धेरै बर्ष पहिले भारतमा पढ्दा छात्रावासमा मेरो “रुम पार्टनर” धेरै रमाइलोमान्छे परेको थियो । उसमा “जोक” गर्ने अभुतपूर्व क्षमता थियो । उ तुरुन्तैआफुलाई र आफु वरिपरि भएका गतिबिधिहरुलाई तुरुन्तै “जोक” मापरिणत गरेर मरिमरि हँसाउन सक्दथ्यो । कलेजमा उसको “रुतवा” चर्कोथियो– सवैको हाई हाई! त्यस्तो साथी “रुम पार्टनर” पाउँदा मेरो पनि भाऊबढेको थियो । उ संगको दुई बर्षको बसाई बितेको पत्तै भएन । कहिले पनिमुख “लटकाएर” बस्नु परेन ।

उसलाई आर्मीमा जाने  एकदमै रहर थियो । उ म संग त्यस सम्बन्धित कुराबारम्बार गरिरहन्थ्यो । पर्खाल नाघ्ने, गह्रौं भारी बोकेर दौडने, पोल चढ्ने,  खोलामा हाम्फाल्ने आदि बिभिन्न परिक्षा पास गर्नु पर्छ भनिरहन्थ्यो । तरआफ्नो जिऊडालले धोका दिन्छ कि भन्ने डर पनि थियो । उसले प्राविधिकलाइनमा शारीरिक बनोट, क्षमता भन्दा मानसिक क्षमतामा बढी जोड दिन्छनभन्ने पनि सुनेको थियो  । त्यसैले अलिकता आश बढेको थियो उसको ।

उसले एक दिन शनिवारको बिहानै आर्मीमा कसरि छानिन्छ भन्ने बिषयको“जोक” कतै भेटेछ | अनि आएर मलाई भन्यो–

” जानते हो तिवारीजी, आर्मीमे कैसे ‘सिलेक्सन‘ होता है ?“

मैले भने -” नहीं तो!”

हाम्रो कुराकानीको भावानुवाद यस्तो थियो –

“एउटा ‘जोक‘ सुन्नोस है ! “

“के भन्नोस् न, सिन्हाजी!”

“बुझ्नु भो तिवारीजी, आर्मीमा  धेरै टेस्टमा पास भैसकेपछि  एउटा महत्वपूर्णटेस्ट लिन्छ रे । त्यसैबाट पास फेल छुट्टिन्छ रे ।“

“के हो त्यस्तो टेस्ट ?“

“सुन्नोस त तिवारीजी, एउटा ठूलो रुख देखाएर त्यो रुखलाई त्यहाँ लगेर राखभन्छ रे । जो त्यत्रो बडेमानको रुखलाई उखेलेर कसरि लग्न सकिन्छ भन्नेसोचेर अघि बढ्दैन त्यो सकियो रे । तर जो फूर्तिसंग गएर भएभरकोमुढेबलले त्यो रुखलाई सार्नको लागि भिडिरहन्छ, त्यो पास रे ।“

” धत्, त्यस्तो पनि कहिँ हुन्छ? झन् त्यस्तो सोच्नेलाई पो पास गर्नु पर्ने हैन र?” मैले भने ।

” अरे भाइ, मजाक हो । तर पनि कुरोमा दम छ ।” सिन्हाले भन्यो ।

“कसरि?”

” अरे, हाम्रा अहिलेका नेताहरु हेर्नोस न । कुनै दिन त तिनीहरु कार्यकर्ता थिए। पार्टीले यस्तै टेस्ट लिएर त सदस्यता दिएका होलान । पार्टीले अर्डर दियोप्रदर्शन गर्न, तोडफोड गर्न– कहिले कता पूल तोडिदिए, कतै स्कूल भत्काईदिए। जति तोडफोड गर्यो, पछि उत्ति ठूलो नेता! बुद्धि भएकाहरु त फेल भएरबसेका छन् जीवनमा ।“सिन्हालाई मैले एउटा हल्का–फुल्का, मौज–मस्तीकिसिमको मान्छे भन्ठानेको थिएँ । यो सुन्दा उ भित्र तुफान चलिरहेको रहेछभन्ने बुझें ।

फेरि नेपालमा इन्टरमिडियट पढ्दाको एउटा साथी  सम्झें । उसको अनुहार, जिऊडाल एकदमै राम्रो, फूर्तीफार्ति त्यतिकै थियो । साथीहरु संग खुवैरोमान्टिक कुरा गर्थ्यो । तर कहिलेकाँही म संग गम्भीर कुरा पनि गर्थ्यो ।नवयुवतीहरुको आकर्षण अझै भनौं मुटुको धड्कन नै थियो । तर त्योएकाएक हरायो । पछि सुनियो आर्मीमा गयो रे ।

भारतमा चार बर्षको अध्ययन सकेर म नेपाल फर्किएँ । बस्दा बस्दा दुई बर्षगएको पनि पत्तै भएन । स्कुल–कलेजका साथीहरु आ–आफ्ना दुनियाँमाहराएका थिए । जागिरे साथीहरुसंग  घुलमिल त हुन्थ्यो तर आत्मियतागाँसिदैनथ्यो । बिद्यार्थीकालनै जीवनको स्वर्णयुग भन्ने भनाइ ठिकलागिरहन्थ्यो । एक दिन घरमा एउटा चिठी आयो । चिठी खोलेर हेरें । त्यहिइन्टरमिडियट पढ्दा आर्मीमा गएको साथीको चिठी थियो । चिठीमा हामीचार–पाँचजना साथीहरुलाई यहि २५ गते शुक्रवार  पाँच बजे साँझरानीपोखरीको बारसँगै जोडिएको “क्याफे डि पार्क“मा आउनु, हामी भेटौं नभनेको रहेछ । हुलाक विभागको साम्राज्य भएको जमाना थियो । “पर्सी पोरहेछ, धन्य, हुलाक विभागले आफ्नो धर्म निभाएछ” भन्ने लाग्यो |“क्याफे डिपार्क“ त्यो बेलाको चल्तीको रेस्टुरा थियो । हामी कलेज छुटे पछि त्यहिजम्थ्यौं  –प्रत्येक शुक्रवार।

दुई दिन पछि  शुक्रवारका दिन उही पुरानो रेस्टुरामा इन्टरमिडियट पढ्दाका‘लम्फु‘ साथीहरुलाई भेट्दा हुने आनन्द सम्झिँदा  मन पुलकित भैरहेको थियो। को कस्ता भए, के के भए होलान भन्ने कुरा मनमा खेलिरहेको थियो । त्योआर्मीमा गएको साथी ठुलै हाकिम भयो होला भन्ने पनि लागिरहेको थियो ।

निर्धारित समय भन्दा अगाडिनै पुग्ने आफ्नो चरित्र अनुसार शुक्रवारका दिन मरेस्टुंरामा पुगेँ । हामीहरु बस्ने गरेको पुरानै ठाउँमा गएर बसेँ । साथीहरुआईपुगेका थिएनन । यत्रो ६ – ७ बर्ष  बितिसक्दा पनि  रेस्टुंराको सवै कुराउस्तै थियो । पुरानो सम्झनामा हराइरहेँ । यतिकैमा एउटा लामा लामा दाह्री, कपाल पालेका, गेरुवा बस्त्रधारी बाबा  रेस्टुंरा भित्र पसिरहेको देखेँ ।आँखाउतै केन्द्रित भयो । आजकल यो रेस्टुरामा बाबाहरु पनि आउन लागेछनभन्ठानें । ती बाबा त मेरै टेबुलको छेउमा आएर उभिए । अनि भने – ” अरेमित्र, चिन्नु भयो ?”

“अहँ” मैले भने ।

“म दिनेश ”  बाबाले भने ।

“ओहो ! दिनेश जी, बसौं न ।“ मैले भने

मेरो दिमाग ३६० डिग्रीमा घुमिसकेको थियो । तर आफुलाई सम्भालें ।“मान्छेको जिन्दगी हो, के के पर्छ” भन्ठानें ।

“अनि कसरि? मैले आश्चर्य मानेर भनें ।

“अरु मित्रहरुलाई आउन दिनोस, त्यहि बेला कुरा गरौंला नि ” उसले भन्यो ।तर उसको चालामाला देख्दा मैले अव उसलाई “दिनेश” भन्ने होइन “गुरुजी” भन्न पर्छ कि भन्ने सोचिरहेको थिएँ । कता “ए मुला” भन्ने किसिमको मित्रताकहाँ पुगिसकेको थियो । केहि बेर पछि हामी पाँचै जना साथीहरु जम्मा भयौं। सवै त आश्चर्यचकित थिए नै । अनि एउटा साथीले भन्यो – “दिनेश गुरु, सुनाउनुहोस न आफ्नो कथा “

“हस, मित्रहरु । म लामो भन्न चाहन्न । एकदमै छोटकरीमा भन्छु । मआर्मीमा गएको सम्म तपाईंहरुलाई थाहै छ । आर्मीमा तालिमको क्रममामलाई लाग्यो – म शारीरिक तथा मानसिक रुपमा यसको लागि योग्य छैन ।मलाई मन लागेन । अनि मैले आफ्नै किसिमले छोडिदिएँ । आर्मीको नियमअनुसार त्यसो गर्न पाइँदैन थियो । समातिने डरले म भेष बदलेर दिल्ली पुगेँ ।दिल्लीमा केहि दिन बस्दा मलाई जिन्दगीको बिभिन्न रुप–रंग छर्लंङ्ग भयो ।कहाँ काठमाडौँको सुख–सयलमा हुर्केको म, कहाँ यस्तो परिस्थितिमाआइपुगें भनेर छटपटी भैरहन्थ्यो । तपाईंहरुको सम्झना त्यतिकै आउँथ्यो ।भट्टामा पोलिन लागेको काँचो ईट्टा जस्तै भैरहेको थिएँ म । धेरै लामो कथा–व्यथाहरु छन् । अव तिनीहरुलाई मैले एक किसिमले भस्म गरिसकेको छु ।दिल्लीबाट  मथुरा–वृन्दावन गएँ । एक आश्रममा एक गुरुजी भेटिनु भयो ।त्यस पछि उहाँकै सानिध्यमा पाँच बर्ष बिताएँ । उहाँले मलाई दिक्षित गर्नुभयो। अहिले नेपाल आउने मौका मिल्यो । पुराना मित्रहरुलाई भेट्न मन लाग्यो ।मेरो पुरानो डायरीमा ठेगानाहरु थियो । त्यहि नै मेरो सम्पर्कको माध्यमभएकोले चिठी पठाएँ र आज भेट गर्न पाइयो ।“उ संग छिल्लिएर बोल्नेवातावरणनै थिएन । एकदम अनुशासित भएर हामीले उसका  जग रजगतका, भित्री संसार र बाहिरी संसारका, माया–मोह, तृष्णा, लोभ–लालचआदिका , जीवनको उद्देश्य र मुक्तिका कुराहरु सुनिरह्यौ । अचम्म लाग्दथ्योकलेजको त्यस्तो “रोमान्टिक” केटो यस्तरी बदलिएको देख्दा ।

 

उसको कुरो सुनिरहँदा “रुम पार्टनर” सिन्हाको याद आयो । कता होला उआजकल? आफ्नो रहर अनुसार इन्डियन आर्मीमा पायो होला त? या पाएरपनि दिनेशको जस्तै भएर हरिद्वार–ऋषिकेश तिर पो पुगेको छ कि? यस्तैसोच्दै गर्दा ” ल, अव जाऔं” भनेर साथीहरु उठे ।

ढोकाबाट निस्केर सोह्र हाते गणेशको मन्दिर छेऊ उभिएर एकछिन हामीलेदिनेशसंग छुट्टिने बेलाको कुराकानी गर्यौं ।

“कहाँ बस्नुहुन्छ गुरु? मेरै घर जाऔं न त । जति बस्न मिल्छ बस्नु होला ।” एक जना साथीले भन्यो ।

“धन्यवाद मित्र । म पशुपति मृगस्थलीको आश्रममा बस्छु। हाम्रो टोलीनैत्यहाँ बस्छ । एक दुई दिन पछि हामी सवै गोसाइकुण्ड जानेछौ । मित्रहरुलाईभेटन पाउँदा धेरै खुशी लाग्यो । हस त बिदा भएँ , प्रणाम ।” उसले भन्यो ।

“प्रणाम गुरु ” हामी सवैले एकै स्वरमा भन्यौ ।

छेउमै रहेको फुटपाथे पत्रिका पसलमा रेडियो बजिरहेको थियो । एकाएकसदाबहार किशोर कुमारको गाना आयो –

“जिन्दगीका सफर

है ये कैसा सफर

कोहि समझा नहीं

कोहि जाना नहीं …”

मनमा आयो – “के थाहा? भोली आफु पनि त्यस्तै बाबा बन्न पुगिन्छ कि !“

 

 

बेडफोर्ड, टेक्सास

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected