रामप्रसाद खनाल 

अन्ततः जघन्य हत्यामा आरोपित, सर्वोच्च अदालतमा मुद्दा विचाराधीन, माओवादीका नाममा कैयौँ अपराधहरूमा संलग्न, राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा मानबाधिकारबादी निकायहरूले अपराधमा संलग्न भनी सप्रमाण किटेका अग्नि सापकोटा लोकतान्त्रिक गणतन्त्र नेपालको सभामुखमा निर्विरोध निर्वाचित भएर अर्को विश्व रेकर्ड कायम गरेका छन् ।

यस्ता गम्भीर अपराधमा संलग्न मान्छेहरू प्रधानमन्त्री, मन्त्री, सभामुख, सत्तापक्षको नेता, अध्यक्ष हुने, रुल गर्ने, संयुक्त राष्ट्रसङ्घमा आबध्द १९३ र आबद्ध नभएका २१ अन्य गरी संसारका २१५ राष्ट्रमा नेपाल पहिलो राष्ट्र बनेको छ । त्यसैले विश्व रेकर्ड कायम भएको छ ।

यस पटक नेपालमा अर्को आठौँ आश्चर्य भएको छ – त्यो के भने आफूलाई प्रजातन्त्रवादी / लोकतन्त्रवादी भन्दै आएको, दिन प्रतिदिन भूमिगत जस्तै बन्दै गएको र प्रमुख प्रतिपक्षी दल भएर पनि छ कि छैन भन्ने अवस्थामा रहेको शेर बहादुर देउपाले नेतृत्व गरेको नेपाली काँग्रेसले तिनै जघन्य हत्या र अपराधमा संलग्न जल्लाद अग्नि सापकोटालाई निर्विरोध रूपमा सभामुख निर्वाचित गर्न सहयोग गर्‍यो । ठानिएको थियो – काँग्रेस पक्कै पनि यस्ता अपराधीको पक्षमा हुने छैन, आफै उम्मेदवारी दिन्छ, सँसदमा अपराधीका विपक्षमा बोल्छ, प्रमुख प्रतिपक्षी बनेर आफ्नो अस्तित्व देखाउँछ, भलै उ सँग जित्ने सामर्थ्य छैन तर प्रतिपक्षको धर्म निर्वाह गर्छ । तर सारा अनुमानहरू गलत साबित भए । शेर बहादुर छेर बहादुर बने । काँग्रेस अपराधी सत्ताको मतियार बनेर झन् जनताको नजरमा गिर्‍यो ।

शेर बहादुरको असली थर देउपा हो । सबैले देउपाजी भन्दा र लेख्दा वहाँलाई लागेछ यो “देउपाजी” / देऊ पाजी भयो भनेर केही वर्ष अघि वहाँले आफ्नो थर देउपा बाट देउवा बनाउनुभएको हो । वहाँले थर देउपा बाट देउवा त बनाउनुभयो तर वहाँको काम भने सधैँ देउपाजी नै रह्यो भन्ने कुरा वहाँले शक्तिमा रहँदा बारम्बार पुष्टि गर्नुभएको छ । प्रचण्ड र उनकी छोरी रेणु लाई बोक्नु सम्म बोकेर काँग्रेसलाई नराम्ररी थलामा पार्नु भएका देउपाजीले हँसिया हथौडामा भोट हाल्न आदेश दिएको र त्यो आदेश उल्लङ्घन गर्नेलाई कारबाहीको धम्की दिएको इमानदार काँग्रेसीहरूले कहिले कसरी भुल्लान र बिचरा !

काँग्रेसका नेता कार्यकर्ता छानी छानी काटेका, मारेका, लुटेका, कुटेका, अपहरण गरेका, सम्पत्ति लुटेका, आफ्नै देश भित्र शरणार्थी बनाएका तिनै प्रचण्ड र बाबुराम र उनीहरूका अग्नि सापकोटाहरूको मतियार बन्नु भन्दा बरु शेर बहादुरजीले काँग्रेस छोडेर नेकपा ज्वाइन गर्दा राम्रो हुन्छ भन्न थालेका राजनीतिक पण्डितहरू पनि । हुन पनि वहाँ ओली प्रचण्ड सँग फत्याकफुतुक गलेको देख्दा त्यो राम्रै हुन्छ भन्ने यो लेखकलाई पनि लागेको छ । यस्तो हुतीहारा प्रमुख विपक्षी दल, यस्ता हुतिराहा शेर बहादुर प्रमुख प्रतिपक्षी नेता हुनुभन्दा नभएकै बेस त जनताले र स्वयम् काँग्रेसी कार्यकर्ता, नेताले पनि भन्न थालेका छन् । यदि देउपाजीको यस्तै ताल कायम रहने हो भने, अझै पनि काँग्रेस सुध्रिएन भने अब हुने निर्वाचनमा अपराधी जमातकै फेरी पनि जित हुने निश्चित छ, काँग्रेस अझै थला पर्ने निश्चित छ, लेखेरै राखे हुन्छ ।

हिजो प्रचण्ड र बाबुराम, अनि उनीहरूको हत्या हिंसाको विरोध गरेर एमालेमा मजबुत नेता बनेका केपी ओली जब राता रात प्रचण्ड सँग एकीकरणको लगन गाँठोमा बाँधिए उनको अशलियतको पर्दा त्यसै दिन खुलेकै हो । अलि अगाडि जानुहुन्छ भने पचास एकाउन्न सालतिर जानुस् र महाकालीको घाउ कोट्याउनुस् केपी ओलीको राष्ट्रवाद छर्लङ्गै देख्नुहुन्छ । देख्नुभएकै होला । केपी ओलीको अडानको तारिफ गर्नेहरूले केपी ओली कै प्रस्तावमा एकाएक अपराधी मान्छे सभामुखमा छानिएको देखेर कत्तिको आश्चर्यमा पर्नुभएको छ आफै जान्नुस् । एमालेका इमानदार नेता कार्यकर्ताहरू माथि यहाँ भन्दा ठुलो बज्रपात के हुन्छ बुझ्न सक्नेलाई काफी छ । डा. शिवमाया तुम्बाहाम्फे जस्ती योग्य, अनुभवी, महिला माथि प्रचण्ड र ओली मिलेर कुन तहको महिला हिंसा गरे देख्नुभएकै होला । भनिरहनु परेन ।

प्रमुख विपक्षी नेता र दल “पाजी” साबित भए भए अरू विपक्षीहरु पनि हेर्नुस् । गाइलाई खोलाले बगाइसक्यो, खोलो पनि सुक्यो तर बगाउन बाँकी एक जना राजेन्द्र लिङ्ग्देल पनि चुप लागेर बसे । तराइ मधेशबादीहरुलाई एक दुई थान मन्त्री पदको आशा छ उनीहरू किन बोल्थे र ! बरु अपराधीलाई सभामुख बनाउने फड्के किनारका साक्षी बने । तैँ चुप मै चुप । भाग शान्ति जय नेपाल !

“अब नेपाल भित्र यी सङ्गठित अपराधीहरूको उपचार असम्भव जस्तै भएको छ । तर चुप लागेर बस्नुहुन्न, जानु पर्‍यो भने अन्तर्राष्ट्रिय अदालत सम्म पनि जानु पर्छ” भन्ने अधिवक्ता / कानुनबिदहरु ओम प्रकाश अर्याल, विष्णु भट्टराई, बालकृष्ण न्यौपाने, भीमार्जुन आचार्य, सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठीहरू देखी दमननाथ ढुङ्गाना, सुशील प्याकुरेल, सुबोध प्याकुरेल, मन्दिरा शर्मा, चरण प्रसाईँ, डा. सुरेन्द्र केसी लगायतका अन्य मानबाधिकारबादीहरु र नागरिक समाजको भनाइमा दम छ ।

आफ्नै घरमा लास नपरे सम्म मानवअधिकार नबुझ्ने, नदेख्ने, मन नछुने र अपराधीहरूकै जय जयकार गर्दै तिनै अपराधीहरूका पछि लाग्दै हिँड्ने, उनीहरूकै दास बन्ने हामी लाचारहरू, जिउँदा लासहरूको घैँटोमा सजिलै र छिट्टै घाम लाग्ला जस्तो नभएकाले न्यायका लागि अन्तर्राष्ट्रिय दैलो ढकढक्याउनुको विकल्प देखिँदैन । बुझ्नेहरूलाई चेतना भया !

(लेखकमा लेखकका निजी विचार व्यक्त भएका छन् -संम्पादक)

– जनवरी २५, २०२० भर्जिनिया, अमेरिका
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected