­
शिव शर्मा
टेक्सस– देखेर पनि छुन नसक्ने गगन बनायो
छोएर पनि देख्न नसक्ने पवन बनायो
खै के बनायो बनायो, यो सृष्टिले
देख्न अनि छुन नसक्ने तर दुख्ने मन बनायो ।

नारी हस्ताक्षर पुजा वागीशले कोरेको भाव हो यो । पोखरेली साहित्यिक माटोमा हुर्किएकी यी चेली यतिबेला सात समुन्द्रपारी आएर पनि साहित्यिक गतिविधिमा सक्रिय छिन् । टेक्ससको ड्यालसमा हुने साहित्य कार्यक्रममा उनको उपस्थित नियमित जसो हुन्छ । गजल, कविता वाचन गरेर साहित्य पारखीहरुलाई साहित्यक पान गराउछिन् । साहित्यिक प्रतियोगितामा पुरस्कार पनि जितेकी छिन् ।

ड्यालसमा सक्रिय। नारी स्रष्टा पुजा वागिश

पुजा मात्र हैनन टेक्ससको ड्यालस फोटवर्थ क्षेत्रमा बस्ने धेरै सर्जकहरुले यसरी नै यहाँको माहौललाई साहित्यमय बनाएका छन् । यसले साहित्यको एउटा माहौल पनि बढेको छ । टेक्ससको ड्यालस क्षेत्र साहित्यिक गतिविधि यतिबेला जुमुर्राएको छ । साहित्यलाई बढ़ना  दिन र लुकेर रहेका प्रतिभालाई मन्च प्रदान गर्न यहाँ स्थापना भएका साहित्यसंग सम्बन्धीत संस्थाहरुले पनि भुमिका खेलेका छन् ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाजको ड्यालस च्याप्टरको २००३ मा स्थापनापछि नै यहाँ साहित्यका क्रियाकलापहरु हुन थालेका हुन । संस्थापक अध्यक्ष भिम कार्कीको योगदान महत्वपुर्ण रहेको छ । उनी संगै अन्तराष्ट्रिय नेपाली साहित्य समाज टेक्सस च्याप्टरको संस्थापक पदाधिकारीहरुमा बासु शर्मा, बासु भण्डारी, गौरीराज जोशी, अन्जन श्रेष्ठ लगायत रहेका छन् ।
यस भन्दा अघि ड्यालसमा साहित्यको माहौल खासै थिएन । नेपाली समाज टेक्ससले संचालन गर्ने नेपाली भाषा पाठशाला मात्रै थियो । ‘नेपाली भाषा साहित्यको उत्थान र प्रतिभाहरुलाई मञ्च प्रदान गर्न नियमित रुपमा हामीले साहित्यका गतिविधीहरु संचालन गदै आएका छौ’ अन्तराष्ट्रिय नेपाली साहित्य समाज ड्यालस च्याप्टरका अध्यक्ष कपिल अधिकारीले भने–‘अन्यत्र भन्दा ड्यालस क्षेत्रमा साहित्यि माहौल बढीरहेको छ ।’

ड्यालस फाेटवर्थका साहित्य सर्जक र पारखीहरु

हो उनले भने झै ड्यालस क्षेत्रमा साहित्यको एउटा जग बसाल्ने काम अन्तराष्ट्रिय साहित्य समाज ड्यालस च्याप्टरले ग¥यो । त्यस अघि यहा खासै साहित्यका गतिविधी हुदैन्थे ।
‘सुरुवाती कालमा हामी एक दुई जना भेला भएर पनि गीत कविता वाचन गर्न तम्सिन्थयाै ‘समाजको ड्यालस च्यापटरका निर्वतमान अध्यक्ष बासु शर्माले भने– ‘हामीले यहाँ हुने नेपाली समाजको पिकनिक देखि विभिन्न भेलाहरुमा कविता वाचन गरेर साहित्यको माहौल बनाउन थाल्यौ ।’
सुरुमा नेपालीहरुको बसोबास पनि उति बाक्लो थिएन । तैपनि साहित्यको माहौल बिस्तारै अगाडी बढ्दै गयो । झण्डै आठ वर्ष ड्यालस च्याप्टरको अध्यक्ष भएर शर्माले यहाँको साहित्य माहौल बढाउनमा महत्वपुर्ण योगदान दिए ।
डा प्रेम अधिकारीको कार्यकालमा त ड्यालसबाट डेन्टन  समेत पुगेर साहित्यिक माहौल जमाइयो । त्यतिबेला डेन्टनमा नेपाली  चौर  नामकरण  गरेर साहित्यलाई तताउने काम यहाँका साहित्यप्रेमीहरुले गरे । सुरुमा ड्यालस क्षेत्रमा लक्ष्मीज्यन्ति, भानुज्यन्तिमा मुस्किलले साहित्यको कार्यक्रम फाटफुट हुन्थ्यो । अन्तराष्ट्रिय नेपाली साहित्य समाज ड्यालसले गीतकार दुर्गालाल श्रेष्ठको अलिअलि टेक्सस भन्ने पुस्तक प्रकाशत गरेका थियो ।अंग्रेजी नेपाली अनुवाद भएको यो पुस्तकको सिडी समेत निकालिएको थियो ।

 

अन्तराष्ट्रिय नेपाली साहित्य समाज टेक्सस शाखाका संस्थापक अध्यक्ष भिम कार्की

टिकट काटेर कविता सुन्ने परम्परा पनि समाजले बसाल्यो । ५० डलर टिकट राखेर सुरुमा कार्यक्रम गर्न खोज्दा कसैले पत्ताएनन, बासु शर्माले बिगतको स्मरण गदै भन्दै थिए– ‘कार्यक्रममा भीड बढेपछि सबै दंगिए ।’ समाजले ओम विक्रम विष्टको एकल साझदेखि हरेक महिनाको एक दिन सुगम साझ कार्यक्रम पनि संचालन ग¥यो । यी यस्ता गतिविधी बढेपछि कहिल्यै केही नलेख्ने पनि गीत कविता र मुक्तक लेख्न थालेको शर्माले बताए ।

ड्यालस क्षेत्रमा साहित्य लेखनमा सक्रिय मध्येका एक स्रष्टा हुन विजयराज भट्टराई । एक कथा संग्रह प्रकाशित गरिसकेका भट्टराई २०४९ मा नेपालमा रेयुकाईले गरेको राष्ट्रिय कविता प्रतियोगितामा पनि उनको कविताले पहिलो स्थान पाएको थियो । त्यस्तै निबन्ध प्रतियोतिमा पनि उनले पहिलो स्थान जिते ।

नेपाली भाषी भुटानिज समाजका ड्यालसमा सक्रिय ड्याङजाेम साङपाङ

उनका सय भन्दा बढी साहित्यिक लेखनरचना पत्रपत्रिकामा प्रकाशित छन् । ड्यालसमा रहेर पनि उनी साहित्य लेखनमा सक्रिय छन् । भट्टराई भन्छन्–अन्तराष्ट्रिय नेपाली साहित्य समाजको स्थापना संगै यहाँ साहित्यका कृयाकलापहरु बढ्दै जान थाले ।’
साहित्यको कृयाकलाप बढेसंगै साहित्यकि पुरस्कार समेत स्थापना गरेर स्रष्टालाई सम्मान र प्रोत्साहन गदै आएको छ ।
समाजले महानन्द साहित्य साधक पुरस्कार पनि हरेक वर्ष दिदै आएको छ । यो पुरस्कार विप्लप प्रतिक, बसन्त थापा, गोविन्द वर्तमान, किशोर नेपाल लगायतले पाइसकेका छन् ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज टेक्सस शाखाका ८ वर्ष निरन्तर अध्यक्ष समालेका निवर्तमान अध्यक्ष वासु शर्मा

टेक्ससका आइटी व्यवसायी गौरीराज जोशीले आफनो माता पिताका नाममा पुष्पराज भुपकुमारी साहित्यिक पुरस्कार समेत स्थापना गरिदिएका छन् । हरेक वर्षको लक्ष्मी ज्यन्तिको कविता प्रतियोगितामा यो पुरस्कार अन्तराष्ट्रिय नेपाली साहित्य समाज ड्यालसले प्रदान गदै आएको छ । त्यसो त व्यवसायी जोशीले टेक्ससमा हुने अधिकांश साहित्यिक कार्यक्रमलाई अार्थिक  सहयोग गदै आएका छन् । ‘नेपाली समाज टेक्ससमा नेपाली पाठशाला संचालन गरेपछि नै ड्यालसमा साहित्यको गतिविधी सुरु भएको हो, अन्तराष्ट्रिय नेपाली साहित्य समाज टेक्ससका पुर्व महासचिव समेत  रहेका जोशीले भने– ‘सुरुवाती कालमा ड्यालस क्षेत्रमा साहित्यको गतिविधी हामीले  नेपाली पाठशाला संचालन गरेपछि नै सुरु भएको हो ।’

टेक्ससका आईटी व्यवसायी गाैरी जाेशीले स्थापना गरेकाे पुष्पराज भुपकुमारी साहित्यिक पुरस्काकवि राधाकृष्ण काफ्लेलाई।प्रदान  गर्दै

अहिले आएर विभिन्न साहित्यिक संघ सस्थाको स्थापना संगै ड्यालस क्षेत्रमा साहित्यको राप हवात्तै बढेर गएको छ । सृजना गर्नेहरुको पनि जमात बाक्लिएको छ । समाजले ड्यालस क्षेत्रमा साहित्यको माहौल सृजना गरायो र अहिले यहाँ साहित्यिक गतिविधी बढेर गएको छ । संस्थाहरु सक्रिय हुन थालेका छन् ।

स्रष्टा साझ

डयालस फोटवर्थ क्षेत्रमा स्रष्टाहरुलाई मञ्च दिन र माहौल तताउन स्रष्टा साझको स्थापना भयो । संस्थाले ड्यालस क्षेत्रमा धेरै साहित्यिक कार्यक्रमहरु ग¥यो । नेपालबाट आएका स्रष्टालाई सम्मान देखि उनीहरुसंग अन्तरक्रिया कार्यक्रमहरु नियमित गदै आएको छ ।

साहित्यकार वैकुण्ठराज आचार्य आफनाे कृति न्यास्राे जन्मभूमिकाे हस्तान्तरण गर्दै

कवि तथा साहित्यकार बैकुन्ठराज आचार्य, प्राध्यापक प्रभात दिक्षित र वेदनिधी दाहालको अगुवाईमा स्रष्टा साझ स्थापना भयो । बैकुण्ठराज आचार्यको आफनै घरबाट यो स्रष्टा साझको सुरुवात भयो । सुरुमा कविता गजल वाचन गरेर सुरु भएको थियो । स्रष्टा साझमा थिए, बासु पुष्प अधिकारी, पवन लामिछाने, भगवती पौडेल लगायतका स्रष्टाहरु ।

‘ड्यालस फोटवर्थ क्षेत्रमा बसोबास गर्ने स्रष्टाहरुलाई आफनो सृजना प्रस्फुटन गराउन एउटा चौतारीको खाचो महसुस भइरहेको पायौ’ स्रष्टा साझका अभियान्ता बैकुण्ठराज आचार्यले भने– ‘नियमित रुपमा अहिले पनि स्रष्टा साझ कार्यक्रम संचालन गरिरहेका छौ ।’
न्यास्रो जनभुमीको कविता सग्रहका लेखक समेत रहेका आचार्यले अहिले पनि पुस्तक लेखनमा व्यस्त रहेका छन् ।
स्रष्टा साझले साहित्यिक रचना वाचनसंगै साहित्यिक कृतिको चर्चा, पुस्तक विमोचन, स्रष्टा सम्झना साझ तथा स्रष्टाको सम्मान कार्यक्रम गदै आएको छ ।

ड्यालसमा जमघट साहित्य सर्जकहरू

अहिले सम्म दर्जनौ कार्यक्रम गरेर स्रष्टा साझले पनि ड्यालस फोटवर्थ क्षेत्रमा साहित्यको तरंग ल्याएको छ । टेक्सस राज्यको ड्यालस फोटवर्थ क्षेत्रमा बसोबास गरेका नेपाली स्रष्टाहरुलाई आफना सृजनात्मक प्रतिभा प्रष्फुटन गर्न, मौलाउन र फैलाउन प्रोत्साहन एउटा सशक्त चौतारीको रुपमा स्रष्टा साझले भुमिका निर्वाह गदै आएको संस्थापक प्राध्यापक प्रभात दिक्षित बताउछन् । ‘हामी जहाँ  रहे पनि हाम्रा सृजनाहरु गौरवका विषय हुन, तिनीहरुलाई प्रस्फुटन गराउन मञ्चको आवश्यकता भएर नै स्रष्टा साझको स्थापना भएको हो’ दिक्षित भन्छन्–‘स्रष्टाको सम्मान गदै साहित्यको गतिविधीलाई बढवा दिने काममा हामीले स्रष्टा साझ मार्फत कोशिस गरिरहेका छौ ।’

गजल यात्रा

गजल साहित्यको पनि ड्यालस– फोटवर्थ क्षेत्रमा क्रेज बढ्दो छ । गजल सुनाउने मात्र नभई सुन्नेहरुको बाहुल्यता पनि बढीरहेको छ । यहाँ  हुन थालेको गजल उत्सवले डयालसको माहौल बेला–बेलामा रापिलो हुने गर्छ । पछिल्लो छिमलका युवाहरु गजल लेखनमा यहाँ सक्रिय देखिन्छन् । गजलले पनि ड्यालसको साहित्यिक माहौलाई जुरुक्कै उचालेको छ ।

ड्यालस फाेटवर्थ क्षेत्रमा सक्रिय गजलकार वासु पुष्पा अधिकारी

२०१७ को अन्त्यतिर बासु ‘पुष्पा’ अधिकारी, नेत्र आचार्य, खेमराज गैराघरे तथा राधाकृष्ण काफले लगायत दस जनाको समुह मिलेर ड्यालसमा गजलको माहौल बनाउन गजल यात्रा सुरुवात गरे ।
पछिल्लो समय ड्यालस– फोटवर्थ संगै अमेरिकाका अन्य राज्यमा पनि गजल उत्सव गदै यो समुह सक्रिय रहेको छ । गजल यात्रा टेक्ससले पनि साहित्यको माहौल बनाएको छ । अहिले गजल सुन्ने र भन्ने परिपाटी यसले जुटाई दिएको छ । विशेषगरी गजल विधालाई गजल यात्रा अभियानले ड्यालस फोटवर्थ क्षेत्रमा गजलपारखीहरुलाई मन्त्रमुग्ध बनाएको छ ।
पहिलो पटक बेदनिधी दाहालको घरबाट सामुहिक गजल वाचन गदै गजल यात्राको पहिलो कार्यक्रम सुरु भएको थियो ।
गजल यात्राले २०१९ सेप्टेम्बर २८ मा अमेरिकाको ओहायो राज्यको सिन्सिनाटीमा भव्य रुपमा तेस्रो गजल उत्सव गरेर गजलप्रेमीहरुलाई एकै ठाउ“मा जमघट गराउने काम ग¥यो ।

यस्तै २०१८ जनवरी १४ मा ड्यालसको नेपाली मन्दिरमा अमेरिकामै पहिलो पटक गजल यात्रा टेक्ससले गजल उत्सव ड्यालस गरेको थियो । गजल वाचनका लागी टेक्सस मात्र नभई अमेरिकामा विभिन्न राज्यबाट गजल वाचन र गजल गायनमा सहभागी भएर ड्यालसलाई गजलमय बनाए । अघिल्लो वर्ष गजल उत्सवको दोस्रो भाग पनि ड्यालसमा आयोजना गरी एउटा महोत्सवकै अनुभव पारखीहरुले गरे ।

ड्यालसमा सक्रिय कवि विजयराज भट्टराई

त्यस्तो गजल प्रतियोगिता समेत आयोजना गदै अमेरिकामा गजलको क्रेज गजलयात्राले बढाइरहेको छ । नेपालमा हालै एकल गजल वाचन गरेर फर्किएका बासु ‘पुष्पा’ अधिकारी  ड्यालस क्षेत्रमा गजलको माहौल बढाउन उद्धत रहेका छन् । ‘गजल लेख्ने र वाचनका लागी मञ्च दिने अभियान सहित हामीले गजल यात्रा सुरु गरेका हौ’ अधिकारीले भने– ‘अहिले ड्यालस क्षेत्रमा गजलको एउटा बेग्लै छाप बसीसकेको छ , सुन्ने र लेख्नेहरु पनि बढीरहेका छन् ।

जिन्दगीको दौडको कुरा वासु पुष्पा अधिकारी  गजलमा यसरी अभिव्यक्त गर्छन्–
यो भागदौड, यो ठेलमठेल सकिन्छ एक दिन
र विजय पराजयको खेल सकिन्छ एक दिन
जीवन भन्नु आखिर दियोको बत्ती न हो यार
कति पो बल्ला ? दियोको तेल सकिन्छ एक दिन ।।

ड्यालस क्षेत्रमा हुने सृजना वाचन कार्यक्रममा उनी प्राय गजल सुनाउन अग्रसर हुन्छन् । उनी जस्तै धेरै स्रष्टाहरु ड्यालसमा रचना वाचन कार्यक्रममा अग्रसर हुने क्रम पछिल्लो पटक बढेको छ ।
ग्लोबल भुटनिज साहित्यिक संस्था पनि ड्यालस क्षेत्रमा साहित्यको गतिविधीमा सक्रिय रहेको छ । नेपाली भाषी भुटनिजहरुका बाहुल्य रहेको संस्थाले नेपाली भाषा र साहित्यको उत्थानमा यहाँ  निरन्तर लागीरहेको छ ।

ड्यालसमा सक्रिय नारी स्रष्टा सुनिता बस्नेत

ड्यालसमा सक्रिय साहित्य स्रष्टाहरु
ड्यालसमा भिम कार्की, बासु भण्डारी, शैलेश आचार्य , विजयराज भट्टराई , भोजबहादुर बलायर, बाल जोशी राधाकृष्ण काफ्ले, मुरली अधिकारी, डा शिलु घिमिरे, सुमन काजी, अर्जुनराज पन्त, भगवती पौडेल, सुनिता बस्नेत, शशी भट्टराई, उत्तम शर्मा, लिलु गुरुङ, लिला श्रेष्ठ, धनन्जय ढकाल, खेमराज गैराघरे, पवन लामिछाने, सरु काली, रामचन्द्र भट्ट, चम्पा भट्टराई, तुगनाथ उपाध्याय,ड्याङजाेम  साङपाङ, रमिला जोशी, निर्मला राई लगायत दर्जनौ स्रष्टाहरु ड्यालस क्षेत्रमा सक्रिय छन् । कतिपय बाहिर देखिएका छैनन । ड्यालसमा पत्रकार रामचन्द्र भट्ट पनि कथा लेखनमा सक्रिय छन् । उनका फुटकर कथा अनलाइन पत्रिकामा प्रकाशित छन् ।
सरु कालीले त गजलका तीन वटा पुस्तकनै निकालेकी छिन् भने केही  गजल रेकर्ड भएर कलाकारले आवाज समेत दिएका छन् । अर्जुनराज पन्तले व्यङ्ग कविता निकालेका छन् ।

ड्यालसमा सक्रिय कवयित्री भगवति पाैडेल

टेक्ससको साहित्यिक माहौलमा सक्रिय रहने नारी हस्ताक्षर मध्येकी एक हुन भगवती पौडेल । उनी पनि ड्यालस क्षेत्रमा हुने साहित्य कार्यक्रम प्रायः टुटाउदिनन् । कार्यक्रममा सहभागी भएर आफनो रचना सुनाउन सदै अग्रसर हुन्छिन् । सन् २०१२ मा फनेसिया रेडियोबाट नेपाली साहित्य कार्यक्रममा जानकारी पाएपछि उनी नियमित रुपमा सहभागी हुन थालेकी हुन । ‘भ्याएसम्म प्राय यहाँ का साहित्य सम्बन्धी कार्यक्रममा सहभागी हुदै आएकी छु’ उनले भनिन– ‘साहित्यको रचना वाचन श्रृखलाले ड्यालस फोटवर्थ क्षेत्रमा नेपाली साहित्य र भाषाको गतिविधी बढीरहेको छ ।’
त्यसो त उनले लेखेका फुटकर कविताहरु पनि विभिन्न संचारमाध्यममा प्रकाशित हुदै आएका छन् । त्यस्तै नारी हस्ताक्षर सुनिता बस्नेत पनि यहाँ सक्रिय छिन् । उनले भर्खर मात्रै नेपाल पुगेर बिम्ब कविता र सुरबी गीतको दुई कृति निकालेकी छिन् । बाल्टीमोरबाट बसाई सरेर आएकी लोकप्रिय गीतकार लिलु गुरुङ पनि ड्यालस क्षेत्रमा सक्रिय हुन थालेकी छिन् । उनी यतिबेला गीती पुस्तक प्रकाशनमा व्यस्त छिन् ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज टेक्सस का वर्तमान अध्यक्ष कपिल अधिकारी

पुरुषको तुलनामा ड्यालस क्षेत्रमा महिला स्रष्टाहरुको संख्या भने न्युन नै छ । साहित्यको गतिविधी तिब्र हुन थालेपछि ड्यालस फोटवर्थ क्षेत्रमा नया स्रष्टाहरुको आगमन संगै साहित्य लेखन पनि फस्टाउदै गएको छ । नेपाली समुदायको बाक्लो बसोबास संगै ड्यालस क्षेत्रमा साहित्यको माहौल बढेर गएको छ ।

तस्वीर सामाजिक संजाल

ग़ज़लकार बासु पुष्पा अधिकारीकाे स्वरमा वाचन गरिएकाे भिडियाे लिंक 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected