” दाइ, केहि दिन अघि एक जना आफन्त बित्नु भयो ।आर्यघाटमा संगै गएको थिएँ । यस्तो मलामी भएर गएको मेरो पहिलो अनुभव थियो ।”
उ भन्दै गयो –
” चितामा शव जलिरहेको थियो । अरु थुप्रै शवहरु पालोमा थिए । चिताबाट उठेको धुवाँसंगै मेरो मन कता कता हरायो ।
यो सवै ‘तेरो’ ‘मेरो’, म ठूलो, म धनी, म …” भन्ने पनि केहि रहेनछन । आखिर सवै छोडेर एक दिन यसरि नै चितामा जल्नु पर्ने रहेछ । खाली हात आएँ, खाली हात जान पर्ने रहेछ । बाँचुन्जेलका यी सवै ‘रामछायाँ’, ‘तातो न ‘छारो’ मनमा यस्तै कुराहरु खेलिरहेका थिए । नातेदारहरु यता उति गरिरहेका थिए ।

संगै लाममा राखिएको अर्को शवका नजिकै आफन्तहरु शव जलाउने पालो आउन लागेकोले अलि सल्बलाईरहेका थिए । एक जना ठूलै धनीमानी – के भनौं उनलाई – तस्कर भन्ने कि, ब्यापारी भन्ने कि, भ्रस्ट्राचारी भन्ने कि, समाजसेवी भन्ने कि, नेता भन्ने कि विविध “व्यक्तित्व” बोकेका ब्यक्तीको शव रहेछ भन्ने कुरा मैले छेउमै उभिएका आफन्तहरु मध्ये केहि परिचित अनुहार हेरे पछि बुझेँ । उनीहरुले मलाई चिने, चिनेनन – मैले थाहा पनि पाइन, जरुरत पनि महसुस गरिन । दुई कदम अघि बढेर उनीहरु मलाई समबेदना दिन पनि आएनन । म पनि दुई कदम हिंडेर उनीहरुलाई समबेदना दिन गईन । उनीहरुको रामायण, महाभारत सवै थाहा छ । कसलाई भन्ने, कसले पत्याउँछ र ? आह्रिस गरेको, पूर्वाग्रही भएको, बिरोधि गूटको भन्दिए भैहाल्यो । त्यतिकैमा मनमा आयो – हत्तेरी कि ! बितिसकेको मान्छेको बारेमा के नराम्रो सोचेको ? मसानघाटमा पनि म किन यति आक्रोसित भएको ? आफुले आफैंलाई हप्काऊँदै मैले त्यता तिर बाट ध्यान हटाएँ । तैपनि मनमा कुरा चलिरह्यो – के रहेछ र है जति कमाए पनि । लाने केहि रहेनछ । भन्छन – जानेहरु आफुले कमाएको पुण्य र गरेको पाप मात्रै लिएर जान्छन रे ।

मेरो आफन्तको दाहसंस्कार करिव करिव समाप्त हुन् लागेको थियो । म उनको बारेमा सोचिरहें – कति सिधा-साधा, भलाद्मी, उपकारी हुनुहुन्थ्यो । भलै उनका नातेदारहरु अर्कै बाटो हिंडें । यी मेरा आफन्तको ‘पुण्य’ र ती बिबिध व्यक्तित्वका धनीको ‘पाप’ को हिसाव-किताव होला नि ! अर्को मन कड्क्यो – के हिसाव हुनु नि ! सव वाहियात कुरा ! हुने भए यहिँ धरतीमा बाँचुन्जेल नै भै हाल्थ्यो नि । कति दु:ख पाउनु भयो !

एक छिन पछि दाहसंस्कार कर्म सकियो । सवै हिंडन लागे । म पनि उनीहरु सँगैं थिएँ । पार्किङ्ग स्थल पुगे पछि आ- आफ्नो प्राडो, पजेरोमा सवै तन्किए । कसैले मलाई सँगै जाउँ पनि भनेनन्, मैले पनि संगै जान्छु पनि भनिन । भर्खरै घाटमा पलाएको बैराग्यबोधलाई सांसारिक झापड लागेको थियो ।
हिंड्दै गौशाला आइपुगेँ । यताउति नजर दौडाएँ । एउटा ट्याक्सी देखियो । नजिकै गएर सोधेँ – खाली हो ? अनि बार्गेन बार्तालाप शुरु भयो ।

कहाँ जाने ?

“ठूलो भर्याङ्ग”

कति लिनुहुन्छ ?

दुई हजार !

ओहो ! कति धेरै भन्नुभएको । अलिकता मिलाउनुस न ! आखिर मरि लानु के छ र ?

मेरो मुखबाट अनायासै ‘आखिर मरि लानु के छ र ‘ निस्केको थियो । ट्याक्सीचालकले मलाई शीर देखि पाऊसम्म हेर्यो । अनि भन्यो – हेर्नोस, मरि लानु त केहि छैन । तर यहाँ बाँच्न पो सवै चीज चाहियो । अनि पैसा नभई ती सवै चीज पाइन्न । तपाइँ घाटबाट आउनु भएको रहेछ । तपाईंको यो ‘मसाने बैराग्य’ गौशाला सम्म हो । त्यस पछिको दुनियाँ बेग्लै छ । चल्दैन दाइ, बैरागिएर चल्दैन । मैले पनि यस्तै बैरागी सोचले आफ्ना स्रोत-साधन खुबै खुला दिलले बाँडे । पछि त आफु चिल्लै ! झन्डै सडकमा पुगेको ! केहि नलागेर ट्याक्सी चलाईरहेको छु । बाँच्नुनै ठूलो कुरो हो – मरे पछि के चाहियो र !

सोचेँ – यो त म भन्दा ठूलो दार्शनिक रहेछ । यसो अनुहारमा ध्यान दिएको त अनुहार पनि त्यस्तै रहेछ ।

त्यो ट्याक्सी चालकले भन्यो -भैगो दाइ, बाह्र सय दिनोस । तपाईं शोकमा हुनुहुन्छ ।
धन्यवाद दिंदै म खुरुक्क ट्याक्सीमा बसेँ । हामी ठूलो भर्याङ्ग तिर लाग्यौ । बाटोमा उसले धेरै दार्शनिक कुरो गर्यो ।आर्यघाटबाट गौशाला आएर उसको ट्याक्सीमा बसेका बिभिन्न यात्रुहरुको कथा-व्यथा सुनायो । यात्रुहरुले भनेको घरको मूली बित्दा हुने पारिवारिक किचलोको वृतान्त सुनायो । अनि निचोडको रुपमा भन्यो – हेर्नोस दाइ, आर्यघाट अर्को संसार हो । गौशाला अर्को संसार हो । आर्यघाटबाट बिदा हुनेलाई त हाइसन्चो, गौशाला फर्किनेलाई त फेरि लडाइमा भाग लिनु पर्यो – बैरागीएर कहाँ सुख पाइन्छ ?
ठूलो भर्याङ्ग पुगे पछि ट्याक्सीचालकलाई धन्यवाद दिंदै आफ्नो घरतिर लागेँ ।“

कथावाचक भाइको यो लामो कथा सुने पछि मैले केहि बोल्नु पर्ने हो । उसले पनि त्यस्तै अपेक्षा गरेको थियो । तर मैले केहि बोलिन । सिर्फ भनेँ – ” आज ह्वात्तै जाडो बढ्यो । केहि जिऊ तताउने हो?” शायद ऊ यहि प्रस्तावको प्रतिक्षामा थियो । तुरुन्तै राजी भयो – ” भै हाल्छ नि दाइ । मैले केहि सितन ल्याएको छु । मरि लानु के छ र दाइ !”

मैले फेरि पनि लामो कुरा गरिन । सिर्फ भनें- “त्यहि त भाइ ।” तर उसलाई थाहा थियो – मेरो जिऊ र दिमाग ताते पछि धाराप्रवाह प्रवचन शुरु हुन्छ भनेर ।
– बेडफोर्ड, टेक्सास

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected