मनाङको मस्र्याङ्दीमा ट्रक खस्दा एक परिवारका तीनसहित पाँचको मृत्यु’

मनाङः हिमालपारीको जिल्ला मनाङमा ट्रक दुर्घटनाग्रस्त हुँदा एकै परिवारका तीनसहित पाँच जनाको मृत्यु भएको छ । आवरआेल न्यूज़ डटकमका अनुसार लमजुङको बेशीशहरबाट आठ यात्रु र सिमेन्ट बोकेर चामेतर्फ जाँदै गरेको ट्रक शनिबार दिउँसो नासो गाउँपालिका स्थित खोत्रोस्थित मस्र्याङद्ी नदीमा खसेर दुर्घटनाग्रस्त बनेको थियो ।
ध १ ख ५९२ नं. को ट्रक मनाङको नासों गाउँपालिका ३, खोत्रोमा सडकबाट करिब ४५ मिटर तल मस्र्याङ्दी नदीमा खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुई जनालाई उद्धार गरी उपचारका लागि अस्पताल लग्दै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परेर मृत्यु हुनेहरुमा मनाङको नासों गाउँपालिका ४, ओडार गाउँका अन्दाजी ७ वर्षीय लिउन गुरुङ, ३५ वर्षीया मनिषा गुरुङ र २६ वर्षीया जलकाशी गुरुङ छन् । मृतक लिउन मनिषाको छोरा हुन् । मनिषा र जलकाशी दिदीबहिनी हुन् । घाइते ५ जनामध्ये ट्रकका सहचालक लमजुङको मस्र्याङ्दी गाउँपालिका ५, घेर्मु खोरियाखेतका २१ वर्षीय लक्ष्मण नेपाली र चामे गाउँपालिका ४ का २८ वर्षीय राजु विकलाई उपचारका लागि ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।
लमजुङ जिल्ला अस्पतालमा लाने वित्तिकै नेपाल र विश्वकर्मालाई चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
मनाङका डीएसपी सुवास खड्काले सिमेन्ट बोकेर जाँदै गरेको ट्रक उकालो चढ्ने क्रममा अनियन्त्रित भइ ‘ब्याक’ हुँदा सडकबाट करिब ४५ मिटर तल मर्स्याङ्दी नदी किनारमा खसेको बताए । दुर्घटनामा ट्रकका चालक लमजुङका सुमन तामाङ, सहचालक लक्ष्मण नेपाल, नासों गाउँपालिका अन्दाजी ७ वर्षीय थिउन गुरुङ, ६ वर्षीय निहल र चामे गाउँपालिका ४ का २५ वर्षीय धनमान विश्वकर्मा रहेका छन् । शनिबार दिउँसो करिब साढे ३ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनाका घाइते भएकालाई उपचारका लागि बेंसीसहरस्थित जिल्ला अस्पतालतर्फ पठाइएको छ । मृतक ३ जनाको पोस्टमार्टमका लागि जिल्ला अस्पताल मनाङमा पठाइएको प्रहरीले जनाएको छ ।
मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।