सुनिता बस्नेत/टेक्सस

लेखिका :सुनिता बस्नेत

जव अनुहार ऐनामा हेर्छु वॉदर सम्झिन्छु। हाम्रा पुर्खा रे वॉदर। मानव सभ्यताको विकास हुंदा एउटा बॉदरबाट परिवार अनि समाज त्यस पछि सभ्यता, संस्कार मानवता अनि धेरै पछि संजाल सुरु भयो होला। ऐना हेर्दै गर्दाको मेरो सोचाइ।हामी मानव वॉदरभन्दा किन भिन्न छौ त? सभ्यता।हाम्रो पुच्छर छैन। लाज ढाक्न कपडा लगाउछौं। घर परिवार अनि समाजमा वस्छौं  

एकार्काको ईज्जत गर्छौं। अनि प्रविधिको चरम विकाससंगै संजालमा छाएका छौं। त्यहि झुसे वॉदरको सन्नतति हामी।असभ्य वॉदर न लाज छ न ईज्जत अनि सभ्य मानव।ज्ञान, विवेक र सभ्यताले जंगली जनावरबाट घरेलु वनेको वॉदरको सन्नतति म।म जस्तै सभ्य मानिसले भरिएको समाज। यो

मेरो समाज लाज, सम्मान, इज़्ज़त, प्रतिष्ठा शिक्षा अनि प्रविधिले युक्त भरि पुर्ण छ। तर वॉदरको समाज स्वतन्त्र, निर्लज्ज अनि जंगली देखिन्छ।

केहि दशक अगाडि पढेको समाजको परिभाषा आजको समाजको परिभाषासंग मेल खॉदैन। किनकि हामी निक्कै परिवर्तन भइ सकेका छौं। पहिलेको सोचाइ र समाज अनि अहिलेको भोगाइ र समाजमा निक्कै ठुलो दरार छ। तर म एउटी ‘म’ स्त्री लिंग ‘म’ को भोगाइ भने फरक पाइन आफ्नै जीवनलाई नियालेर हेर्दा पनि।म जस्तै अरु ‘म’ हरुको परिवेश र अनुभव वॉडेर हेर्दा।समाजमा म जस्तो व्यवहार पाउथें संजालमा पनि म त्यस्तै भोगाइ पाउंछु। भिडभाडमा छुन सकिने अंग, लापरवाही जिस्क्याउन सकिने मनोरन्जन अनि हेरेरै धीत मार्न सक्ने तिर्खा! मैले कुनै प्रतिकार गरे भने मैले नै सुन्न पर्छ गालीहरु। हो यहि हो मेरो सामाजिक वॉदरे भोगाई।

एउटा अत्यन्तै नमिठो भोगाइ आज पनि मेरो मानसपटलमा घरि घरि पीडा बनेर मजारिन्छ। त्यो घटना सम्झेर वान्ता आउला जस्तो हुन्छ।मानवताको र मात्रित्वको दनक दिन मन लाग्छ।

मन त उति खेर पनि जुर्मुराएको हो जव सुनें मेरी सहकर्मीको यो भोगाइ।उनी त्यति खेर करिव पुरा महिनाको गर्भवती थिइन्।  

काममा आउने जाने क्रममा भिडभाडले भरिएको लोकल वसमा झुन्डिएर यात्रा गरि रहेकि,किर्तिपुर जाने वस।कुरा गराइ र हाउभाउले नै सजिलै अनुमान लाउन सक्ने यात्रुहु स्नातकोत्तर तहका  छात्रहरु हुन् भनि।मेरी सहकर्मी करिव करिव पुरा महिना भएको भारी जीउ त्यहि वसमा ठेलमठेल गरेर उभिइ रहेकि थिइन्।दिन भरिको कामको थकाइलाई घरमा । कुना पनि कुरामा आशा र अपेक्षा नराख्ने उनी वसको डन्डी समातेर उभिएकि। खाली जीउ सरहको मान्छेसंगै। ठेलम ठेल। न उनलाई सिटको आशा न सहानुभूतिको।तर अनायासै आफ्नो शरिरको पछाडि भागमा पुरुष शरिरको दरो भइ सकेको अंगले घोच्छ।पहिला त विश्वास लाग्दैन उनलाई। फर्केर हेर्छे। कामवासले मदहोश शिक्षित पुरुष पुरै शरिर उनी माथि आड लाएर आनन्द मानिरहेको। उनको ‘म’ घ्रिणाले विचलित हुन्छ।मानव देख्दिनन् उनी त्यो जंगलमा।पशु पनि अझै माथिल्लो स्तरको लाग्छ। उनको गर्भ चसक्क दुख्छ एक चोटी।सोच्छिन्,मैले जस्तै गरेर गर्मा एउटी आमाले वोकेकि थिइन् होला यो कामदेवलाई पनि। आमाको दुध अवश्य नै चुस्यो होला बॉच्नको लागि।यो हो मेरो भिडभाडको समाज।यस्ता घटनाहरु प्रत्येक भिडभाडमा नभोगेका महिला नहोलान् कुनै न कुनै रुपमा। 

