जीवनको बग्दो नदी र नारी-अनुभूतिका तरङ्गहरू

अमेरिकामा बसोबास गर्दै साहित्य, लेखन र सामाजिक चेतनाका विषयमा निरन्तर कलम चलाइरहेकी स्रष्टा भावना विष्ट नेपाली डायस्पोराका परिचित नाम हेा। प्रवासको व्यस्त जीवनका बीच पनि उहाँले नेपाली भाषा, साहित्य र समाजका विविध पक्षलाई आफ्ना लेखनमार्फत उजागर गर्दै आउनुभएको छ। उहाँले आत्मीयतापूर्वक उपहारस्वरूप प्रदान गर्नुभएको ‘संघर्ष’ कृति पढ्ने अवसर पाएँ। पुस्तकका पानाहरू पल्टाउँदै जाँदा यो केवल व्यक्तिगत भोगाइको अभिव्यक्ति मात्र नभई नेपाली नारीको जीवन, संघर्ष, अधिकार र सामाजिक यथार्थलाई गहिराइबाट प्रस्तुत गर्ने संवेदनशील दस्तावेजका रूपमा महसुस भयो।
पहाडको साँघुरो खोंच र भीरपहरा छाडेर समथर तराईमा शान्त बगिरहेको नदीलाई देख्दा लाग्छ— यसले कति धेरै उकाली–ओराली, जाडो–गर्मी र अनेकौं अवरोध पार गर्दै यहाँसम्मको यात्रा तय गरेको होला? भावना विष्टको ‘संघर्ष’ पढ्दै गर्दा लाग्छ, नारीको जीवन पनि ठ्याक्कै त्यस्तै एउटा नदी हो, जसले हरेक मोडमा आफ्नो रूप, गति र जिम्मेवारी परिवर्तन गर्दै निरन्तर बगिरहनुपर्छ।
लेखिका विष्टले आफ्नो अनुभवको क्यानभासमा नेपाली नारीको जीवनलाई अत्यन्तै मार्मिक ढंगले उतार्नुभएको छ। आमाको काखबाट सुरु भएको यात्रा बाल्यकाल, किशोरावस्था हुँदै अर्कैको घर (कर्मघर) सम्म पुग्दा नारीको जीवन कसरी बदलिन्छ भन्ने चित्र यहाँ जीवन्त बनेको छ। एउटी नारीले कहिले छोरी, कहिले बुहारी, त कहिले आमा बनेर निर्वाह गर्नुपर्ने भूमिका, त्यसक्रममा सहनुपर्ने उपेक्षा, हेला, संघर्ष र जिम्मेवारीको बोझलाई उहाँले कुनै आडम्बरबिना स्पष्ट रूपमा प्रस्तुत गर्नुभएको छ।
सम्पत्ति, शिक्षा र ‘आधुनिक सतीदाह’
यस कृतिको मुख्य मर्म समाजलाई ऐना देखाउनु हो। लेखिकाले केवल आफ्नो व्यथा पोख्नुभएको छैन, नेपाली समाजमा नारीमाथि हुने सूक्ष्म विभेदको शल्यक्रिया पनि गर्नुभएको छ। उहाँको स्पष्ट धारणा छ— “नारीलाई सक्षम नबनाएसम्म सिंगो परिवार र समाज कहिल्यै उज्यालो हुन सक्दैन।”
आज पनि धेरै ठाउँमा छोरीलाई ‘पराया धन’ मान्ने सोच कायमै छ। शिक्षा र सम्पत्तिको समान अधिकारबाट वञ्चित गरिने यो मानसिकताले महिलालाई आत्मनिर्भर बन्नबाट रोकिरहेको यथार्थलाई लेखिकाले उजागर गर्नुभएको छ। यदि समाजले छोरीहरूलाई शिक्षासँगै सम्पत्तिमा पनि समान हकदार बनाउन सकेन भने, विगतको ‘सती जाने परम्परा’ आज फरक स्वरूपमा नेपाली समाजमा जीवित रहने डरलाग्दो यथार्थलाई उहाँले औंल्याउनुभएको छ।
नैतिकता र घमण्डको सचेत सन्देश
देश–विदेशका समाज र नेपाली जीवनका विविध आयामलाई नजिकबाट नियाल्नुभएकी लेखिका एउटा सशक्त निष्कर्षमा पुग्नुहुन्छ— “अनावश्यक धनको लोभ र घमण्डले मानिसलाई कमजोर मात्र बनाउँदैन, नैतिक रूपमा पतन गराउँदै अन्ततः विनाशतर्फ डोर्याउँछ।”
यो सन्देश केवल महिलाका लागि होइन, सम्पूर्ण समाजका लागि उत्तिकै सान्दर्भिक छ।
समग्रमा
‘संघर्ष’ केवल एउटा आत्मसंस्मरण वा व्यक्तिगत अनुभवहरूको संग्रह मात्र होइन; यो समाजका हरेक पुरुष, परिवार र नयाँ पुस्ताका लागि चेतनाको दस्तावेज हो। छोरीलाई सुरक्षा, बुहारीलाई सम्मान र नारीलाई समान अधिकार नदिएसम्म समाजको वास्तविक विकास सम्भव छैन भन्ने सशक्त सन्देश यस कृतिले दिएको छ। नदीझैं निरन्तर बगिरहेको जीवनमा सकारात्मक सोच, आत्मबल र मानवीय संवेदनाको महत्व सम्झाउने यो कृति साँच्चिकै विचारणीय, प्रेरणादायी र समसामयिक लाग्यो।




















