टिपिएसको म्याद थपिएपछि नेपालीहरु उत्साही
अमेरिकी सरकारले टेम्पोररी प्रोजेक्ट स्टाट्स (टिपिएस) समयावधि थप गरेपछि यहाँ रहेका नेपालीहरु उत्साही भएका छन् ।
अमेरिकाको फेडरल रजिष्टरको कार्यालयले आफनो वेभसाईटमार्फत म्याद थपिएको जानकारी दिएपछि नेपालीहरुमा उत्साह पैदा भएको हो । अमेरिकाको डिपामेन्ट अफ होमल्यान्ड सेक्रेटरीले आगामी २०२१ जनवरी महिनाको ४ गते सम्मको लागी नेपाल सहित पाँच मुलुकको टिपिएस अवधि थप गरेको छ ।
नेपालमा २०१५ मा विनासकारी भूकम्पले नेपालमा ठूलो धनजनको क्षति पुगेपछि अमेरिकी सरकारले नेपालीहरुलाई वैधानिक रुपमा काम गर्ने र छोटो समयका लागी स्वदेश जाने अवसर स्वरुप टिपिएसको सुविधा दिएको थियो ।
टिपिएस भनेको दैविक प्रकोपमा परेको मुलुकका नागरिकलाई दिइने सुविधा हो । यसले वर्क परमिट र छोटो समयकालागी भए पनि घर जाने ट्राभल सुविधा दिन्छ ।
‘कानुनी रुपमा बस्न र काम गर्नका लागी यो प्रकृया नेपालीहरुका लागी सहज हुनेछ’ गैरआवासिय नेपाली संघ अमेरिकाका अध्यक्ष सुनिल शाहले भने– ‘यो कागजपत्र बिहिन नेपालीहरुका लागी लागी खुशीको कुरा हो । उनले यसले स्थायी रुपमा अमेरिकामा बस्नका निम्ति आवश्यक प्रकृयाका लागी भइरहेको कार्यक्रम र योजनाहरुमा संघको नैतिक सहयोग रहने बताए ।
कागजातबिहीन नेपालीहरुलाई सकिन लागेको टिपिएसको समयावधि थपिएपछि वैधानिक रुपमा काम गर्न पाइने आशाले धेरैलाई उत्साही बनाएको छ ।वर्क परमीट नहुँदा धेरैले आफूले भने जस्तो काम गर्न पाईरहेका थिएनन् । नेपालमा भूकम्पपछि नेपालीहरुलाई अमेरिकी सरकारले दिएको यो सुविधाले ग्रिनकार्ड नभएका र अध्ययनका लागी आएका विद्यार्थीहरुलाई राहतको अनुभव भएको थियो । अघिल्लो वर्ष टिपिएस सुविधा लिएपछि काठमान्डौका दिपेन सिलवालले राम्रै कामको अवसर पाएका थिए । केहि वर्षअघि विद्यार्थी भिसामा अमेरिकाको दक्षिणी राज्य टेक्सासको ड्यालस आएका उनी यो वर्ष म्याद थपिने नथपिने अन्यौलताले न्यास्रो मानिरहेका थिए । ‘म्याद थपिएपछि अब ढुक्कले काम गर्न पाइने भएको छ’ उनले भने– ‘हामी जस्तो विद्यार्थी भिसामा आउनेहरुलाई यसले ठूलो राहत दिएको छ ।’
यतिबेला टिपिएसको समय बढेपछि उनी जस्तै यहाँ पढ्न आएका नेपाली विद्यार्थीहरुमा उत्साह पैदा गराएको छ । त्यस्तै लामो समयदेखि बसेर ग्रिनकार्ड नभएकाहरुलाई समेत टिपिएसले वर्कपरमिट र छोटो समयका लागी भएपनि स्वदेश फर्कने सुविधा दिएको छ । पाँच वर्ष अघि मेक्सिको हुदै अमेरिका छिरेका गोरखाका एक युवा यो वर्ष टिपिएस फारम भरेर स्वदेश फर्केने सुरसारमा छन् । आफनो नाम उल्लेख नगरिदिने शर्तमा भने– ‘अघिल्लो वर्ष टिपिएसको अवसर लिन पाइन, यसपटक सुविधा लिएर कानुनी रुपमा काम गर्ने अवसरको उपभोग गर्नेछु ।’टिपिएस अवधी बढेपछि अमेरिकाका विभिन्न राज्यमा बस्दै आएका नेपालीहरुले सामाजिक संजाल मार्फतपनि खुशीयाली साटासाट गरेका छन् । टिपिएस नविकरण नभएको भए अवैधानिक रुपमा काम गरिरहेकाहरुले हात धुनु पर्ने अवस्था आउने चिन्ता उनिहरुले व्यक्त गदै आएका थिए । टिपिएस थपिने र नथपनिने अन्यौलतामा रहेकाहरुलाई पुन केही समयको लागी भए पनि राहत दिएको छ । टिपिएसको समयावधि बढाउन यहाँ रहेका नेपालीहरुले अभियान नै चलाएका थिए । हस्ताक्षर संकलन गदैं नेपाली दुताबास मार्फत दबाब सृजना गदैं आएका थिए । पर्यटक भिसा, कामदार भिसा र गैरकानुनी बाटो हुदै अमेरिका प्रवेश गर्ने र विद्यार्थीहरुले नै बढी मात्रमा टिपिएसको सुविधा लिएका छन् ।