले बिजयी भएकी थिइन् भने ट्रम्पले केहि साना राज्यहरुमा झिनो मत अन्तरले बिजयी भइ धेरै इलेक्टोरल भोट जित्न सफल भएका थिए ।