गफको डंका पिट्न सजिलो छ नि, नेपालमा यो भएन, देश बिग्रयो, नेपालीको सोमत छैन भन्दै , तर जे होस आज एउटा सत्य उदांगो भएको छ, नौटंकी बिटाले संस्कार सिकाउदैन ।

काठमान्डौको ह्यात होटलमा एनआरएनएको सम्मेलनमा केही सहभागीहरु तोडफोडमा उर्तिदै ताण्डव नृत्य देखाएपछि चर्चित टेलिभिज कार्यक्रम प्रस्तोता समा थापाले फेसबुकमा यस्तो स्टाटस अपलोड गदै एनआरएनको बारेमा टिप्पणी गरिन ।
यस्तो टिप्पणी उनले मात्र हैन देश विदेशमा बस्नेहरुले गरेका छन् । एनआरएनको यो अराजक जंगल प्रवृत्तिको सामाजिक संजालभरी पनि विरोध उर्लिएको छ । एनआरएन सम्मेलनमा देखिएको यस्तो अभद्र प्रदर्शनले सिंगो मुलुकमा एनआरएनको राष्ट्रीय बदनाम भएको छ । यसले एनआरएन प्रतिको जनमानसमा वितृष्णा पलाएको छ । एनआरएनको भित्रका खराब प्रवृत्तिको चर्का टिप्पणीहरु भएका छन् ।

विदेशमा बसेर सभ्यता सिकेका भनिएकाहरुको यो हर्कतले आफनो श्रमका लागी परदेशमा बस्नेहरुको समेत शिर निहुराएको छ । हुलदंगा र कुर्सि टेबल, सिसा तोडफोड गदै अराजकता देखाएकाहरुले एनआरएनको गिरेको शाखलाई झनै रसतालमा पु¥याइदिएका छन् । एनआरएन भनेर शिर ठाडो पार्न समेत लज्जित बनाएको छ ।
त्रिभुवन विमानस्थल प्रवेश गरदेखि सुरु भएको एनआरएनको गाइजात्रा सम्मेनल स्थल हयात होटसम्म उस्तै रहयो । अष्टेर्लियाबाट  आएका केही सभ्य एनआरएनएले लाइनमा बस्नु परेका भन्दै अध्यागमनमा वितण्डा देखाए । डेस्क तोडफोड गरे । बोतल हानाहान गरे । यो अराजकता विमानस्थल हुदै सम्मेलन स्थलसम्म झनै फैलियो । सुरुमा प्रतिनिधी विषयमा विवाद भयो । पक्ष र विपक्ष बनेर दंगा सृजना गरे । नाराजुलुस र हुलदंगाले एनआरएनको सम्मेलन नभएर कुनै विरोधसभा जस्तै प्रतित हुन्थ्यो । कुनै हुलदंगा सभा जस्तो प्रतित हुन्थ्यो । ठेलम्म ठेल र नाराजुलुसले सम्मेलन स्थल रणभुमि जस्तै बन्दै गएको फेसबुक लाईभ  हेर्दा लाग्थ्यो यो एनआरएनको सम्मेलन हुदै हैन । यो कुनै अराजक सभा हो । मतदान समयमा सुरु नहुनु र भएपछि पनि तत्कालै स्थगन हुदा अराजक भीड झनै जोशियो ।

पैसा फिर्ता माग्दै चर्का नाराबाजी लगाउने देखी एनआरएन मुर्दाबाद सम्मको नारा लगाउन पनि केही ले भ्याए । जब की उनीहरु आफै एनआरएनको प्रतिनिधी भएर आएका थिए । एनआरएनको जथ्थाले ह्यात होटल परिसरलाई अस्तव्यस्त बनाएको थियो । होटलको सम्पत्ति समेत तोडफोड गर्याे । भीड र अराजकताले उग्र रुप लिएपछि प्रहरी आएर सभ्य भनिएका एनआरएनका प्रतिनिधीलाई लाठी लगाउनु प¥यो । होहल्ला र जंगली शैलीले सम्मेल स्थल तनावग्रस्त बन्न पुग्यो । प्रहरीलाई समेत पाखुरेहरुलाई तह लगाउन हम्मे प¥यो ।
आखिर विदेशमा वर्षो बसेर एनआरएनमा लागेका लठयैतहरुले यस्तो हर्कत देखाएर के सिके त आखिर ? सभ्यता, अनुशासन र देश प्रतिको दायित्व यही हो त । विदेशमा बसेर सिकेको अनुशासन यस्तै रहेछ । नेपालमा रहदा जे शैली र प्रवृत्ति थियो, वर्षो विदेशमा बस्दा पनि ज्युका त्यु रहेछ । परिवर्तन केही देखिएन । जहा गए पनि आफनो पारा देखाउने उखानलाई उनिहरुले चरितार्थ पारे । एनआरएनको सम्मेलनमा देखाएको यो लज्जास्पद शैली र प्रवृत्तिले छर्लङ्ग पारेको छ । यो प्रवृत्तिलाई यदि उनिहरुले बहादुरी ठान्छन् भने त्यो उनिहरुको महाभुल हुनेछ ।
नेपालमा यसो गर्छु उसो गर्छु भनेर गफ अब नलडाए पनि हुन्छ । एनआरएन सम्मेलनमा देखिएको यो नौटकी पाराले सबैलाई चेत गराइसकेको छ । केही पात्रका कारण सिंगो एनआरएनलाई यसले बेइज्जत मात्र गरेको छैन, एनआरएनको औचित्य माथि नै प्रश्न चिन्ह खडा गराएको छ । नेपाल सुध्रिन, नेता सुध्रिएन भनेर खोक्नेहरु अहिले यस्तै व्यवहारले आफै नांगिएका छन् । एनआरएका नेता भन्नेहरुले भीडलाई काबुमा राख्न सकेनन् । गुटउपगुट बनाएर झनै आगोमा घिउ थप्ने काम भयो । यो दुई चारले गरेको वितण्डाले सिंगो विदेशमा बस्ने एनआरएनलाई बदनाम बनाएको छ ।

नेपालमा लगानी र सिकेको सिप सिकाउने भन्दै चर्का नारा ओराल्नेलाई यसले राम्रो संग पाठ पढाएको छ । नेपालको प्रणाली र नेतालाई गाली गर्नु भन्दा अगाडी आफनो आचारण र व्यवहार सुधार्ने तर्फ लाग्ने हो की । नेपाल र नेपालीलाई हमेशा गाली गरेर नथाक्नेहरुले व्यवहारमा कति सभ्य रहेछ भन्ने कुरा यो घटनाले अझै छर्लङ्ग भएको छ ।

खास गरी एनआरएन सम्मेलनमा विवाद र हुलदंगा हुनुको मुख्य जड नै एनआरएन भित्रको राजनिति नै हो । सबैको साझा एनआरएन भनिए पनि यो काग्रेस र कम्युनिष्टको इसारामा चलाइएको संस्था हो । यी दुई को ठकराव नै सम्मेलन स्थलमा नाराबाजी, विरोध र तोडफोडको अवस्था सृजना गरायो । अराजकताको जड मध्ये एउटा एनआरएन भित्रको राजनिति पनि हो । बाकी एनआरएनका भित्रका अव्यवहारिक र असभ्यताले ग्रस्त भएका अराजक भीडको धौतक हो । यो नागो नाचले एनआरएनको असली रुप जनमानसमा छर्लङ्ग पारिदिएको छ ।
यो असभ्यताको पराकाष्ठको जति नै निन्दा गरे पनि थोरै हुन्छ । यस्तो लफडा सृजना गरिराख्ने हो भने यो एनआरएन केका लागी र कसका लागी ? पैसावालका लागी मात्रै समाजमा आफनो परिचय बनाउन खोलिएको यो एनआरएन विदेशमा बस्ने सबै तह र तप्काका लागी हुनै सकेको छैन । दुई चार डलर पाउन्ड कमाएकाहरुले हाकीरहेको यो एनआरएन कहिले सम्म यस्ता ताण्डव नृत्य देखाएर जुग हसारहने हो ।

पार्टिको राजनितिक अखडा बनाइएको एनआरएनलाई जहिलेसम्म स्वतन्त्र संस्थाको रुपमा खडा गरिदैन, तव सम्म यो जंगली प्रवृत्तिले मुक्ति पाउनेछैन । राजनिति नै गर्ने हो भने एनआरएनमा नै किन लाग्ने । अरु पार्टि खोले भो । राजनितिको भूत नै चढेको हो भने स्वदेशतिर फर्केर राजनिति गरे पनि राम्रै हुन्छ । हैन भने एनआरएनलाई नारामा जस्तै सबैको साझा एनआरएन बनाउने हो भने यो चरम राजनितिक गुटबन्दीको अन्तय हुनैपर्छ । अन्यथा यो एनआरएन संस्थाको औचित्य र यो संस्था रहनु र नरहनुको कुनै अर्थ रहने छैन । बेलैमा चेतना भया ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected