बिश्वको संस्कृतीको धनी देश नेपाल । ४ जात ३६ बर्णको फुलबारी हाम्रो सुन्दर देश । विभिन्न भाषा, धर्म, संस्कृतीले भरिपुर्ण देश, अनि बिश्वकै नमुना देश हाम्रो नेपाल । हाम्रो जस्तो यति धेरै भाषा, संस्कृती सायद अरु देशमा छैन होला । हाम्रो देशको भाषा, धर्म, कला, संस्कृती सब आफ्नै आफ्नै तरिकाको छ । सबैले आ-आफ्नो तरिकाले आफ्नो चाडबाड रितिरिवाज मनाउछन् । हाम्रो देशमा भाषा धर्म, कला, संस्कृती जात अनुसार बोल्ने र मान्ने गर्छन् । किनकी यो चलन परापुरक काल देखि चली आएको छ । हामीले हाम्रो धर्म, कला, संस्कृती मान्नु पर्छ, मनाउनु पर्छ । त्यसको जगेर्ना गर्नुपर्छ । तर भाषा, धर्म, कला, संस्कृती जस्तो भए पनि सबभन्दा पहिला हामी नेपाली हो भन्ने कुरा कहिल्यै बिर्सन हुदैन ।

यस्तै आफ्नो धर्म, कला, संस्कृती मध्य नेपालको एउटा सानो गाउँमा परापुरक कालदेखि एउटा अनौठो किसिमको मगर संस्कृतीमा आधारित चाड मनाउने गर्दछन् । काठमाडौं देखि झन्डै ३०० कि.मि. टाढा गुल्मी जिल्लाको सत्यवती ४, लिम्घा एक्सिङ गाउँ । जुन मगरहरुको सानो बस्ती । झन्डै ६०/६५ घर धुरी भएको एउटा सानो पहाडको सानो थुम्को, अनि अलग्गै पहिचान बोकेको सानो बस्ती, वास्तबमै यो गाउँ सुन्दर छ अनि धेरै संस्कृती बोकेको छ । चारै तिरबाट अग्लो अग्लो पहाडको फेदमा पर्ने यो गाउँको छेउबाट कलकल गर्दै रुद्रावती खोला बगेको छ भने अलि पर कालीगण्डकी पनि चुपचाप आफ्नै गतिमा बगिरहेको छ । एक्सिङ कसरी नाम रह्यो त्यो पनि कुरा रोचक छ । एक चोटी यो गाउँमा एउटा मात्र सिङ भएको मिर्ग आएकोले गाउँको नाम नै एक्सिङ राखिएको भन्ने बाउ बाजेहरुको कुरा रहेको छ । यो एक्सिङ गाउँका सबै जना मगर भएकोले मगर भाषा बोल्ने र मुख्य कुरा प्रत्येक घरमा एक जना ईन्डियन आर्मी या बृतिस आर्मी छन् । पहिले देखिनै निम्न बर्गिय र सम्पन्न परिवार भएको गाउँ । सबजना एक आपसमा मिलेर बस्ने उदाहरणीय सुन्दर गाउँ ।

यस गाउँमा परापुरक कालदेखि चल्दै आएको एउटा अचम्मको मगर संस्कृतीमा आधारित एउटा चाड छ जुन अहिलेसम्म पनि निरन्तर चलि आइरहेको छ । हरेक बर्ष माघ महिनाको श्री वसन्त पन्चमीमा यहाँ एउटा ठुलो मेला लाग्छ जुन तीन दिन सम्म चल्ने गर्छ । मगरहरुको छुट्टै चाड र बिशेषता छ यस सुन्दर गाउँमा । यहाँ दसै तिहार भन्दा पनि यो मेला महत्त्वपूर्ण मानिन्छ । बिदेश गएकाहरु र यस गाउँ देखि टाढा बसेकाहरु यो मेला हेर्न जसरी पनि आइपुछन् । बर्षमा एकचोटी हुने यो मेला भब्यताको साथ मनाइन्छ । तीन दिन दुई रात सम्म चल्ने यो मेला पहिलो दिन विशेष मानिन्छ । जुनदिन झुमारानी नचाउने चलन छ । पहिलो दिनको रातिको ठिक १२ बजे एक जना गाउँको सुन्दर महिलालाई सिगारेर रानी बनाउनु पर्छ । जसलाई झुमारानी भन्ने गरिन्छ । झुमारानीलाई सबैजनाको बीचमा लगिन्छ र उनी सबको अघि नाच्नु पर्ने हुन्छ । साथमा हुनेहरुले मिठो लयमा सुन्दर गित गाउदै बाजाको तालमा नाच्नुपर्छ । विशेष कुरा झुमारानीले सालको पातबाट बनाइएको ठुलो टपरी जस्तो छाता जसको चारै तिरबाट फुलै फुलले सिगारिएर धपक्कै छोपिएको हुन्छ त्यो सुन्दर चिजलाई बोकेर नाच्नु पर्ने हुन्छ । त्यो छाता झण्डै ५/७ किलोको हुने गर्दछ । जति बेर सम्म त्यो छाता बोकेर झुमारानी नाच्छिन् तबसम्म नाच्न दिनुपर्छ । अनि उनी थाकेपछि उनलाई आफ्नै ठाँउमा फर्काइन्छ ।

नाच्ने समय झुमारानीलाई कसैले चिन्न हुदैन भन्ने मान्यता छ । त्यसैले मुख छोपेर नाच्नु पर्ने हुन्छ । त्यो बेला मेला हेर्न आउनेहरु सबैको कौतुहलता हुन्छ, को होला अहिलेको झुमारानी बनेको ? चिनाउन पनि हुदैन, चिन्न पनि हुदैन । चाडको प्रमुख विशेषता नैै यहीँ हो । जुन महिला झुमारानी बन्छिन् उनलाई ठुलो धर्म र पाप बाट मुक्त हुन्छिन् भन्य मान्यता छ । त्यस अनौठो र रमाइलो झुमारानी नाच सकिए पछि अग्रजहरुको साथमा केहि गाउँका दिदीबहिनीहरु एक अर्काको हात समाइ आफै गित गाउदै नाच्ने गर्द्छन् । झन्डै सुदूरपश्चिममा देउडा गीतमा नाचिने नाच जस्तै गरि सबै हात समाएर गीत गाउदै नाच्नुको मज्जा अलग्गै छ । जो कोहि पनि यो नाचमा समाबेश हुन पाउछन् । रात भरी यसैगरि नाचगान गरिन्छ । साथै सोरठी, कौदा, नचरी, झ्याउरे आदि विभिन्न मौलिक झल्किने गीत गाउने र नाच्ने गर्छन् । भोलिपल्ट बिहान एकछिन आराम गरेपछि दिउँसो देखि फेरि पन्चे बाजा सगै नाचगान अनि पुराना खेलहरु आर्चरी, छेलो फाल्ने, भलिबल जस्ता खेल हुने गर्छ । त्यो दिन पनि रातभर नाचगान गरि रमाइलो सँग मनाइन्छ । तेस्रो दिन अथवा अन्तिम दिन ठुलो भोज हुन्छ । गाउँका सबै मान्छेहरु मिलेर मिठो मिठो पकाएर, खाएर नाचगान गरि यो पर्व एक बर्षको लागि अन्त्य गरिन्छ।

यो मेला हेर्न वर परका गाउँहरु बाट पनि आउने गर्छन् । पहिला पहिला यस मेलामा रातभर नाच गान गरि रोदी बसि केटाकेटी मन मिलेर भागेर बिहे गर्ने चलन पनि थियो । यो बेला कौतुहलताको विषय पनि हुन्थियो यो सालको मेलामा कस कसले बिहे गर्छन् होला भनेर । तर अहिले यो चलन हट्दै आएको छ । यो मेलाको रौनक पहिला भन्दा थोरै ह्रास आएको भए पनि यो संस्कृतीलाई अहिलेका युवा पुस्ताहरुले सक्दो जगेर्ना गरि राखेका छन् । बचाइ राखेका छन् । हाम्रो धर्म, कला संस्कृतिलाई कहिल्यै लोप हुन दिनु हुदैन ।आफ्नो धर्म, कला, संस्कृतीलाई बचाउनु हाम्रो कर्तव्य र धर्म हो

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected