अमेरिका– कृष्ण लामिछाने अमेरिकाको टेक्ससमा बस्छन् । उनलाई सबैले ‘कृष्ण दाई’ भनेर संबोधन गर्छन । लामो समयदेखि टेक्ससमा बसेर सामाजिक अभियानमा दिलो ज्यान दिएर लागेका लामिछानेले अन्ततः गैरआवासिय नेपाली संघ एनआरएनए अमेरिकाको अध्यक्षमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् ।
उनले चुनावी नारामा एनआरएनएलाई आसन र भाषण ग्रहण भन्दा पनि सबै गैरआवासिय नेपालीको सुख र दुःखको सारथी बनाउने आफनो मुल एजेन्डा बोकेर मैदानमा उर्तिएका छन् ।
उनले चुनाव जितेको दुई वर्ष पुर्ण रुपमा एनआरएनए अमेरिकालाई आफनो समय खर्चिने बाचा समेत गरेका छन् ।
दुई दशक देखि अमेरिकाको टेक्ससको ड्यालसमा बसेर नेपाली समाजको हक र हितका लागी निरन्तर लागीरहेका लामिछानेले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन ।
लामिछानेले अमेरिकामा नेपाली समुदायमा मर्दा र पर्दा तथा अन्य समस्यामा सधै अगाडी बढेर सहयोगका लागी अग्रसर हुने व्यक्तित्वको रुपमा परिचित मानिन्छन् ।
टेक्ससमा बसेर व्यवसाय संगै सामाजिक गतिविधीमा सक्रिय शालिन र शान्त व्यक्त्विको रुपमा चिनिएका लामिछानेको उम्मेदवारीले सबैले चासोको रुपमा हेरेका छन् । ‘मैले लामो समय देखि अमेरिकामा बसेर सामाजिक स्वयसेवीको रुपमा कार्य गरेको कुरा आम नेपालीमा सर्वविदितै छ’ युएसनेपाल पोष्टसंगको कुराकानीमा लामिछानेले भने– ‘यसैले पनि म आगामी निर्वाचनका लागी एएटा बलियो उम्मेदवारको रुपमा खडा भएको छु ।’
उनले एनआरएनए अमेरिकालाई साचो रुपमा विशुद्ध सामाजिक संस्था बनाउन मेरो उम्मेदवारी हुने मेरो एउटा प्रमुख कारण हुने बताए ।
लामिछाने यस अघि एनआरएनए अमेरिका तथा आइसिसीका विभिन्न पदमा रहेर काम गरिसकेका छन् । उनी २००७ मा आइसिसीको दोहोरो नागरिकता समितिको सदस्य थिए । त्यस्तै आइसिसीको नेपाली भाषा सािहत्य समितिको संयोजक, आइसिसीको मानार्थ सदस्य तथा एनआएरए अमेरिकाको बोर्ड अफ डाइरेक्टर भएर काम गरिसकेका छन् । २००५ देखि नेपाल डेमोक्रेटिक फोरम, ड्यालसको अध्यक्ष हुदै सामाजिक संघ संस्थामा लामिछानको अग्रसरता बढेको हो ।
जनसम्पर्क समिति अमेरिका स्थापनामा पनि उनको भुमिका अगाडी छ । उनी सहित केही समुह मिलेर जनसम्पर्क समिति अमेरिका स्थापना गरे । जसको उनी संस्थापक महासचिव पनि हुन । जनसम्पर्क समितिको कागजात सबै अहिले पनि उनीसंगै छ ।
त्यस्तै २००९ मा उनी ड्यालस एभरेष्ट लायन्स क्लबको सभापति भए । सिएनएन हिरो पुष्पा बस्नेतको क्याम्पियन पनि उनको नेतृत्वमा त्यतिबेला चल्यो । त्यो बेला उनले प्रेसिडेन्टल अर्वाड पनि पाए । उनकै कार्याकालमा किताब पनि निस्कियो । त्यतिबेला लायन्स क्बलको अधिक ५२ जना सदस्य थिए । उनको कार्याकालमा नेपालमा ५० हजार डलर सहयोग पनि भयो ।

नेपालीहरुको छाता संगठन नेपाली समाज टेक्ससको यहा“ आएदेखि नै उनी सक्रिय रहे । नेपाली पाठशाला र समर क्याम्प चलाए । नेपाली समाजको २०१३ देखि २०१५ सम्म सदस्य भए । २०१५ देखि २०१७ सम्म अध्यक्ष भएर काम गरे । उनको कार्यालयमा नेपाली समाज टेक्ससको तर्फबाट उल्लेख्य काम भए । नेपालमा १२ वटा स्कुलहरु निर्माण भए ३२ लाख खर्चेर विद्यालय निर्माणमा । व्यक्तिगत रुपमा उनको पहलमा नेपालमा गरीब जेहन्दारलाई छात्रवृत्ति देखि अन्य धेरै सहयोगहरु भएका छन् । अमेरिकामा कोही आपत पर्दा उपचार नपाउदा सहयोग जुटाउन सधै उनी अग्रसर हुन्छन् । अरुलाई पर्दा ज्यान दिएर उनी लाग्ने गर्छन ।

के छ उनकाे प्रतिबद्धता ?

मेरो योजना मेरो प्रतिवद्धता
मेरो उम्मेदवारी घोषणा कार्यक्रममा उपस्थित आदरणीय आमा–बुबा, दाजुभाई दिदीबहिनीहरु ।
म कृष्ण लामिछाने, नेपालमा गोरखा जिल्लामा जन्मिएर जीवनका केही क्षणहरु राजधानी काठमाडौंमा पेशा र व्यबसायको सिलसिलामा बिताएँ । विगत झण्डै २० वर्षदेखि अमेरिकाको डालसलाई कर्मभूमी बनाएर व्यबसाय र समाजलाई परिआएको सहयोग गर्दै आएको व्यहोरा उपस्थित तपाईहरु सबैमा अवगत भएकै विषय हो ।
डालस एभरेष्ट लायन्स क्लबको बिभिन्न पदहरु, नेपाली समाज टेक्ससको अध्यक्ष हुँदा मैले यो क्षेत्रमा आफ्नो क्षमताले भ्याएसम्म गरेको सहयोग पनि कसैबाट छिपेको छैन । तपाईहरु सबैको मूल्यांकनमा ‘मर्दा र पर्दा कृष्ण लामिछाने’ हुन सकेँ । त्यो मेरा लागि आफूले प्राप्त गरेको गहनाका रुपमा मैले लिँदै आएको छु ।
नेपालीहरुलाई आपत विपद् पर्दा, निधन हुँदा आवश्यक सहयोग देखि लिएर रोजगारीका लागि मैले सहयोग गर्दै आएको छु ।
सन् २०१७/१९ को अवधिमा मैले गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको बोर्ड मेम्बर भएर संस्थाको पारदर्शीताका विषयमा मुद्धाहरु उठाउँदै आएँ ।
मेरो दुई दशकको अमेरिका बसाई र बिभिन्न संस्थाहरुमा रहेर नेतृत्व प्रदान गरिसकेको मेरो अनुभवले मलाई एक पटक एनआरएनए अमेरिकाको नेतृत्व गरेर अमेरिकामा रहेका नेपाली समुदायलाई योगदान गर्ने मेरो चाहना रहेको छ । यसका लागि तपाईहरु सबैको साथ र सहयोग मलाई जरुरी रहेको छ । मैले कहिल्यै पनि सामुदायीक कामका अघिल्तिर आफ्नो व्यक्तिगत कामलाई प्राथमिकतामा राखिन । आउँदा दिनहरुमा पनि समाज, समुदायनै मेरा लागि प्राथमिकतामा रहने विषयहरु हुनेछन् ।

अब म लामो भूमिका नबाँधी मेरा कार्ययोजना प्रस्तुत गर्न चाहन्छु ।
१) सहभागिता वृद्धि गर्नेः
एनआरएनए अमेरिकामा म निर्वाचित भएँ भने महिला र युवाहरुको सहभागिता कम्तिमा एक तिहाई गर्न मेरो पहल रहनेछ । किनकी समाजको आधा हिस्सा रहेको हाम्रा आमा, दिदी बहिनीहरुलाई हामीले यो संस्थामा सदस्य बन्नदेखि लिएर सहभागिताको क्षेत्रमा प्रोत्साहन गर्न जरुरी छ । त्यस्तै युवाहरुले हामीभन्दा धेरै बुझेका, जानेका छन् । उनीहरुको सहभागिता बढाउँदै जाँदा एनआरएनएले अझै गति लिने र आकर्षण बढ्ने निश्चित छ ।
२) सामुदायीक केन्द्र/पाठशालाः
अमेरिकाका धेरै शहरहरुमा नेपालीहरुको संख्या व्यापक रुपमा बढिरहेको छ । यही सन्दर्भमा ती स्थानहरुमा सामुदायिक केन्द्र निर्माण गर्नका लागि एनआरएनए अमेरिकाले विशेष सहयोगको नीति मेरो कार्यकालमा लिनेछ । त्यस्तै हाम्रा बालबालिकाहरुलाई नेपाली भाषा, नैतिक शिक्षा अध्ययन, अध्यापनका लागि पाठ्यक्रम तयार भैसकेकोले त्यस अनुसार शिक्षकहरुलाई तालिम, कक्षाहरु सञ्चालनमा पनि सहयोग गर्ने मेरो योजना रहेको छ । संभव भएसम्म ती पाठशालाहरुमा समर क्याम्प सञ्चालन गर्न सहयोग गर्नेछु ।
३) एनआरएनए अमेरिकाको लागि एउटा सचिवालयको स्थायी व्यबस्था गर्नेतर्फ म केन्द्रित रहेनेछु । त्यसका लागि एकजना पूर्णकालिन कर्मचारी राखेर नेपालीहरुमा सेवा पु¥याउने मेरो योजना रहेको छ ।
४) हामी अमेरिकामा बसेकाहरुबीच पनि नेपालको भूगोल, राजनीतिका आधारमा विभाजन छ । यसलाई रोक्न जरुरी भैसकेको छ । हामी अमेरिकामा बस्नेहरु अमेरिकन नेपाली हौँ भन्ने भावना सबैमा जागृत गराउन मेरो पहल रहनेछ ।
५) जे निर्णयहरु गर्नुपर्दा पनि सहमति र सहकार्यको अवधारणालाई कार्यान्वयन गर्नु मेरो मुल लक्ष्य रहनेछ । सामाजीक कार्यमा एक इन्च पनि कसैले व्यक्तिगत र संस्थागत रुपमा औँला ठड्याउने वातावरण मैले दिनेछैन ।
६) च्याप्टरहरुलाई बलियो बनाउनु मेरो मुख्य योजना रहेको छ । त्यसका लागि च्याप्टरका अध्यक्षहरु एनआरएनए अमेरिकाको पदेन बोर्ड अफ डाइरेक्टर हुनेगरि विधानमा आवश्यक संशोधनको प्रकृया अघि बढाउनेछु । किनकी च्याप्टर बलियो भयो भने एनआरएनएको भूमिका अझै बलियो र प्रभावकारी हुन्छ भन्ने मेरो बुझाई छ ।
७) मैले एनआरएनए मार्फत अमेरिकामा रहेका नेपालीहरुका लागि सामुहिक जीवन तथा स्वास्थ बीमाको क्षेत्रमा कार्यक्रम अघि बढाउने योजना लिएको छु । यसबाट समुदायका सदस्यहरुमा आपत पर्दा ठूलो भरथेग हुनेछ ।
८) मेक्सिको हुँदै अमेरिका प्रवेश गरेका नेपालीहरुका लागि आवश्यक पर्दा सहयोग गर्ने योजना पनि बनाएको छु । यसका लागि अध्यागमन कानुनका जानकार वरिष्ठ अधिवक्ताहरुको एउटा रोष्टर समुह तयार पारेर अघि बढ्नेछु ।
९) एनआरएनए अमेरिकाको एउटा आपतकालिन कोष अघि बढाउने मेरो सोच छ ।
१०) अमेरिका र नेपालबीच व्यापारका थप क्षेत्र पहिचान, नेपाली बस्तुको प्रवद्र्धनका लागि आफ्नो कार्यकालमा विशेष कार्यक्रम गर्ने सोच बनाएको छु ।
११) अमेरिकामा रहेका नेपाली डाक्टरहरुको रोष्टर तयार पारेर बिभिन्न शहरहरुमा नियमित निशुल्क स्वास्थ शिविर सञ्चालन गर्ने मेरो सोच रहेको छ ।

तपाईहरुको साथ र सहयोगले म विजयी हुनेमा ढुक्क छु । एक पटक फेरि तपाईहरुले कृष्ण लामिछानेलाई माया, सद्भाव दिनुपर्ने बेला आएको छ । मैले विगतमा नेपाली समाज टेक्सस मार्फत गरेको सेवालाई अमेरिकाभरि रहेका नेपाली समुदायमा पुग्ने मेरो चाहनालाई यहाँहरु सबैको सहयोग चाहिएको छ ।
एनआरएनएलाई बलियो, युवाहरुको वाहुल्यता रहेको, मर्दा र पर्दा सबैले नाम लिने साझा संस्थाका रुपमा चिनाउनु मेरो मुख्य योजना रहेको छ । त्यसमा तपाईहरु सबैको साथ र सहयोग चाहिएको छ ।

विनित,

कृष्ण लामिछाने
डालस, टेक्सस
मार्च ७, २०२१

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected