कोरोना माहामारीको केन्द्रबाट छाेराले पठाएकाे चिठ्ठीको जवाफ आमाबाट
अप्रिल १९, २०२०
छोरा,
आशिर्बाद दिए ।
त्यो माहामारी फैलिएको देशको एउटा बन्द कोठाबाट तिमीले पठाएको अत्यास लाग्दो खवर पढ्दापढ्दै मनमा अनेक किसिमका हुन्डरीले गर्दा तिम्रो चिठ्ठीको जवाफ नदिराख्न सकिन्। तिमीलाई थाहा छ,तिम्रो आमालाइ राम्रोसँग लेख्न त आँउदैन्।तर पनि तिम्रो चिठ्ठी पढेपछि म रातभरि निदाउन सकिन।त्यसैले यी जानी नजानी सलबलाएका अौँलाहरुलाइ काम दिएकि मात्रै हुँ।आशा छ,आमाले बिगारेका यी शब्दहरुलाइ सच्याएर पढ्नेछौ। भरखरै जस्तो लाग्छ छोरा अर्धचेत अबस्थामा तिमीलाई जन्म दिएको!साच्चै छोरो यति ठूलो भएर विदेशमा गई आमालाइ चिठ्ठी पठाउने भइसकेछ।हुन त आमा-बाबाका लागि जति धेरै उमेर किन नहोस्।आफ्नो सन्तान सधैं बच्चा जस्तै लाग्दो रहेछ। छोरा यहाँ म लगायत सबै आरामै छौँ र त्यहाँ तिमी लगाएत सम्पूर्ण देशवासीलाई नै आरामै होला भन्ने आशा राख्दै तिमीले पठाएको चिठ्ठीको जवाफ लेख्ने कोसिस गर्दैछु। छोरा अब के होला भनेर धेरै चिन्ता लिनु भन्दा पनि आफूलाई भित्रैबाट बलियो बनाउने कोसिस गर!जति नै शक्तिशाली राष्ट्र होस वा ब्यक्ति नै किन नहोस् !यो माहामारीले कसैलाई उम्कन दिनेछैन्।त्यसैले छोरा आफूलाई नियन्त्रण गरि योग,ध्यानमा ब्यस्त राख्दै सुरक्षित साथ,धैर्य भएर,आत्म बललाइ उच्च बनाइ एकान्तवास बस्यौं भने पक्कै यो युद्ध जित्नेछौँ ।आफूलाई कत्ति पनि कमजोर हुन नदेउ,अनुहारमा त्रास होइन मुस्कान फैलाएर बन्द कोठामा एक्लै रमाउन सिक। हो छोरा तिमी सधैं पकाएको खाना छोडेर साथी भन्दै दौडिरहन्थौँ।म सधैं सम्झाउने गर्थें तिमी यसरी साथी-साथी भन्दै सधैं हिड्छौ।तिमीलाई दु:ख परेको बेलामा कोही काम लाग्ने छैनन्।त्यसकारण आफू एक्लै पनि बस्न सिक,हरेक काम गर्न सिक,ब्यबहारिक बन्न सिक!साथी भनेको त भेटघाट र केही समय रमाइलो गर्न मात्रै हो।हेर छोरा बास्तबमा हामी एक्लै नै छौँ।यो कुरालाई बुझेर पनि कहिल्यै मनन गर्न सकेनौं हामीले। हो छोरा यतिबेला धेरै मानिसहरू एक्लाएक्लै बसेका छन।प्रकृतिले धेरै पाठ नबुझ्ने तरिकाले सिकाएको छ। एकपटक राम्रोसँग सोच त तिमी त पहिला नै गएर ब्यबस्थित भएर बसेका छौँ।साँच्चै ती कलिला भाइबैनीहरु जो भर्खर-भर्खर धेरै पढ्ने,धेरै पैसा कमाउने सपना बोकेर रुँदै आमा-बाबाको काख छोडेर त्यहाँ पुगेका छन्।जस्का आखा अोभाएका छैनन्।न बस्ने ब्यबस्था,न खाने कुरा छ,न त चिनेका नै कोही छन।साँच्चै के भएको होला तिनीहरूको अबस्था।साँच्चै आशु रोक्न गार्हो पर्छ तिम्री आमालाइ! यदि सक्छौं भने टाढाबाटै भए पनि आफूले गर्न सक्ने सहयोग गरेर तिनीहरुको पनि प्राण बचाइँदिने काम गर्नु बाबु।हरेक पाइलामा धैर्यताका साथ अघि बढ्न,मनोबललाइ सधैं उच्च राख्नु कहिल्यै गिर्न नदिनु ।
त्यहाँ मात्रै होइन नेपालमा पनि कोठाभित्रै बसेको आज २७दिन भइसक्यो।बाहिर निस्नकु छैन ।छोरा तिम्री आमा पनि यहाँ एउटा कोठामा बसेकिछ।तिम्रै चिन्ताले रोगका भारिहरु बोकेर तिमी आउने बाटो हेरेर बसेकि छ।साँच्चै छोरा यहाँ तिम्री आमालाइ नसक्दा पानी तातो गरेर दिनेसम्म कोही छैनन् र पनि त मुटुलाइ बलियोसँग बाँधेर बसेकिछुनि छोरा। छोरा नेपालमा पनि लकछाउनको समयमा मात्रै कोरोनाको संक्रमण सामान्य जस्तो लाग्दैछ।अब लकडाउन खुलेपछि विश्व भरि छरिएर रहेका सम्पूर्ण देशवासी फर्किदा नेपाल र नेपालीको अबस्था कस्तो होला।म पनि एकोहोरिएर सोच्छु। त्यसैले छोरा धैर्य गरेर आफूलाई बलियो बनइ स्थिति सामान्य भएपछि आफ्नै मातृभूमिमा फर्केर आउ।मर्नै परे पनि आफ्नै माटोमा हाँसीहाँसी मरौला,बाँचियो भने आटो,ढिँडो अनि साग र सिस्नु बाँडेर खाउँला।आखिर धेरै सम्पत्ति भए पनि के नै गर्नुछ र?त्यहि भोको पेट भर्ने,लाज छोप्ने अनि घामपानीबाट जोगिनेन हो।एक दिन सबै छोडेरै जानुछ।धेरै सम्पत्ति हुनेहरु पनि सन्तुष्टि छैनन् छोरा कति त हटट्याक भएर मरेका छन भने गरिबहरु खान नपाएर छट्पटीएका छन।हो छोरा विश्वको यो बिजोग देखेर आकाश पनि रोइरहेकोछ।यो माहामारी देखेर आत्तिएकोछ,चिडिएको छ।साँच्चै आकाश पनि नरोएको दिन छैन।हो छोरा चिन्ता मुक्त भइ,आफूलाई सन्तुलनमा राखेर बाँच्न सिक।म सधैं तिम्रो साथमा नै छु।हो बाबू आमा जस्तो ठूलो यो संसारमा कोही पनि छैन र हुन पनि सक्दैन।यो कुरा सबैले बेलैमा बुझिदिए कुनै आमा बुढेसकालमा तिरस्कृत हुनु पर्दैन थियो।बाटोमा रुँदै हात थाप्नु पर्दैन थियो। छोरा म यो संसारमा नभएर के भो र?मैले सबैकुरा निहालि रहेकिछु।अब स्थिति सामान्य भएपछि आफ्नै माटोमा फर्क र ती दु:ख पाएका आमाहरुको सेवामा तिम्रो तनमन लगाउ छोरा!अनि मात्र तिम्री आमाले सन्तोषको सास फेर्नेछ।
उहीँ तिमीलाइ माया गर्ने आमा
माया उपाध्याय
नेपाल
(युएसनेपाल प्रकाशित काेराेनाकाे केन्द्रबाट आमालाई कारुणिक चिठ्ठीकाे जवाफ । धेरै पाठकले रुचाएकाे याे चिठ्ठीकाे जवाफ अन्जान पाठकबाट आएकाे हाे -संपादक)
छाेराले लेखेकाे चिठ्ठी तल छ