अमेरिका

 

शिव शर्मा

 

ए परान !

उहु…

टिकटकमा खुबै चलेका भाइरल जोडी हुन–‘परानजोडी’ । छोटो भिडियोका लागी पछिल्लो समय निकै लोकप्रिय टिकटक मोवाइल एप्समा यी जोडीलाई निकै रुचाइएको छ ।
टिकटक चलाएको छोटो अवधिमै यी जोडीको टिकटक अकाउन्ट लोकप्रिय बन्न पुग्यो । टिकटक चलाएको ४–५ महिनाको अवधिमै यी जोडीले हजारौ प्रशसक बटुल्दै भाइरल बनेका थिए । उनिहरुले टिकटक चलाउन सुरु गरेको भर्खर ८ महिना मात्रै पुरा भएको छ । जतिबेला अष्टेलियामा कोरोना महामारीले गाज्यो त्यही बेला देखि उनीहरु टिकटकमा सक्रिय हुन आइपुगेका हुन ।
परानजोडी अर्थात राजेन्द्र बन्जारा र सजना कडेल उनीहरुकाे बास्तविक नाम हो । तर टिकटकमा परानजोडीकै नामले उनिहरु चिनिएका छन् । अष्ट्रेलियाको सिडनीमा बस्दै आएका यी जोडीले बनाउने टिकटक भिडियोहरुमा भ्युज पनि राम्रो आउने गरेको छ । राजेन्द्रको पुख्यौली गोरखा भए पनि पछि चितवनको टाडी बसाइ सरेका हुन । उता सजनाको माइती पनि चितवनको भरतपुर हो ।

टिपिकल नेपाली गाउँघरको बोलीचालीको भाषाको थेगो बोलेर सजनाले टिकटकमा प्रशसकको माया बटुलेकी छिन् । सिउँदोमा सिन्दुर, निधारमा रातो टिका र हातमा चुरा टुटाउदिनन उनी । यसलाई आफनो सौभाग्य सम्झन्छिन् । उनी साधारण पहिरन नै मन पराउछिन् । बेला–बेला आफुले टिकटक भिडियोमा बोलेका कुरालाई ट्वीष्ट गरेर नकारात्मक भिडियो बनाइदिएर नराम्रो सावित गराउन खोज्नेहरु देखेर भने उनी दिक्क छिन् । केही चिने जानेकाहरुले नै नक्कली आइडी बनाएर आफुलाई  बेला–बेलामा विवादित बनाइदिने गरेको बताउछिन् । उनिहरु आफनो फलोअर्स बढाउन मेरो बारेमा नकारात्मक टिकाटिप्पणी गदै भिडियो बनाइदिन्छन्, मैले बोलेको कुरा एउटा हुन्छ , त्यसलाई तोडमोड गरिदिन्छन्’ सजनाले भनिन–‘मलाई नराम्रो देखाएर उनिहरु आफनो फलोअर्स बढाउने ध्याउन्न मा लाग्छन् ।’
‘यतिसम्म की केही ठुला टिकटक प्रयोगकर्ताले मेरो बारेमा नराम्रा भिडियो बनाइदिन अरुलाई प्रयोग गरेको पनि भेटेकी छु’ उनले भनिन । आफु छोटो समयमा टिकटकमा लोकप्रिय भएपछि केहीले रिस र आवेगमा आएर आफनो बदनाम गराउने काम गरिरहेको दुखेसो उनले पोखिन ।


भर्खर मात्रै एउटा जापान काण्डमा पनि उनी  विवादमा परिन । उनले भन्न खोजेको कुरा एउटा थियो तर भिडियो दोहोरो अर्थ लाग्ने बनाईदिएर उनलाई विवादमा ल्याउने काम गरियो ।’ मैले भन्न खोजेको त्यस्तो थिएन उनले भनिन– ‘तर केहीले त्यसलाई तोडमोड गरेर भिडियो बनाएर आफनो फलोअर्स बढाउन त्यस्तो गरेका मात्र हुन ।’ टिकटक चलाएको छोटो अवधिमा उनको अकाउन्ट लाई २ लाख ८२ हजारले फलो गरेका छन् भने भिडियोमा लाइक २ करोड ६० लाख भन्दा बढीले लाइक गरेका छन् ।
टिकटकमा छोटो समयमा पाएको यो ख्यातिले खुट्टा तान्नेहरुले उनका भिडियोलाई विवादित बनाएर आफनो फलोअर्स बढाउन अनेक तिकडम रच्नेहरु अधिक रहेको परानजोडी बताउछन् । त्यस्ता फेक आइडीहरु एक कठ्ठा गरेर उनिहरुकाे बास्तविक नाम र वतन पत्ता लगाउन उनिहरु यतिबेला  लागेका छन् । छिट्टै उनिहरु माथि कानुनी कार्वाहीका लागी पनि अगाडी बढेका छन् ।
सुरुमा गाउँघरको बोलीचालीमा टिकटक बनाउन थालेकी सजनालाई धेरैले मन पराए । जानीनजानी राखेका सुरुका भिडियो एकाएक भाइरल होलान भनेर उनले कहिल्यै सोचिनन् । तर उनले नसोचेकै भइदियो । धेरैले उनका भिडियो मन पराइदिए । टिकटकको दुनियामा परानजोडी टिकटक स्टार नै बन्न पुगेका छन्  ।गाउको बोलीचालीमा सुरुमा टिकटक बनाएकी उनले अहिले त्यही बाटो समातेर अहिले  निरन्तरता दिइरहेकी छिन् । उनले बोल्ने थेगो उहु……..निकै भाइरल छ । धेरैले उनको सिको गरेर उनकै बोलीचालीमा भिडियो पनि धेरै बनाएका छन् । उनको टिकटका धेरै भिडियोहरु भाइरल छन् । दर्जनौ भिडियोलाई २५ सय भन्दा बढी डुएट गरेका छन् ।


सजनालाई टिकटक बनाउन श्रीमान राजेन्द्रले सर्पोट गरे । मध्यरातमा उठेर पनि श्रीमानले सुरुमा टिकटकमा भिडियो हाल्थे । पछि देवरबाबुले पनि उनलाई सर्पोट गरेर टिकटकमा भिडियो बनाउन उक्साए । घरपरिवार, साथीभाई तथा प्रशसकहरुको मायाले आज आफुलाई टिकटकमा लोकप्रिय बनाएको सजना बताउछिन् ।
उनिहरुको टिकटक भिडियोमा ९५ प्रतिशतले राम्रो कमेन्ट गर्छन भने ५ प्रतिशतले नराम्रो कमेन्ट गर्छन् । राम्रो गर्ने मान्छेलाई हरेक क्षेत्रमा खुट्टा तान्ने र नराम्रो भन्ने रोग हामी नेपालीहरुमा विद्यमान छ । त्यही यथार्थ अहिले परानजोडीले टिकटकमा भोगीरहेका छन् । आफुभन्दा अघि टिकटक अकाउन्ट खोलेर चलाएकाहरु आफनो फलोअर्स नबढेपछि आफु माथि खनिएर भाइरल हुन खोजीरहेको तर्क सजनाको छ । टिकटकमा उनहिरुले आफनो यथार्थ नभई समाजको भोगाईलाई यथार्थ पात्र बनेर पस्कने काम गदै आएका छन् ।
सजना आफुले धेरै माया गर्नेलाई ‘परान’ भनेर संबोधन गर्छिन । आफनो श्रीमान र दुई छोराछोरी उनका ‘परान’ हुन ।

टिकटकमा लागेर कति कमाउछौ भन्नेहरुलाई परान जोडी आफनो फलोअर्स देखाउदै भन्छन्– ‘उहाहरुको माया पाइएको छ, यो नै सबैभन्दा ठुलो कमाइ हो । ‘ सामाजिक संजाल यो टिकटकबाट धेरै माझ चिनिन पाएकोमा सन्तुष्ट छन्  उनिहरु ।पहिला कसैले चिन्दैनथे अहिले टिकटकले उनिहरुलाई चिनाएको छ ।’ बस यति हो भोली मरेर गएपनि धेरैले सम्झने एउटा पहिचान टिकटकले बनाईदिएको छ’ सजनाले भनिन– ‘यही नै मेरो आत्मसन्तुष्टि हो ।’
सामाजिक काममा पनि परानजोडी सक्रिय छन् । उनिहरुले बेला–बेलामा आर्थिक अभावमा बाचेका र उपचारमा खर्च अभावमा अल्झिएकालाई पनि आफुले सकेको आर्थिक सहयोग गदै आएका छन् ।

कसरी भेटिए परानजोडी
सन् २०११ मा सजना र राजेन्द्र अर्थात परानजोडी लगनगाठोमा कस्सिएका हुन । राजेन्द्र चितवनमा एउटा कन्सल्टेन्सी संगै कलेजमा पनि पढाउथे । उता सजना गृहमन्त्रालय अन्तर्गतको किताबखानामा जागीरे थिइन । चितवन एउटै जिल्लाबासी भएकाले पनि उनिहरुको भेट कठिन भएन । चितवनमै एउटा कार्यक्रमको सिलसिलामा राजेन्द्र र सजनाको पहिलो भेट भएको हो । सबैले राजेन्द्रलाई राम्रो मान्छे भनेर उनलाई चिनाएका थिए । बिस्तारै उनिहरु साथी भए । सजनालाईअरुले भनेजस्तै साचिकै राजेन्द्रको बानी व्यवहार राम्रो लाग्यो । खासमा भने सजनालाई राजेन्द्रले मन पराएका हुन । सजनालाई पनि नराम्रो लागेको त हैन । प्रेम नै गर्छु भनेर उनले कहिल्यै सोचिनन् । बानी व्यवहार भने सजनलाई मन परेको थियो । बिस्तारै उनिहरु नजिकिए ।’ केटाले मन पराए जिन्दगी राम्रो बित्छ भन्ने चाही लागेको थियो’ रमाइलो पारामा सजनाले आफनो बिगत सुनाउदै भनिन– ‘मलाई पनि उहाँको बानी व्यवहार राम्रो लागेपछि मन पर्न थालेको थियो ।’उनिहरुको प्रेमविवाह भएको हो । प्रेम भनेर भनेर उनिहरु त्यस्तो गंभीर खालको प्रेममा पनि परेनन ।

सजनाले आफनी आमालाई राजेन्द्रलाई भेटाइन । आमालाई पनि राम्रो लाग्यो । तर सजनाको बुबा भने विवाहका लागी राजी थिएनन । बल्लतल्ल राजी बनाएपछि घरपरिवारकै सहमतिमा उनिहरुको बिहे भयो । राजेन्द्र पढाईमा तेज कलेज टपर, रक्सी चुरोट नखाने र राम्रो बानी सजनालाई औधी मन प¥यो । यही बानीले उनलाई आकर्षित गरेको हो ।
सजना बिहे भए लगत्तै अध्ययनका लागी दस वर्ष अघि अष्ट्रेलिया आइन । उनी आएको झण्डै दुई वर्ष पछि राजेन्द्र पनि आए । सुरुमा ब्रिसबेन आएकी उनी पछि सिडनी बसाइ सरिन ।अहिले पनि सिडनीमै परिवारसंग बस्दै आएकी छिन् । परानजोडीको मायाको चिनोको रुपमा पाँच वर्षका छोरा संयोग र तीन वर्षकी छोरी श्रेया रहेका छन् । सजनाका ससुरा बुबा मुटुका बिरामी छन् । घरमा छोराछोरी बिदेशतिर लाखापाखा लागेपछि मन भुलाउने बाटो उनिहरुको नाति नातिनी भएका छन् । बुबाकै मुटु बिरामीको समस्या हल गर्न परानजोडीले बाध्य भएर आफना मुटुका दुई टुक्रा छाडेर अष्ट्रेलियामाबसीरहेका छन् । यो उनीहरुको रहर पक्कै हैन । ‘बाबुनानीको मुख हेरेर बुबाको स्वास्थय समस्या केही हल भएको छ’ राजेन्द्रले भने–‘बाबुनानीलाई यता ल्याउने बितिक्कै बुबाको मुटुको समस्या बढेर जान्छ ।’ नाती नातिनीको मुख हेरेर बुबाको आधा विमारी सन्चो भएको छ । कहिलेकाही सजना आफना बाबुनानी सम्झेर भक्कानिन्छन् । तर पनि ससुरा बुबाको माया सम्झेर चित्त बुझाउछिन् । आफनै बुबालाई जस्तै ससुराबुबालाई उनले माया गर्छिन ।


सजना फरासिली अलि चल्तीफुर्ति स्वभावकी छिन् । देखेको कुरा फयाट्टै बोलीहाल्छिन् । मन भने उनको अलि कमलो अनि सफा छ, छिट्टै आँसु आइहाल्छ । सजनालाई श्रीमानको शान्त स्वभाव मन पर्छ । नराम्रो बानी केही भेटेकी छैनन । श्रीमानलाई भने उनको अरुलाई छिट्टै विश्वास गरिहाल्ने बानी मन पदैन । आफनो सही कुरामा अडिग रहने उनको बानी श्रीमानलाई मन पर्छ । खानामा दुबै जनलाई नेपाली टिपिकल नै मनपर्छ । बाहिरी मान्छेको कुरा नसुनी श्रीमान–श्रीमतिमा विश्वास भइरहयो भने दाम्पत्तय जीवन चिरस्थायी हुने उनिहरुको धारणा छ । युएसनेपाल पोष्ट संगको कुराकानीको अन्तमा रमाइलो पारामा परानजोडीले भने– ‘हामी टिकटकमा मात्र हैन बास्तविक जीवनमा पनि एक अर्कोका लागी मिलेका जोडी हौ ।’

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected