त्यस्तो नहोस !
कम्पुटर खोल्यो, आँखा आफ्नै देशको समाचार तिर जान्छ । जिज्ञासा झन् बढ्छ । अनि झनै फेसबुक र युट्युब हेर्न पुगिन्छ । लाग्छ – देशका दिग्गज, युगद्रस्टा, अगुवा भै टोपलेकाहरु सस्तो मनोरंजन तथा गालीगलौजका भाषा अनुशरण गर्दैछन । आफु पनि निर्वस्त्र भएको होश नभएर अर्कोलाई मात्रै निर्वस्त्र देख्दैछन ।
धेरै बर्ष पहिले कतै पढेको थिएँ – पात्र र पात्रताको भेद बारेमा । कुरो बुझाउन दिएको उदाहरण यस्तो थियो – भगवानलाई जल राख्ने तामाको ‘अम्खरा’मा मूत्र राखे पछि भाँडो (पात्र) त्यहि भए पनि त्यसले जल राख्ने पात्रता गुमाउँछ ।
संसारमा धेरै शक्तिशालीहरुले समयमै यस्तो पात्रता गुमाएको कुरो चालै पाएनन् । आफु बिहानै खोलाको किनार तिर लगिने लोटाको हैशियतमा पुग्दा पनि पवित्र जल-पात्र भइ नै रहेको भ्रममा रहे । बहुसंख्यकले खुट्याईदिए पछि मात्रै आँखा अलिकता खुल्यो होला तिनीहरुको । तर समय फर्काउन वा आफ्नो पात्रता पुन: कायम गर्न सकिने भए पो ! अनि हविगत सवैले देखेकै हुन् । कामना छ – यता त्यस्तो इतिहास नबनोस ।
पिर लाग्छ – टाढा भए पनि । आफु मात्रै जान्ने, सुन्ने, बाठो-टाठो, यो गर्छु त्यो गर्छु भनेर कुर्लिएको धेरै भैसक्यो । “खुट्टी देखियो, कुरो बुझियो |” त्यसैले धेरै नखोकौं । हामीले राम्रा राम्रा सकारात्मक कुराहरु भएको हेर्न पाइयोस, सुन्न पाइयोस । मुड्की बजार्न त के गाह्रो छ र हो ! गाली-गलौज गर्न त् झन… । “के लाई भन्दा के लाई लाज” भने जस्तो भै सक्यो ।
तपाईंहरु सवैले कुरो बुझिहालिसक्नु भयो । हलेदो भनेर सबैले चिनिसके पछि मलाई कोट्याएर देखाउन मन लागेन । समयमै बुझ्नु पर्नेले कुरा नबुझे वा बुझ पचाए “‘जेठा मामाको त्यो गति, कान्छा मामाको भांग्राको धोती” भने जस्तो हुने हो कि ढिलो-चांडो ! सके सम्म त्यस्तो नहोस । कति दु:ख-पीडा सहेर हामीले बनाएको तिनीहरुलाई – बुद्धि बिग्रेको देख्दा मन कटक्क हुन्छ । घरि घरि बनाइरहन सकिदैँन । दिनभरि हराएर पनि साँझमा बुद्धिमान भएर फर्के बूढी आमाले माफ गरिदिन्छिन । तर धोकेर फर्किए … !
सद्बुद्धि आवस् चाँडै ।