नेपाल-अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सव जुन २२ देखि २५ हुने
अमेरिका, वासिङ्गटन डीसी-नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करण २०२३ जुन २२ देखि २५ सम्म आयोजना हुने भएको छ। अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल-अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ। वासिङ्गटन डिसी, महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने छैठौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सवसका लागि बिश्वभरीबाट आवेदन खुला गरिएको छ।
चलचित्र महोत्सवमा फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका चलचित्रहरू प्रदर्शन गरिनेछन्। नेपाल बाहेक अमेरिका, दक्षिण एसिया सहित विभिन्न देशका स्वतन्त्र सिनेमाहरू यस महोत्सवको उच्च प्राथमिकतामा पर्नेछन्। वासिङ्गटन डीसी, मेरिल्याण्ड र भर्जिनियाका स्थानीय चलचित्रकर्मीलाई प्रोत्साहन गर्न ‘डीएमभी क्लोजअप’ अन्तर्गत चलचित्रहरू प्रदर्शन हुनेछन्। स्थापना कालदेखि ‘ग्लोबल पिस फिल्म फेस्टिवल’ फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हुदै आएका चलचित्रहरू यो वर्ष पनि समावेश हुने जनाइएको छ।
“कोरोना महामारीपछि गतसाल अनलाइन र केही भौतिक रुपमा आयोजना भएको चलचित्र महोत्सव यो बर्ष भौतिक रुपमा नै आयोजना गर्न उत्साहित भएका छौं। यसले सम्पुर्ण दर्शक तथा सहभागीहरुमा मनोरञ्जन र ज्ञान आदानप्रदानको फरक अनुभूती गराउने छ।”- महोत्सवका निर्देशक युवाकर राजकर्णिकार भन्छन्।
अन्तर्राष्ट्रिय चलचित्रकर्मीको समितिले आवेदन परेका मध्येबाट उत्कृष्ट चलचित्रहरू प्रदर्शनका लागि छनोट गर्नेछन्। प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचित्रहरूलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ। महोत्सवको अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे ‘प्यानल’ छलफल तथा कार्यशाला समेत आयोजना हुनेछन् । चलचित्र प्रदर्शनपछि निर्देशक, निर्माता तथा कलाकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिने समेत आयोजकले जानकारी दिएका छन्।
आवेदनको लागि लिंक
https://filmfreeway.com/naiffmaryland