निष्पट्ट रात । हिउदको चिसो ठिहिराउने मौसम । अंगोनोमा रंगरगी आगो बलिरहेको थियो । आमा अगेनोमा अगुल्टो ठोसी रहेकी थिइन । छेउमै दिदी बसेकी थिइन । बिहे गरेर पराइ घर गइसकेकी दिदी बुटबल देखि आमा भेटन भन्दै गाउँ आएकी थिइन । म बयली खेलेको उकाली ओराली गरेको त्यो मेरो गाउँ तनहुँको राइपुर । मेरा बा केही महिना अघि मात्रै पेन्सन पकाएर भारतबाट गाउँ फर्केका थिए । सानै उमेरमा मुग्लान पसेका बा ३५ वर्ष भन्दा बढी मुग्लानमै बिताए । निवृत्त जीवन आफनै पाखा– पखेरोमा बिताउन बा गाउँ  फर्के ।
त्यो रातको घटना सायदै म जिन्दगीमा भुल्न सक्दिन । बुटवल देखि आमा बा भेटन आएकी दिदी निकै प्रफुल्ल थिइन । चिसो मौसमलाई चिर्न आमा र दिदी भान्सा कोठामा आगो तापेर गफ्फी रहेका थिए । त्यतिनै बेला घरबाहिर निकै उज्यालो देखियो । त्यो चकमन्न रातमा देखिएको उज्यालोले आमा र दिदीलाई झस्कायो । आमा र दिदी हतारिदै बाहिर निस्के । घर नजिकै रहेको धानको टौवामा रनरन आगो दन्किरहेको थियो । त्यो आगोको मुस्लो घर नजिकै आइरहेको थियो । अब घर जल्ने भयो भनेर आमा र दिदी हतासिए । आफनो जीवनको अधिकाशं वसन्त रोजागरीको सिलसिलामा भारतमा बिताएका मेरो बाले यस्तो कहिल्यै देखेका थिएनन । उनी त्यो अवस्था देखेपछि हतास मनस्थितिले बेहोस भएर लडे । उता घर आगलागीले घर उठीबास हुने चिन्ता र बा बेहोस भएर ढलेको अवस्थाले आमा र दिदी झनै बिचलित बने हार गुहार गरे । आसपासका गाउँबाट पनि त्यो रन्केको आगो देखेर गाउँलेहरु हाम्रो घरतिर आइरहेका थिए ।
केही क्षणको प्रयास पछि त्यो भयानक आगलागी नियन्त्रण भयो । संयोगकले घर धन्सार खरानी हुनुबाट जोगियो ।
हाम्रो घर ध्वस्त बनाउने मनसायले गाउकै छिमेकीले आगो झोसेका थिए हाम्रो टौवामा । हाम्रो बा आमाले उनिहरुको केही बिगारेका थिएनन । तर शत्रु लागे । किन उनिहरुले हाम्रो घरबास उठाउन

खोजे आज पनि म गम खाएर सोच्ने गर्छु । आखिर शत्रुले बने छिमेकी नै ।
पोखराबाट जहिले म गाउँ  जादा आमा भन्ने गर्थिन– बाबु हामीले कसको के बिगारेका थियौ र । आफनै दुख गरेर खाएका थियौ तर घरबाँस उठाउन खोजे । म आमालाई ढाडस दिदै भन्थे– पीर नगर्नु होस आमा तिनीहरुको आत्माले मरेपछि पनि कहिल्यै शान्ति पाउदैन ।
त्यो घटना हाम्रो परिवारका लागी अति नै कहालीलाग्दो थियो । सायद समयमा गाउँलेहरु नजुटेको भए हाम्रो घरबास सबै ध्वस्त हुन्थयो । हो त खरानी चाहियो भनेर अरुको घर जलाउनेहरु प्राय छिमेकी र नजिकका आफन्त नै हुदा रहेछन् । जीवनमा आइपरेको त्यो यथार्थ घटनाले त्यही प्रमाणित ग¥यो । यहाँ शत्रु खोज्ने टाढा जानु पर्दो रहेनछ । आफन्त मित्र र छिमेकी नै हुदा रहेछन् ।
आफनो कट्टु फुस्केको चाल नपाउनेहरुले अर्काको कट्टु फुस्कियो भन्दै कुरीकुरी भन्दै हिडछन् । यता आफनै समाजका छिमेकी बन्ने व्यक्तिले हाम्रो घर जलाउने उद्देश्यले आगो झोसे । बाको मनस्थितिलाई कमजोर बनाए । त्यो रात हाम्रो  घर परिवारलाई मानिसक यातना दिए ।

त्यही दिनको घटनापछि मेरो बाकको मानसिक अवस्था कमजोर भयो । बा बिरामी परे । टाउकोको समस्या बल्झियो । बालेले जीवनका आफना रहरलाग्दा बसन्त मुग्लानमै बिताए । तर स्वदेश फिरेपछि लामो समय  एेस आराममा जिउन पाएनन । रोगले थलिए र अलपायुमै जीवन गुमाए मेरो बाले ।दुखसुख गरेर बा आमाले हामी दाजुभाईलाई पढाउन भनि सहर पठाएका थिए । हामी दाजुभाई पोखरामै अध्ययनका क्रममा सहरीया भएका थियौ । तर मन मने गाउ र बाआमाकै वरिपरि घुमीरहेको थियो । बाआमालाई गाउँमा छाडेर सहरमै बित्यो हाम्रो जीवन ।
त्यो आगो लगाउने मानवहिन छिमेकीको कर्तुत सम्झिदाआजकल पनि मनमा हुन्डरी चल्छ । अरु बेला पनि बल्तीर पल्तिर मेरी आमालाई बिना कारण आँखा तर्नेहरु त्यतिकै थिए । हुने नहुने कुरा लगाएर भडाउने र कुरा सुनेर पानी बाराबार गर्ने पनि आफन्तले पनि कम्ति पीडा दिएका थिएनन । बा बितेको केही वर्षपछि म अवसरको खोजी गदै परदेशिए । दाई जागीरको सिलसिलामा पोखरामा थिए । आमा गाउँमै एक्लै भइन । आमा एक्लै भएपछि झनै छिमेकीहरुको हेय हुन थालिन ।

आफन्त भन्नेहरु नै बोलचाल गर्न छाडे । आमाले एक्लो महसुस गदै गइन । त्यही क्रममा अमेरिका आएको डेढ वर्षमै आमाले अलपायुमै ससार छाडेर गइन । राती हाइसन्चो सुतेकी आमा कहिल्यै बिउझिनन् । आमाको सास र लास नभेटेको म परदेशी त्यसपछि स्वदेश फिरिन । फिर्न मन पनि लागेन आमाले भन्थिन मर्दा पानी पिलाउने छोरा त छन् । तर दुर्भाग्य आमा बित्दा यो परदेशी ज्यान त्यहाँ हुन सकिन । नत एक चम्चा पानी पिलाउन नै सकियो । त्यो गाउ त्यो परिवेश अहिले बिरानो भएको छ । अहिले मेरो घर रित्तो भएको छ । हाम्रो घर खरानी बनाउन  टौवामा आगो झोस्नेहरुलाई प्रश्न गर्न मन लागेको छ –आखिर आफनै छिमेकीको घरमा आगो झोसेर तिमीले चाहि के हासिल ग¥यौ ? बस मरेपछि एक दिन माटोमा मिल्ने हो, अजम्बरी कोही छैन । चेतना भया ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected