अमेरिकामा आप्रवासी मतदाताको वर्तमान अबस्था र चुनाबी नतिजामा तिनले पार्न सक्ने प्रभाव

अमेरिकामा राष्ट्रपतिय निर्बाचनका लागि मतदान प्रकिया प्रारम्भ भै सकेको छ । चुनाबी दौडमा मुख्य गरि रिपब्लिकन पार्टीको तर्फ बाट बर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीका तर्फ बाट उम्मेदवार जो बाइडन प्रतिस्पर्धा गर्दैछन् । निर्बाचन मिति नोभेम्बर ३ तय गरिएको भए पनि अमेरिकामा अग्रिम मतदान गर्न पाइने ब्यबस्था अनुरुप यो लेख तयार पर्दा सम्म करिब एक करोड ८० लाख मानिस हरुले आग्रिम मतदान गरिसकेको निर्बाचन कार्यलयले जनाएको छ । तर मतगणना गर्ने कार्य भने चुनाब को अन्तिम दिन पछि मात्रै हुनेछ ।
Pew Research Center ले जारी गरेको तथ्यांक अनुसार २०२० को चुनाबका लागि जम्मा २१५ मिलियन अर्थात् २१ करोड ५० लाख अमेरिकी जनता मतदानका लागि योग्य छन् जस मध्य २३ मिलियन अर्थात् करिब २ करोड ३० लाख आप्रवासी मतदाता रहेका छन् जुन कुल मतदाता संख्याको करिब १० प्रतिसत हो यस अर्थ मा प्रत्येक १० जना मतदातामा १ जना आप्रवासी मतदाता हुने अनुमान गर्न सकिन्छ । कुल आप्रवासी मतदाता मध्य करिब ३४ प्रतिसत हिस्पानिक र करिब ३१ प्रतिसत एसियन रहेको केन्द्रको तथ्यांकले देखाउदछ । यस्तै गरि मेक्सिकन आप्रवासी मतदाताको संख्या अन्य देशको तुलनामा सबै भन्दा बढी रहेको छ तथ्यांक अनुसार करिब ३.५ मिलियन अर्थात ३५ लाख मेक्सिकन आप्रवासी मतदानका लागि योग्य छन् भने त्यस पछि क्रमश फिलिपिन्स, भारत , चिन र भियतनामका आप्रवासीहरु रहेका छन् ।
क्यालिफोर्निया, न्यूयोर्क, फ्लोरिडा , टेक्सास तथा न्युजर्सी राज्य अमेरिकामा सबैभन्दा बढी योग्य आप्रवासी मतदाता जनसंख्या भएका राज्यहरू हुन ति मध्य पनि न्युजर्सी बाहेक चार राज्यमा मात्रै कुल आप्रवासी मतदाताको आधा भन्दा बढी जनसंख्या अर्थात् करिब ५६ प्रतिसत जनसंख्या रहेका छन् । तर कुल मतदाताको संख्या संग तुलना गर्ने हो भने क्यालिफोर्निया राज्यमा सब भन्दा धेरै करिब ५५ लाख अर्थात् कुल मतदाता को करिब २१ प्रतिसत आप्रवासी मतदाता रहेका छन् भने त्यस पश्यात न्युजर्सी राज्यमा १९ प्रतिसत , न्युयोर्क राज्यमा १८ प्रतिसत , फ्लोरिडा राज्यमा १६ प्रतिसत , हवाई राज्यमा १५ प्रतिसत, नवाडा राज्यमा १४ प्रतिसत र मास्याचुसेट्स राज्यमा १२ प्रतिसत आप्रवासी मतदाता रहेका छन् ।
अमेरिकाको चुनाबी मोडेल अनुसार सबैभन्दा धेरै जनताको भोट प्राप्त गर्ने उमेदबारले चुनाब नजित्ने सम्भावना पनि रहन्छ । चुनाब जित्न कुन उमेदबारले कुन राज्यमा विजय हासिल गर्यो त्यसले बढी महत्व राख्दछ । प्रत्येक राज्यमा त्यहाँको जनसङ्ख्याको आधारमा इलेक्टर्सको सङ्ख्या तोकिएको हुन्छ। अमेरिकामा इलेक्टर्सको जम्मा सङ्ख्या ५३८ रहेको छ । अमेरिकामा सबै भन्दा बढी इलेक्टर्सको संख्या भएका राज्य हरु मध्य क्यालिफोर्निया राज्यमा सबैभन्दा बढी ५५ इलेक्टर्सहरू छन् भने त्यस पश्यात टेक्सासमा ३८ , न्युयोर्कमा र फ्लोरिडामा २९/२९ , इलिनोइस र पेन्सिलभेनियामा २०/२० रहेका छन् भने थोरै जनसङ्ख्या भएका अलास्का, डेलावेयर, डिस्ट्रिक अफ कोलम्बिया , मोन्टाना, नर्थ डकोटा, साउथ डकोटा, भेर्मोंट, र वोमिंग राज्यहरुमा ३ / ३ जना इलेक्टर्सहरू छन् । ५३८ इलेक्टोरल भोट मध्य राष्ट्रपतीय निर्वाचन जित्नका लागि २७० वा त्योभन्दा बढी मत प्राप्त गर्नुपर्छ । यसर्थ निर्बाचनका दिन कसले धेरै मत ल्यायो भन्दा पनि कसले कुन राज्यमा बिजयी भयो र सो राज्यको इलेक्टोरल भोट को संख्या कति छ सो कुराले बढी महत्व राख्दछ ।
अघिल्लो राष्ट्रपतीय चुनाबको नतिजालाई हेर्ने हो भने आप्रवासी मतदाता रहेका अधिकांस राज्य हरुमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनले विजय हासिल गरेकी थिइन् । उनले क्यालिफोर्निया , न्युयोर्क , न्युजर्सी , मास्याचुसेट्स, हवाई तथा नेवाडा राज्य हरुमा जितेकी थिइन् भने रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले फ्लोरिडा र टेक्सास राज्यमा विजय हासिल गरेका थिए । यी राज्य हरुमध्य फ्लोरिडा र नेवाडा राज्य स्विंग राज्यका रुपमा चिनिन्छन अर्थात् ति राज्य हरुमा कसले विजय हासिल गर्दछ सो अनुमान गर्न सकिदैन । त्यस्तै फ्लोरिडा र टेक्सास राज्य सबैभन्दा बढी इलेक्टर्सहरू भएका राज्य हरु मध्य पनि पर्दछन । टेक्सासमा ३८ र फ्लोरिडामा २९ इलेक्टोरल भोट छ भने यी राज्य हरु सबै भन्दा बढी आप्रवासी मतदाता रहेका राज्य हरु पनि हुन् यस कोण बाट हेर्ने हो भने ति राज्य हरुमा आप्रवासी मतदाता हरुको संख्याले चुनाबी परिणाम लाई प्रवाभ पार्न सक्ने हैसियत राख्दछ ।
त्यस्तै Pew Research Center ले सार्बजनिक गरेको तथ्यांक अनुसार २०१६ को तुलनामा यस बर्ष आप्रवासी मतदाता को संख्या करिब १० प्रतिसतले ब्रिद्दि भएको देखिएको छ । गत बर्ष फ्लोरिडा , न्यु हेम्सायर, मिनेसोटा , मिचिगन , विस्कोंसिन र पेन्सिलभेनिया राज्य हरुमा २ प्रतिसत भन्दा कम मत अन्तर रहेको थियो जस मध्य न्यु हेम्सायर र मिनेसोटा राज्यमा हिलारी क्लिन्टनले विजय हासिल गरेकी थिइन् भने बाकी राज्यहरुमा डोनाल्ड ट्रम्पले विजय हासिल गरेका थिए यसर्थ यस राज्य हरुमा ब्रिद्दि भएका आप्रवासी मतदाता संख्या र तिनको मतले पनि केहि हद सम्म चुनाबी परिणामलाई प्रभाव पार्न सक्ने सम्भावना लाइ नकार्न सकिदैन । तर यो चुनाबी दौड मा कसले बाजी मार्छ यो हेर्न भने अब मात्र दुइ हप्ता कुर्नु पर्ने हुन्छ । इति ।