फेरि साँझ पर्यो
हिजो जस्तै
अस्ति जस्तै
सँधै जस्तै
सहँदै हिउँदको चिसो सिरेटो
उभिएँ म बार्दलीमा
खै, किन हो मलाई
साँझलाई
रात नपरुञ्जेल हेर्न मन लाग्छ
डुब्दै गरिरहेको सूर्य संग
आत्मियता गाँस्न मन लाग्छ
चारै तिर हेर्छु
आँखा अगाडी छ
एउटा सुखा नहर
पात पहिँलिदै झर्दै गरेको एउटा बूढो रुख
निर्जन एउटा पुरानो घर
अनि पर सडकमा
नबलेको एउटा ल्याम्प पोस्ट
न त
नहरमा कलकल पानी
रुखमा हरिया पातहरु
घरमा चहल पहल
झलमल्ल बलेको ल्याम्पपोस्ट
छ त
अँध्यारो हुँदै गैरहेको साँझ
र
म
अनि
मौनता !
शुन्यता !
सामन्जस्यता !
सोच्छु
आ -आफ्नै छन्
सवैको बेदना यहाँ
रातलाई बिहान बन्नु छ
रुखलाई हरियो बन्नु छ
नहरलाई पानीले भरिनु छ
घरलाई रौनक खोज्नु छ
ल्याम्पपोस्टलाई उज्यालो दिनु छ
सवैलाई उपयोगी बन्नु छ
नत्र
फाल्दिन्छन तिनीहरुलाई
समय र परिस्थितिले
एउटा अदृश्य, अव्यक्त साश्वत नियम
म पनि आफुलाई त्यहिँ देख्छु
एक्लै
अस्तित्वको लडाई लडिरहेको पाउँछु
क्रमस: अध्यारो हुँदै गैरहेको साँझमा
–
डालस, टेक्सास
सम्बन्धित खवर
-
उनलाई डालस एयरपोर्टमा ...
-
भाषण गर्छ, निर्देशन दिन्छ उपदेश ...