हरिध्वज आलारामको घन्टीसंगै आँखा मिच्दै सखारै झयाल्स बिउँझिन्छ । हतार– हतार काममा जान तयारी हुन्छ । हातमुख धोएर एक गिलास तातो चियो पिउछ ।
फ्रिजमा राखेको बेलुकाको खाना लन्ज ब्याकमा प्याक गर्छ । २००३ मोडलको निशान कार कुँदाएर काममा निस्कन्छ । हरिध्वजको अमेरिकामा यो रोजना दैनिकी बनिरहेको थियो । बिहानै आधा निद्रामा काममा निस्कदा उसलाई कम्ति सकस हुदैनथ्यो । तर के गरोस नउठी सुख्खै थिएन ।

नेपालमा छदाँ  कुर्सिमा बसेर खुट्टा हल्लाउदै गरेको जागीर सम्झेर कहिल्यै काही मन अमिलो बनाउथ्यो । खानेपानी सस्थानमा ऊ अधिकृत थियो । अमेरिका आएपछि आफुले भने जस्तो नभएपछि ऊ खासै खुशी हुन सकेन । सोचेको र सुनेको जस्तो उसले पाएन यहाँ । नत आफुले भने जस्तोनै पायो जिन्दगी । आखिर अमेरिका हो, उसलाई काम नगरी जिन्दगीको गाडी गुडाउन हम्मे थियो । उसले अध्ययन गरेर केही राम्रो अवसरको खोजी गर्ने सोच समेत नबनाएको हैन । तर पारिवारिक र अनेकौ बाध्यात्मक परिस्थितिले उसलाई बाधेर राख्यो । उसले चाहेर पनि अध्ययनलाई अगाडी बढाउन सकेन ।
झण्डै आठ वर्षअघि अमेरिकाको शिकागो आएको थियो हरिध्वज । त्यहाँ  दुई वर्ष जसो बिताएपछि ऊ साथीभाईको अनुरोधमा बाल्टीमोरको मेरिल्यान्ड राज्यमा बसाई सरेको थियो । मेरिल्यान्ड आएपछि नै उसले विवाह गरेको थियो सचितासंग । बिहेको दुई वर्ष पनि टिकेन उनिहरुको सम्बन्ध ।
अन्ततः संधै साथ दिने वाचा गरेकी जीवनसंगीनीले सचिताले उसलाई अनायासै पाइला मोडेर हिडी । जसलाई उसले आफनो जिन्दगी सम्झेको थियो, उसैले उसलाई अर्नगल दोष थुपारेर छाडेर हिडी ।

उसले धेरै कुरामा जीवनसंगीनीलाई आत्मनिर्भर बनाएको थियो । पाइला –पाइलामा साथ दिएको थियो । तर खै मन भरिन सकेन सचिताको । दुर्भाग्य उसलाई बीच बाटोमै छाडेर सचिता अर्केसंग सधैका लागी हिडेपछि ऊ विक्षिप्त बन्यो ।
उसै त अमेरिकाको जिन्दगी देखि खुशी हुन नसकेको हरिध्वज माथि अर्को बज्रपात थपियो ।

ओरोलो लागेको उसको जिन्दगीमा साथीभाईको समेत साथ पाउन सकेन । सबैले खेदन थाले । साथीभाई पनि अनायासै वैरी बन्न थाले । जसलाई ऊ नजिकको साथी मान्थयो परमेश्वर । उसैले एक्लो देखेपछि उसमाथिको व्यवहार परिवर्तन ग¥यो । केही वर्ष पहिला अमेरिका आएको परमेश्वर यतै पढेर चार्टर अकाउटेन्टको जागीरे थियो । उसमा राम्रो जागीर खाएको घमन्ड थिदै थियो । परमेश्वरले उच्च जागीरको कित्ता काट ग¥यो हरिध्वजलाई । सहयोग गर्नुपर्छ भनेर तथा एक्लो देखेपछि उसले पनि बिस्तारै हरिध्वजको सामिप्यता छाडदै गयो ।
अन्य साथीहरुको पनि उसलाई हेर्नेमा दृष्टिकोण परिवर्तन भयो । उसको व्यक्तिगत जीवनमाथि उल्टै अनावश्यक प्रश्नहरु साथीहरुले तेर्साउन थाले । आफै अदालत र आफै न्यायधिस जस्तो बनेर उसको विरुद्धमा वकालत गदै छिनोफानो गर्न थाले । जीवनसंगीनीले छाडनुको कारण पनि हरिध्वज माथिनै दोष थुपार्न थाले । आखिर उनिहरुको भित्री कथा कसैले बुझेनन र बुझने प्रयास गरेनन् । मनगढन्ते व्याख्या र विश्लेषण गदै हिडने जमात धेरै भए । आखिर समाज  तेहि थियेा ।

आफन्त भन्ने  र नजिकका सबैले उसको साथ छाडे । जसलाई उसले नजिक सम्झयो तिनैले उसलाई बेवास्ता गदै गए । कतिपयले केही स्वार्थ हेरेर उसंग सम्बन्ध बढाए र पुरा भएपछि उसंग टाढिए ।
हरिध्वजको अमेरिकी सपनामा बिस्तारै तुवाँलो लाग्दै गयो । उसका इच्छा आकांक्षाहरुका पहाडहरु भत्किन थाले । ऊ हरेक तिरबाट आफुलाई नितान्त एक्लो महसुस गर्न पुग्यो । उसलाई एकाकीपनले दिनानुदिन गाँज्दै लग्यो ।

मान्छेले एक्लोपन भुल्न नसाको साहारा लिन्छ भन्ने सुनिनथ्यो । हो रहेछ ,आखिर हरिध्वजको जीवनमा त्यस्तै भयो । जिन्दगीमा कहिल्यै कुनै अमल नभएको उसमा बिस्तारै चुरोट र रक्सीको लत बस्न थाल्यो । धुँवासंगै उसले जिन्दगी उडाउन थाल्यो । ऊ कमजोर अवस्थामा पुगीसकेको थियो । सही र गलत के हो निक्यौल गर्ने क्षमता समेत उसमा क्षीण भइसकेको अवस्था थियो ।
चुरोट र रक्सीको लतले ऊ शारीरक रुपले समेत कमजोर भइसकेको थियो । मन भुलाउन उ रक्सी र चुरोटको सहारा लिन थालेको थियो । उसलाई यस्तो नगर्नु भनेर सल्लाह दिने कोही थिएन ।
उसले कम्पनीको जागीर पनि छाडीसकेको थियो ।

शारीरिक अवस्था यति कमजोर भइसकेको थियो की ऊ काम गर्न समेत नसक्ने अवस्थामा थियो । जागीर नभएपछि उसले कोठाको भाडा तिर्न सक्ने अवस्था पनि थिएन । कोठाको भाडा तिर्न नसकेपछि शेयरिङमा बसेका साथीहरुले कोठाबाट पनि उसलाई निकाली दिन्छन् । परिवार, आफन्त र साथीबाट पनि ऊ यसरी एक्लिन्छ । उसलाई जिन्दगीले गनी– गनी चोट दिन्छ ।

यसपछि उसको जाने ठाउँ कतै भएन । उसको यो अवस्था देखी –देखी पनि उसलाई मेरिल्यान्ड सम्म ल्याइपुराउने हितैषी साथी भनिने परमेश्वरले दया देखाउदैन । नत अरु साथीभाईले नै उसलाई साथ दिन्छन् । यस्तो बेला उसलाई सबैको साथको खाचो थियो तर पाउदैन । उसको जिन्दगी रित्तिन्छ । रित्तो जिन्दगी बोकेर ऊ मेरिल्यान्डका सडकहरुमा भौतारिन थाल्छ । सडकमा रोकिएका गाडीका मालिकसंग हात फैलाएर माग्न थाल्छ । यसरी जम्मा भएको दुईचार डलरले भोको पेट भर्ने कोसिस गर्छ ।

अन्तत: ऊ घरबारबिहीन अर्थात ‘होमलेस’ को जिन्दगी जिउन बाध्य हुन्छ । उसका लागी ओत लाग्ने छानो त्यही खुल्ला आकाश बन्न पुग्छ । दुखमा सहारा कोही हुदैन । साथमा त्यही नुनिलो आँसु मात्र हुन्छ ।
झुत्रे लुंगा झुस्स परेका दाही तथा ख्याउटे शरीर देख्दा ऊ पहिलाको हरिध्वज हो भनेर ठम्याउन हम्मे पथ्र्यो । जिन्दगीको एउटा दिशाबिहीन यात्रामा हिडीरहेको थियो । न उसको कुनै लक्ष्य थियो नत गन्तव्य नै । जिन्दगी, समय र सबैबाट ऊ ठगिएको थियो ।
मलाई यो जिन्दगीले कहाँ पुर्यायाे
कहिले हसायो कहिले रुवायो
आफनै संग छुटाएर एक्लो बनायो
………..

यही गीतले भने जस्तै भयो हरिहध्वको जिन्दगी पनि ।
सडकमै भौतारिरहेको हरिध्वजको जिन्दगी कहाँ गएर टुंगिने हो केही पत्तो थिएन । समय आफनै गतिमा दौडिरहेको थियो । अनायसै एक दिन मेरिल्यान्डको स्थानिय अखबारमा एउटा फोटो सहितको समाचार छापिन्छ– ‘नाम नखुलेको एक जना होमलेस युवाको हाइवे आइ–९५मा सवारीको ठक्करबाट ज्यान गयो । ’ समाचारमा छापिएको तस्विर हरिध्वज कै थियो ।

बेबारिसे लास बुझन कोही आउ“दैनन । तर सामाजिक संजालका भित्ताहरुमा फुस्रो आडम्बर देखाउन केही साथी भन्नेहरु दुख्द खबर भन्दै मरेपछि उसको चुत्थो गुनगान गाउन चुक्नेन । थाहा पाएर पनि चिनेजानेका साथीभाई समेत आउदैनन् उसको बेबारिसे शब उठाउन । आखिरमा प्रहरीले नै शब स्थानिय सरकारलाई बुझाउछ । स्थानिय सरकारको पहलमा हरिध्वको शबको अन्तत: अन्तेष्टि हुन्छ ।
००००

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected