उ आउँदा र जाँदा

लाग्दैन हामीलाई
हामीले बोलाएको
तर उ आयो
हाम्रो बिचमा
जमाउन थाल्यो हामीलाई
तड्पाउन थाल्यो
हाम्रा माया-प्रेमलाई
छुट्टिन थाले हाम्रा दोषहरु
छुट्टिन थाले हाम्रा मनहरु
बन्द हुन थाले
हाम्रा बोलि-चालीहरु
छुट्टिन थाले हाम्रा कोठाहरु
बन्द हुन थाले
हाम्रा झ्याल-ढोकाहरु
गुम्सिन थाल्यौ हामीहरु
स्वाभिमान हुँ भन्दै थियो
तर उसको भित्रि अनुहार
अभिमानको थियो
डस्न लाग्यो हामीलाई
भस्म पार्न लाग्यो हामीलाई
तर समयमै
चिन्यौ हामीले
उसका अनुहारहरु
उसका व्यबहारहरु
उसका नियतहरु
सम्झियौं हामीले
हाम्रा रमाइला क्षणहरु
हाम्रा दु:खका क्षणहरु
हाम्रा समझदारीहरु
हाम्रा कर्तब्यहरु
हुन्छौं सँग-सँगै
सुख दु:खमा
हामीले गरेका वाचाहरु
अनि हाम्रा माया-प्रेमहरु
थाहै नपाई उ गईसकेछ
हाम्रो मनबाट
मस्तिकबाट
घरबाट
हामी स्वतन्त्र भईसकेछौं
हामी फेरि हामी भएछौं
पुलकित भएछौं उस्तै गरि
जब पहिलो चोटि भेटेथ्यौं
झ्याल खोल्यौं हामीले
जुनेली रात थियो
चन्द्रमालाई छोप्ने कालो बादल
हामीलाई छोप्ने कालो अभिमान
थिएनन् त्यहाँ
फूलै-फूल फुलेको आँगन थियो
शीतल हावा चलिरहेको थियो
पर झिमरुक बगिरहेको थियो
हेरिरह्यौं त्यो मनोरम बाटो
झिमरुक किनारको
हामी संधै
हिड्ने बाटो
त्यो चौतारो
ती हरिया फाँटहरु
त्यो आँपको बगैचा
सबै हाँसिरहेका थिए
टह टह जूनमा
प्रण गर्यौ
हिडदैनौ अब
पारी भीरको डरलाग्दो बाटो
त्यो अँध्यारो बाटो
त्यो अभिमान हिंडने बाटो
(प्रकाशोन्मुख कविता संग्रह ” पर क्षितिजमा ” को एक कविता । रचना काल – फेब्रुअरी १६, २०१४ । रचना स्थान – अर्भिङ्ग, टेक्सास, अमेरिका )