एउटा अर्को घटना सुन्धाराको टेयाम्पोमा यात्रा गरि रहेको थिएं। एकाएक मेरो शरिरमा केहि सल्बलाएको महसुस गरें। मेरो वगलमा वस्ने महासयको हात आफ्नो छातीमा फोल्ड गरेको जस्तो गरेर औंलाहरु मेरो शरिरमा आएको रहेछ। अरुले हेर्दा केहि नगरेको जस्तो देख्ने तर भित्रि हातले मेरो अंग छुने। यी चलाख स्याललाई तुरुन्त ट्याम्पो रोक्न लाएर झारेको छु मैले २०/२२ वर्ष अगाडि’ भनिन् मेरी साथी रिदिमाले।

साथीसंगीको कुरा सुन्दा आफ्ना पनि यस्तै खाले अनगिन्ति घटनाहरु सम्झिन्छु। एक चोटी रत्नपार्कमा ड्याडी र म विक्रम ट्याम्पोमा यात्रा गरि रहेका थियौ।कोचाकोच गरेर वसेको टियाम्पोमा अनायासै तातो हात आफ्नो शरिरमा सल्वलाएको महशुस भयो। ड्याडिले के भन्नु होला भन्ने लाज अथवा डरले मुखले केहि भनिन तर त्यो मेरो अनुमती विना मेरो शरिर छुने हात चिरिक्क चिनटेकि थिएं. अनि ट्याम्पोबाट ओर्लने वेलामा हिलवाला जुत्ताले खुट्टा भॉचिउन्जेल कुल्चेर ओर्लिएकि हुँ।

आजको मानव सभ्यताको उत्कर्ष परिणाम स्वरुप संजालको छुट्टै ब्रम्हाण्ड  बनेको छ । जहॉ आफ्ना नातादार, परिवार, साथीभाई इष्टमित्र लगायत अपरिचित व्यक्तिहरुको पनि सामाजिक चौतारी वनेको छ। वर्षौं भेट नभएका साथीभाई र इष्टमित्रलाई करिव ल्याएको छ। हुन त टाढाकालाई नजिक र नजिकलाई टाढा नवनाएको होइन। सदुपयोग गरे फाइदाजनक छ। तर ‘म’  आफुलाई यहाँ रवि त्यहि रुपमा पाउंछु। एउटा जिस्क्याएरै धित मर्ने प्यास। अझै यो त यथार्थ समाजको भन्दा नि डर लाग्दो किनकि आमने सामने वोलेर भन्न गार्हो भएका कुराहरु टाढाबाटै गरिने हुनाले ‘म’हरु हर्यासमेन्टको शिकार वनेको घटना दिनप्रति दिन वढेको छ। महिला देखे पछि अनावश्यक फोन गरि राख्ने। जे पायो त्यहि पोष्ट गर्ने, अपशब्दहरु प्रयोग गर्ने गरेको घटना वारम्वार भोगेको र सुनेको छु। 

केहि महिना अगाडिको कुरा हो। मेरो अंकलको साथीको रिक्वेष्ट आयो। आफ्नो वाल्यकालमा देखेको मान्छे। आफ्नो गाउंको मान्छे संजालको साथी बन्दा खुशीनै लाग्यो। सामान्य हालखवरको कुराहरु भयो। त्यो एउटा मानवताको नाताले पनि कहॉ छौ? के कसो छ? जोसंग पनि हुन्छ। त्यस पछि प्रत्यक दिन म्यासेज गर्ने गर्नु भयो।संजालका साथीहरुसंग दिनहुं कुरा गर्नेु प्राथमिकता होइन मेरो जीवनको। त्यसकारण मैले खासै म्यासेज हेर्न छाडि दिएं। केहि महिना पछि फोन नै आयो। फोन त उठाइन तर पुराना मैले नहेरेका धेरै म्यासेजहरु रहेछन्। एउटा वाक्यमा पुगेर मेरो ऑखा रोकियो। ‘ कस्ति भालु केटी रहिछ!’ मेरो इन्द्रियहरु तातो भयो तर मन अति चिसो भयो। एउटा वावु समानको मान्छेले मलाई लेखेको शब्द सम्झेर। मेरो मनले सोध्यो। के कारणले मैले यो गाली सुन्नु पर्यो? मेरो गल्ती के? के ‘म’ महिलाले अकल जस्तो मान्छेलाई संजालमा साथी वनाउन हुन्थेन। वा मैले वहॉसंग औपचारिक कुरा गरेर गल्ती गरें।मानवताको र परिचयको आधारमा मैले वोलेको मिठो वोलिले मेरो नामाकरण भयो? ‘भालु’ के हो भालु भनेको?? मैले सुने र बुझे अनुसार यौन व्यवसायमा लागेका महिलालाई ‘भालु’ भन्ने चलन छ।

मेरो प्रश्न मेरो आदरणिय अंकल जस्तो मानेछेलाई। ‘तपाईंको संजालमा मलाई साथी वनाउनुको उद्देश्य के थियो?’ एउटा स्वच्छ मन र उद्देश्य वोकेर संजालमा वसेको मान्छे वहॉलाई रंगरलिया नगरिदिंदा भालु भएँ?’ अंकल ‘म’ होइन हजुर हो ‘भालु’! किनकि तपाइं एउटा तिर्खा वोकेर  छिर्नु भएको छ संजालमा।त्यसको विकार मलाई होइन हजुरलाई नै हुनु पर्छ। मेरी सहेली एलिसाले एकै सासमा सुनाई उस्को संजालको तीतो अनुभव। 

हुनत म आफैलाई पनि यस्ता असभ्य घटनाहरु नपरेका होइनन्, संजालमा उदार भएको कारणले। कुरो केहि महिना अगाडिको हो। काममा जाने क्रममा तेज गतिमा गाडि हुंइकि रहेको थियो। वारम्वार म्यासेन्जरमा फोनको घन्टी बजिरहेको थियो। स्पिड र हिउंको कारणले फोन उठाउन प्राथमिकता दिइन। म सायद मेरै आमाको फोन आएको भए पनि उठाउंदैन थिएं होला। किनकि पहिला आफ्नो ज्यान सुरक्षित हुन पर्यो। तर एकैनाश आएको फोनले सजकबाट ध्यान भने भंग गरि रहेको थियो। वल्ल वल्ल आफ्नो स्क्याजुलको समयमा पुगेर काम सुरु गरें। फोन हेर्ने फुर्सद थिएन। ४/५ घन्टा पछि खाजा खाने वेलामा वल्ल फोन हेर्ने फुर्सद पाएँ।कस्को फोन रहेछ वारम्वार आएको भनेर हेरेको त देखें, ‘ भालु, रन्डी, वेस्से’ यी शब्दहरुले गालि गरिएको रहेछ मैले संजालको साथीको फोन नउठाउंदा! ती शब्दहरु ऑखाको बाटो हुंदै कानमा गुन्जि रहेका थिए।ती शब्दहरु जीन्दगीमा पहिलो चोटी आफुमा प्रयोग भएको थियो। भाउन्न भएर आयो। रनक्क रीस उठ्यो। सोचें मलाई किन चाहियो संजाल? अनावश्यक झमेला बेहोर्नको लागि संजाल चलाउन्न भन्ने भाव आयो। मनले सोधि रह्यो के चाहिं भन्न थियो होला र म कहिले पनि नचिनेको मान्छेलाई? के ‘म’ भएकै कारणले जे शब्द प्रयोग गरेर पनि गालि गर्न सक्ने? संजालमा महिलाको तस्विर देख्दैमा वा स्वच्छन्द तरिकाले वॉचेको देख्दैमा जे वोले पनि हुने?? कति सस्तो भएछ मर्यादा? संस्कार कतै पनि देखिन यस्ता खाले संजाले समाजमा। यति सस्ता शब्दहरु वास्तविक समाजमा अलि कम ना सुनिन्छ जति संजालमा देखिन्छ। समाज र संजालले ‘म’ लाई हेर्ने द्रिष्टी यहि हो त?

म अंग होइन। म मनोरन्जनको साधन पनि पनि होइन।म मात्रित्व चुसाउने आमा हुँ। भरोसाको दिदी वहिनी हुँ। जीवन बॉड्ने अर्धागीनी हुँ। मुटु खन्याउने प्रेमिका हुँ। साहरा दिने छोरी हुँ। विश्वास घात नगर्ने साथी हुँ। मायाको खानि हजुरआमा हुँ। सबैसंग मेरो उत्तिकै माया छ। सबै सम्बन्ध अति नै प्रिय छ। संसारको सबै मानव मेरा आफन्त हुन्। मानवताको नाता छ। हामी सबै एउटै पुर्खाबाट आएका हौं, वॉदर। अव वॉदरे चर्तिकला नदेखाउं। निर्वस्त्र नघुम।आफ्नो शरिर जहॉ पनि लगेर जोत्ने नगर।आफ्नो हात, मन र संयमलाई कावुमा राख।तिम्रो पनि ईज्जत छ। आखिर वावु, दाइ, भाइ. लोग्ने,प्रेमी, साथी, हजुरवावुको लाज ‘मेरो’ पनि लाज हो।लाज ढाक्नलाई हामीसंग पुच्छर छैन अव।

(लेखिका ड्यालसमा सक्रिय साहित्य सर्जक हुन – संम्पादक)

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected