कतारमा कोरोना अनि नेपालीको अवस्था
सचिन घिमिरे
कतार-आज कोरोनाको कारण विश्वनै महामारीको चपेटामा फसिरहेको छ । नयाँ संक्रमितहरु थपिँदै छन । धेरै ठिक हुदैछन । केहिले ज्यान गुमाइसकेका छन । कोरोनाले गर्दा व्यवसाय नियमित हुन सकेको छैन, जसको कारण अर्थतन्त्र डामाडोल बनिरहेको छ । विश्वभर नेपाली छरिएर बसेका छन । नेपालबाट श्रम गर्न आउने मुलुकहरु मध्ये कतार पनि एक प्रमुख गन्तव्य हो । यँहा ४ लाख भन्दा बढिको संख्यामा नेपाली श्रमिक छन । न्युनतम तलबमा अल्झेर बसेको देखि यँहाको प्रमुख कम्पनीमा उच्च ओहोदामा भएको देख्न सकिन्छ । हाल कोरोनाको कारण यँहा काम गर्ने नेपाली श्रमिकहरुलाई पनि प्रभाव पारेको छ । अहिले सम्मको अवस्थामा निकै नेपालीहरुलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ । कतार सरकारले नियमित स्वास्थ्य जाँच, खाना तथा कोरोनटाईनको व्यवस्था तथा अनुगमन गरिरहेको छ । केहि उपचारको क्रममा छन त केहि ठिक भएर कोरोनटाईनबाट कोठामा फर्किसकेको छन । कोरोना सम्बन्धित लक्ष्यण देखा परेमा वा संक्रमित रहेको आशंका भएमा १६००० मा कल गरेर खबर गर्न सकिन्छ ।
कतारमा पछिल्लो २४ घण्टामा ५२७६ जनामा गरिएको परिक्षणमा थप १,७५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने आज १,४६७ जना निको भएका छन् । यो सँगै कतारमा भाइरस संक्रमितको संख्या ६५,४९५ पुगेको छ । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
कतार सरकारले कोरोना भाइरसको रोकथामका लागि कडा नियम कानुन ल्याएको छ । कतार सरकारले कोरोना भाइरसको संक्रमण रोकथामका लागि सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकले घरबाट बाहिर निस्कदा अनिवार्य रुपमा एह्तेराज एप डाउनलोड भएको मोबाईल बोक्न निर्देशिका जारी गरेको छ । एपमा चार वटा कलर हेल्थ कोड हुन्छन । हरियो भए स्वस्थ अनि संक्रमण नभएको, खैरोले शंकास्पद बिरामी भएको वा शंकास्पद बिरामीसँग रहेको र जाँच नभएको, पहेलोले क्वारेन्टाइनमा रहेको अनि रातोले संक्रमित बिरामी जनाउँछ । यो एप बिना बैंक, एकसेञ्ज सेन्टर, हाइपरमार्केट आदिले कार्यालय भित्र प्रवेश निषेध गरेका छन । कोरोनाको संक्रमणको बढ्दो दरको बाबजुत पनि यात्रुहरुको सहजताको लागि विश्वकै प्रख्यात वायुसेवा कम्पनी मध्यकै एक कतार एयरवेज यहि देशबाट २४औं घण्टा उडान संचालन गरिरहेको छ ।
कतार सरकारले अप्रिल २६ देखि घरबाट बाहिर निस्कदा अनिवार्य मास्क लगाउन पर्ने, नलाउनेलाइ ३ बर्ष जेल सजाय वा २ लाख कतारी रियल जरिवाना वा ती दुवै हुने कानुन ल्याएको छ । सार्वजनिक क्षेत्र, मस्जिद, घर वरिपरि तथा छत आदिमा भेला नगर्न र नगराउन भनेको छ । कानुन उन्लंगन गर्नेलाई ३ बर्ष भन्दा बढी जेल सजाय वा २ लाख जरिवाना वा दुवै सजाय हुने बताएको छ । त्यस्तै निजी सवारीमा चालक सहित ३ जना सम्म सवारी गर्न सक्ने बताएको छ । परिवार र कम्पनीको सवारीमा भने यो नियम लागु छैन ।
कतारको नेपाली राजदूतावासले नेपालीहरुको वास्तविक अवस्था जानकारी लिन तथा अप्ठ्यारोमा परेका नेपालीहरुको स्वदेश फिर्तीको लागि समन्वय गर्न दर्ता फाराम भर्न भनेको छ । (दर्ता फारामको लिङ्क: https://forms.gle/3sGi4fWpHVQCVsEX7 )