पहिला ऊ
भाँडाकुटी खेल्थ्यो खूब रमाउँथ्यो
एउटै थियो
मनदेखि अनुहारसम्म

लुकाउन केही हुन्थेन र
माटोमा, बालुवामा
सिन्का लुकाइ खेल्थ्यो
आज
मनमा एउटा अनुहारमा अर्को छ
खेल्न त आज पनि खेल्छ
तर
मनलाई माटो बनाएर
कुरा लुकाइ खेलेर
दुःख लुकाइ खेलेर
कहिले सम्म रमाउन सक्ला ?

सानो हुँदा
सुकेका सिन्का र पात बटुलेर
घर बनाउँथ्यो
ऊ आफूले बनाएको
घरभन्दा
अग्लो हुने गर्थ्यो र पो
खुसी हुने गर्थ्यो

आज
घरका भित्ताहरुमा
रंग जस्तो लाग्ने
अहम पोतेर
खुसी हुने अभ्यास गरिरहेछ
आफूभन्दा अग्लो
घर जस्तो लाग्ने
अहंकार बनाएर
कसरी खुसी हुन सक्ला ?

सानो हुँदा
ढुङ्गाहरुलाई साथी बनाउँथ्यो
ढुङ्गाहरुले पनि कुरागर्थे
आज
ढुङ्गालाई भगवान बनाएर
त्यही ढुङ्गासंग डराएर
हात जोडेर हिँड्छ
ढुङ्गा न ईश्वर भयो न साथी
भयो त बरु ऊ
आधाआधी ढुङ्गा भयो

सानो थियो
मन पनि सादा थियो
कागजमा पनि रमाउँथ्यो
चंगा बनाउँथ्यो र
चंगाभन्दा माथि उडाउँथ्यो मन
पानी जहाज बनाउँथ्यो र
तैराउँथ्यो
बर्खामा बगेको पानीमाथि
मानौँ
ऊ कागज भन्दा पनि
हलुका हुन्थ्यो मनैदेखि

बच्चादेखि नै कागजमा
रमाउने बानी परेको ऊ
आज पनि
खुसी हुन चाहान्छ
कागजका टुक्राहरू जम्मा गरेर
तर !
कसरी खुसी हुन सक्छ ?
जब कागजमा
पैसा लेखिएको छ ।।।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected