गए राति धेरै अवेर सुतेकोले बिहान उठ्दा पौने दश बजिसकेको रहेछ । हत्तपत्त उठेर झ्यालका पर्दाहरु खोलेँ । बाहिर झमझम पानी परिरहेको रहेछ । तल नहरमा सेतो बगिरहेको देखेँ । ” ओहो ! आज हिउँ परेछ । एकचोटी बार्दलीमा गएर हेर्छु” भनेर बार्दलीमा गएर हेरेँ । हिउँ त परेको रहेनछ । नहरमा बाढी आएको रहेछ । पानी बेतोडसंग बगिरहेको रहेछ । अनि नहरमा बनाइका साना साना छाँगाहरु (फल्स) बाट पानी खस्दा दूध जस्तो सेतो पानी बगिरहेको भान परेको रहेछ । मलाई ती दृश्यहरुले अति रोमान्चित गरायो ।

मन कता कता नेपालको पहाडमा खोलाहरुमा बाढी आएको, खेतहरुमा झमझम पानी परेको, आफु कुनै बेला भिज्दै भिज्दै खोलाको तीरैतीर हिंडेको सम्झना आयो । बार्दलीमा उभिएर हेरिरहेँ त्यो दृश्य । चिसो बढेको थियो । अलिअलि चलिरहेको हावाको झोक्काले अनुहारलाई स्पर्श गर्दा कस्तो कस्तो अनुभूति भईरहेको थियो । अनि यो स्पर्श संगै मन फेरि तरंगित हुनथाल्यो । नेपालमा हिउँदमा कुहिरोले ढाकेका डाँडाहरु, पात झरेका रुखहरु, सफा कलकल पानी बगिरहेका खोलाहरु, कता कताको माघे संक्रान्तिको मेलाको प्रेमिल दृश्यहरु आँखा अगाडी झल्झल्ती आइरहे । शीर देखि पाऊसम्म अचम्मका लहरहरु दौडिरहे । मुटुमा कस्तो कस्तो केहि प्यारो चिज गुमाएँ जस्तो वा आफ्नी प्रेयसीलाई कहिले भेटन पाईन्छ भन्ने छटपटी भएजस्तो भईरह्यो ।

सेलफोनबाट पानी बगिरहेको नहरको भिडियो लिएँ । अनि फर्किएर नुहाई-धुवाई, ब्रेकफास्ट तिर लागेँ । ती सवै सकेर फेरि बार्दलीमा जाँदा ती पहिले देखेका रमझम दृश्यहरु थिएनन् । पानी पर्न रोकिसकेको रहेछ । नहरमा पानी बगिरहेको थिएन । खाली खाल्टा-खुल्टीहरुमा केहि पानी जम्मा भएको देखिन्थ्यो । कतै कुनै हावा चलेको थिएन । न त कतै बाट कुनै आवाज आइरहेको थियो । रुखहरु नचलमलाईकन सैनिक उभिएजस्ता उभिरहेका थिए । मौसम केहि उघ्रिन लागेको थियो । कहाँ गए ती भर्खरै देखिएका बतास, झमझम पानी, नहरमा बेतोडसंग दौडिरहेका पानीहरु ? के हो यस्तो ? जवानीको सीमा पार गरेर बुझक्की भएकी युवती जस्तो पो भयो यो वातावरण । अझै भन्नु पर्दा जवानीको सीमा पार गरेर जिम्मेदारीले गम्भीर भएको मै जस्तो … । फर्केर मन फेरि त्यहि कालखण्डमा विचरण गर्न लाग्यो ।अर्थात् जिम्मेदारीले गम्भीर बनाएको जीवनको त्यो कालखण्ड । अनि सपनाहरु बोकेर सपरिवार सपनाको देशमा जान त्रिभुवन विमानस्थल पुगेको त्यो दिन । बाहिर घाम लाग्यो एकै छिन पछि । फेरि एकै छिन पछि अन्धकार भयो । म पुराना सम्झनाहरुमा हराईरहेँ । लाग्थ्यो – हराईरहुँ सँधै भरि त्यसैमा । त्रिभुवन विमानस्थल छोड्नु भन्दा अगाडिका दिनहरुमा । दिनहरु त तिनै थिए जीवनका, उत्साह, ईच्छा, आकांक्षा, माया-प्रेम, स्नेह, वात्सल्यता, सहृदयताले सजिसजाउ भएका ।

बेडफोर्ड, टेक्सास
(डिसेम्बर ११, २०२० को डायरीको केहि अंश )

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected