साँझमा बार्दलीमा थुप्रिएका पातहरु देख्दा
सोचेको थिएँ
“कुचो लगाईदिउँ?”
“तीन तला माथीबाट तल भुइँमा झारिदिउँ?”
तर मानेन मनले !

नियतीको थप्पडले पहेँलिएर
हिउँदको चीसो स्याँठले उडाएर
आफ्नाहरुसंग बिछोडिएर
बार्दलीमा आएका यी निसहाय, निर्दोष पातहरुलाई
अझै लखेटन खोज्ने ? कस्तो निर्दयी !
अन्तस्करणले भन्यो

कता कता
आफ्ना वासस्थानबाट लखेटिएका शरणार्थीहरु
आफ्नाबाट अपहेलित हुँदै आश्रय खोजिरहेका बृद्धहरु
देखेँ ती पातका थुप्रोहरुमा
उस्तै हो नियती!
समय र हावाको झोंक्काको झापड
उस्तै हो !

भोली बिहानै
हेर्न गएँ बार्दलीमा
थिएनन् पातहरु त्यहाँ
शायद बिहानै हावाले उडाएको थियो
बाहिर झमझम पानी परेको थियो
नजिकैको खोल्सामा बाढी आएको थियो

थुप्रै पातहरुलाई बगाइरहेको थियो

हेरिरहेँ पातहरुलाई
सोचिरहेँ
पालुवा निस्कनु, हरियो पात बन्नु
पहेँलिनु, सुक्नु
हावाले उडाउनु
कतै वास बस्नु
अनि बढारिँदै नदीमा प्रवाहित हुनु
कसैको योजनावद्ध बाटो हो

अनि, कता कता
आफुलाईनै प्रतिबिम्वित पाएँ ती पातहरुमा
मेरो पनि त त्यहि बाटो हो
मेरो पनि
यहाँ शायद
कतै
सिर्फ एक रातको वास हो

बेडफोर्ड, टेक्सास

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected