चौपट गाउँमा आगामी गाउँपालिकाको चुनाव धेरै टाढा थिएन । त्यहाँ दुइटा दलहरु एकदमै सक्रिय थिए । प्रचार-प्रसार दुवैको ब्यापकै थियो । मतदाताहरुकै अगाडी बहस गर्ने कार्यक्रम अन्तर्गत दुवै दलका अध्यक्षका प्रत्यासीहरु चौतारीमा थिए । दुवैले एकछिन त राम्रै तर्क-बितर्क गरे । मतदाताहरुले दुवै पक्षको धारणा बुझ्न पाए । सत्तापक्षको उम्मेद्वारको तर्कहरु कमजोर हुँदै थियो । उ सनकी खालको छ भन्ने त मतदाताहरुलाई थाहा थियो । एकाएक सन्किहाल्यो – “तेरो बाजेले खशी चोरेर खाएको मलाई थाहा छ । अहिले यहाँ ठूलाठूला कुरा गर्छस !”
भद्र किसिमले बोलिरहेको अर्को प्रत्यासीले सोच्यो -” यो सन्काहासंग भलाद्मी किसिमले कुरा गरेर हुँदैन । व्यक्तिगत रुपमा नचाहिँदो आक्षेप लगाउने यसको बानी कहिल्यै गएन । अव “जस्तालाई तस्तै, ढिंडोलाई निस्तै” नगरि भएन ।”
अनि उ कड्कियो -“तैंले देखेको थिइस ?”
सन्काहा संकियो -” नदेखे पनि सुनेको हुँ ।”
अर्को कडकियो – ” सुनेको भरमा भन्छस ? मैले पनि तेरो बारेमा कस्ता कस्ता कुराहरु सुनेको छु ।”
” के सुनेको छस ? तागत भए भन ।” सन्काहा कडकियो ।
” तेरो बाउ तेरो बाउनै हैन, बुझिस !” अर्को चिच्यायो ।
“के भनिस ?” भन्दै सन्काहाले जुरुक्क उठेर अर्कोलाई मुक्का हानिहाल्यो । चौतारिमै उनीहरु बिच मुक्कामुक्की चल्यो ।
अनि तल चौरमा पनि दुवै पक्षका समर्थकहरु बिच मुक्कामुक्की चल्यो ।

धेरै बर्ष अमेरिकामा बसेर भर्खरै गाउँ फर्केको एउटा बूढो भुटभुटिंदैथियो – ” जस्ता नेता उस्तै मतदाता, जस्ता मतदाता उस्तै नेता । जहाँ पनि उही हो । बहस र झगडाको फरक पनि थाहा छैन ।”

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected