शिव शर्मा

अमेरिका– भेराे ब्रिज फलोरिडाका सन्तोष घिमिरे पेशाले प्रशिक्षक (इन्सटक्टर) पाइलट हुन । नुवाकोट मदानपुर पुख्यौली थलो भएका सन्तोषले चारवर्ष अघि सोही स्थानकी सुशिला लोहनीसंग प्रेमविवाह गरेका हुन । उनिहरुले २०१६ को जुलाई महिनामा विहे गरेका हुन । विवाह हुदाँ दुवैको उमेर २० वर्षको मात्र थियो । उनीहरुको उमेर अन्तर झण्डै एक महिनाको मात्र छ ।
सन्तोष भने सन् २००८ को मे महिनामा १२ वर्षको उमेरमा बाबासंग अमेरिका आएका हुन ।
सन्तोषले यतै आएर स्कुल देखि उच्च शिक्षा हासिल गरे । फलोरिडामा व्यवसाय गरेर बसेका सन्तोषको बुबा सन् २०१३ मा बिरामी परे । बुबालाई प्यारालाइसिस भयो । त्यसको ठ्याक्कै एक वर्षपछि उनी बुबा आमालाई लिएर नेपाल गए ।

प्रशिक्षक पाइलट सन्ताेष र सुशिलाकाे परिवार

नेपाल जाने क्रममा गाउँमा २०१४ मा नै उनको र सुशिलाको पहिलो भेट भएको थियो । एउटै गाउँ भएपनि यसअघि उनिहरुको चिनाजान थिएन । सुशिलाको बेसीमा रहेको घर नजिकै सन्तोषको खेत रहेको थियो । खेतमा गोरु चराउने जाने बेलाको त्यो दिन नै सुशिला र उनको पहिलो भेट भएको हो ।गोरु दौडिएपछि सन्तोषले फर्काउन नसकेपछि घरबाट हेरिरहेकी सुशिलाले अगाडी आएर फर्काउन सल्लाह दिएकी थिइन । सुशिलाको घरको आगनको डिलमा उक्लिएर सन्तोषले गोरु फर्काएका थिए । सुशिलाले सन्तोषका काकालाई राम्रोसंग चिन्थिन । सन्तोषका काका र सुशिलाको बाबाको राम्रो चिनाजानी थियो । पछि असारको महिना रोपाइमा जादा पानी परेपछि सन्तोष फेरि सुशिलाको घरमा ओत लाग्न गएका थिए । यो भेटमा भने उनिहरुको कुराकानी र परिचय भयो ।
सन् २०१४ को मे महिनामा उनीहरुको पहिलो भेट भएको थियो । चार पाँच पटकको भेट पछि सुशिलाले सन्तोषको फेसबुक आइडीको नाम सोधिन र फ्रेण्ड रिक्वेस्ट पठाइन । जतिबेला सुशिलाले पल्स टु सकेर बसेकी थिइन । त्योबेला फेसबुक भर्खर चलाएकोले साथी बनाउने होडबाजी धेरैको चल्थ्यो । ‘त्यही क्रममा मैले उहाँको फेसबुक आइडीको नाम मागेकी थिए, सुशिलाले युसनेपालपोस्ट संगको कुराकानीमा भनिन– ‘साथी भएपछि झनै हाम्रो अत्मियता नजिकन पुग्यो ।’
सुशिलासंग भेट भएको झण्डै एक महिनापछि सन्तोष भाइलाई लिएर अमेरिका फर्किए ।

कार्यस्थलमा प्रशिक्षक पाइलट सन्ताेष

सन्तोष अमेरिका आएपछि उनीहरुको दुरी लम्बियो । दुरी टाढा भएपनि मन भने उनिहरुको झन नजिकियो । म्यासेन्जर च्याट र कल दिनहुँ हुन थाल्यो । अमेरिका आएको दुई महिनापछि सन्तोषले सुशिलालाई प्रेमप्रस्ताव राखे । ढुंगा खोज्दा देवता मिले जस्तै भयो सुशिलालाई पनि । उनले पनि भित्रभित्रै सन्तोषलाई मन पराएर पनि भन्न सकेकी थिइनन् । जुन कुरा सन्तोषले नै भनिदिए । यहीबाट उनिहरुको लामो दुरीको प्रेमकहानी सम्बन्धमा परिणत भयो ।

काठमान्डौमा रहेका सन्तोषका बुबा आमा सप्ताह लगाउन गाउँ  गएको बेला उनिहरुको प्रेमकहानीको चर्चा भयो परिवारमा पनि । सन्तोषका बाबा र सुशिलाका बाबा दुवै साथी रहेछन् । सन्तोषका बाबाले सुशिलाका बुबासंग अब छोरार छोरीको बिहे गरिदिउ भनेर भनेछन् । त्यही समयमा गाउमा रिस राग गर्नेहरुले उनीहरुको सम्बन्धलाई खलल पुराउने काम गरे ।
सुशिलाका बाबाले अमेरिकामा रहेका सन्तोषलाई छिटो आएर बिहे गर्नु नत्र अरुसंग छोरीको विहे गरिदिन्छु भनेपछि सन्तोष सोच्नमग्न भए । नेपालबाट फर्केको डेढ महिना भएको थियो उनको । उनले भनेको समयमा फर्केने अवस्था थिएन । सन्तोषले बिगतको प्रेमकहानी सुनाउदै भने–‘मैले म तत्काल आउन सक्दिन, तपाईहरुको चाहना त्यस्तै हो भने छोरीलाई बिहे गरेर पठाईदिनु होला भनेर जवाफ दिए ’
बिछोड हुनु अगाडी विवाहका लागी सुशिलाको परिवार राजी थिए । फेरि ब्रेक भएपछि राजी थिएनन । उता ब्रेकअप अगाडी फेरि सन्तोषको परिवार विवाहका लागी राजी थिएनन । सुशिलासंगै बिहे गर्ने भनेर प्रेम प्रस्ताव नै राखेका सन्तोषलाई यो कुराले केही नमज्जा पनि लाग्यो । यसपछि यही कुराले उनीहरुको फुल्दै गरेको प्रेमको फुल ओइलायो । ६ महिना उनीहरु बीच कुराकानी नै बन्द भयो ।

बुबा आमा ६ महिना नेपाल बसेर अमेरिका फर्किए । फेरि ६ महिनापछि सन्तोषले सुशिलालाई म्यासेज गरे । फेरि उनिहरुको कुराकानी चल्यो । प्रेम झ्यागियो । ‘हाम्रो ग्यास स्टोरको व्यवसाय थियो त्यही बेला बुबा बिरामी भएपछि बन्द भयो, सन्तोषले बिगतको दुख सुनाए । बाबा आमाको चाहना नेपालमै बस्ने रहेकाले उतै लगिनदिन भनेपछि उनी फेरि २०१६ मा बाबाआमा लिएर नेपाल फर्किए । यता पाइलट   ट्रेनिंग लिइरहेका थिए ।ट्रेनिंगसमेत छाडेर उनी बाबा–आमा लिएर नेपाल फर्के । ‘पछि बिहे गर्ने सोच हुदा हुदै २०१६ को जुलाई ११ मा हाम्रो बिहे भयो, सुशिला र सन्तोषले आफनो प्रेमकहानीको बेलीबिस्तार लगाउदै भने–‘यसरी प्रेम बिछोड हुदै फेरि प्रेम भएर हाम्रो बिहे भयो ।’।

बिहेको एक महिनापछि सन्तोष फेरि अमेरिका फर्किए । फेरि छुटेको पाइलट टेर्निङ सुरु गरे । सुशिलालाई अमेरिका झिकाउन कागजपत्र फाइल गरे । संयोगले कागजपत्र फाइल गरे छोटो अवधि सात महिनामै सुशिला अमेरिका आइपुगिन ।
सुशिला यता आएर सौन्दर्य क्षेत्रको तालिम लिइन । उता सन्तोष आकाशमा चरा झै उडदै प्रशिक्षार्थीहरुलाई जहाज उडाउन सिकाइरहेका छन् । उनिसंग व्यवसायिक पाइलटको लाइसेन्स छ । साढे १३ सय घन्टा उनले उडान भरिसकेका छन् । १५ सय घन्टा पुरा भएपछि विभिन्न एयरलायन्सहरुमा जाने एटिपी पाउछन् । उनी फलोरिडाको पेरिस एयर फलाइट स्कुलका प्रशिक्षक हुन ।

टिकटकमा लोकप्रिय छिन् सुशिला

टिकटकमा लाेकप्रिय सुशिला

 

सुशिलाले एक वर्ष अघि मात्र टिकटक अकाउन्ट खोलेकी हुन । अहिले उनलाई टिकटकमा १३ लाखले फलो गरेका छन् । त्यस्तै उनको भिडियोमा २ करोड ५० लाखले लाइक गरेका छन् । छोरा जन्मिपछि घरमा बसीरहदा समय व्यतित गर्न गर्न उनले टिकटक अकाउन्ट खोलेकी थिइन । तर छोटो समयमै उनी टिकटकमा भाइरल बनिन । टिकटकमा पछिल्लो समय उनलाई जीवनसाथी सन्तोषले पनि साथ दिएका छन् । आइतबार विदाको समयमा उनी श्रीमानसंग टिकटक बनाउछिन् । टिकटकमा उनि अत्यन्त शालिन भद्र र अनुशासित रुपमा प्रस्तुत हुन्छिन् । यही भएर उनी र उनको टिकटकलाई धेरैले मन पराएका छन् ।

अहिले सन्तोष र सुशिलाको मायाको चिनोको रुपमा छोरा श्लोक जन्मिएका छन् । उनी दुई वर्षको भइसकेका छन् । सुशिला बिहे अघि काठमान्डौमा बसेर पल्स टु सकेपछि ब्याचलर पढन हिडिन । पढने क्रममा उनले मेडिलकल सेन्टरमा अकाउटेन्टको जागीर खाइन । फेरि उनले बुटिक तालिम पनि लिइन । तालिम पुरा भएको भोलिपल्ट नै उनको बिहे भयो । पढाइलाई अगाडी बढाउन पाइनन ।

एक अर्कोको समझदारी भएमा दाम्पत्तय जीवन सफल हुन्छ भन्ने मान्यता राख्ने सन्तोष र सुशिला अहिले दुवै जना मन मिल्ने जोडी पाएकोमा खुशी छन् ।
सन्तोषले पहिलो प्रेम पनि सुशिलासंग गरे र विवाहपनि उनैसंग गरे । साँच्चिकै यी जोडी हेर्दा जति सुन्दर छन् मन पनि त्यस्तै सुन्दर छ । एक झल्को हेर्दैमा सन्तोष सुशिलाको बोली र सुन्दरताबाट लोभिए । साथै उनको नम्र र वोली व्यवहारले झनै उनलाई छोयो । उता सुशिलालाई पनि सन्तोषको साधारण स्वभाव, सामान्य व्यक्तित्वले प्रभाव पा¥यो ।
यसरी बनेको उनिहरुको जोडी अहिले जमेको मात्रै हैन उदाहरणीय पनि छ
जीवनसंगीनी सुशिलाले सन्तोषको हरेक काममा साथ र सहयोग गरिरेकी छिन् ।अहिले दुवै जना अमेरिकामा एउटा आफनै घरमा सुखी जीवन बिताइरहेका छन् । धर्ममा दुवैको आस्था त्यतिकै छ । तर धर्म कमाउन उनी मन्दिर धाउदैनन । धर्म भन्ने कुरा आफै भित्र हुने धारणा उनिहरुको छ ।

सन्ताेष र सुशिला

सुशिलालाई श्रीमानको सोझो व्यवहार, बाहिर नजर नलगाउने र झुट नबोल्ने बानी मनपर्छ । श्रीमानलाई यो कुरा नभन्नु है भनेपछि भनि हाल्ने बानी भने सुशिलालाई मन पदैन । उता सन्तोषलाइ सुशिलाको श्रीमानलाई केयर गर्ने र हरेक कुरामा सर्पोट गर्ने बानी मनपर्छ । मन नपर्ने बानी भने भेटेका छैनन ।
श्रीमान श्रीमतिमा सामान्य झगडालाई स्वभाविक मान्ने उनिहरुको अहिले सम्म त्यस्तो सामान्य भनाभन बाहेक कुनै झगडा नभएको बताउछन् । सम्झदारी भयो भने झगडा हुदैन सुशिलाले भनिन– ‘यसका लागी एक जना कडा भए अर्को नरम भइदिए झगडा कहिल्यै हुदैन ।’
खानेकुरामा दुवै जना उस्तो चुजी छैनन ।घरमा जे पाक्छ त्यही खान्छन् ।
उनिहरुको जीवनको सबैभन्दा दुखको क्षण सुशिला तीन महिनाकी गर्भवति हुदा  कार दुर्घटनामा परेकी थिइन । जुन दुख्द घटना उनीहरु भुल्न सक्दैन । खुशीको क्षण भने उनीहरु २०१८ को डिसेम्बरमा छोरा श्लोक जन्मेको दिनलाई मान्छन् ।
सन्तोष सोमबार देखि शनिवारसम्म काममा व्यस्त हुन्छन् । तर पनि उनी काम बाहेको समय परिवारलाई दिन्छन् । एक आपसको समझदारी र मायाप्रेमले गर्दा उनिहरुको प्रेम विवाहपछि झनै झंयागिएको छ । ‘त्यो बिहे अघि बीचमा भएको खटपट र बिछोड हाम्रो जीवनमा हुदैन, दुबैले होमा हो मिलाउदै भने–‘जिन्दगीमा जस्तोसुकै उतारचढाव आएपछि बाँच्नुजेल जिन्दगी सुखदुखः गरि एक साथ बिताउने हो ।’

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected