अमेरिकाको एटलान्टामा बरिष्ठ गीतकार बुद्धबीर लामा र चर्चित गायिका सत्यकला राई सम्मानित :

हिन्दूहरुको महान पर्ब बडादशैं र तिहारको पुनित अवसरमा अमेरिकाको एटलान्टा स्थित नेपाली र नेपालीभाषी समुदायद्वारा “दशैँ-तिहार धमाका २०१९” नामक सांस्कृतिक कार्यक्रम आयोजना गरियो । यही शनिबार अक्टोबर १२ का दिन एटलान्टास्थित कलर्क्सटनको बिर्यानी पोइन्ट रेस्टुरॉको हलमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपालबाट आउनुभएका बरिष्ठ गीतकार बुद्धबीर लामा र चर्चित गायिका सत्यकला राईलाई सम्मान समेत गरियो ।
नेपाली बिबिध संस्कृति झल्किने उक्त बृहत सांस्कृतिक कार्यक्रम नेपालका लागि पर्यटनदुत राजा घलेको स्वागत मन्तव्यबाट शुभारंभ गरिएको थियो । कार्यक्रमको पहिलो चरणमा स्थानीय कलाकारहरुले बिभिन्न गीत र नृत्य प्रस्तुत गरेर मनोरंजन दिएका थिए ।

स्थानीय कलाकारहरुको मनोरन्जनात्मक प्रस्तुतिपछि अतिथि श्रष्टाद्वय बरिष्ठ गीतकार बुद्धबीर लामा तथा लोकप्रीय गायिका एवं प्राज्ञ सत्यकला राईलाई सम्मान गरियो । यस अवसरवमा गीतकार लामालाई पर्यटनदूत राजा घले र गायिका राईलाई गुरुङ सोसाईटि अफ जोर्जियाका प्रथम अधक्ष्य अगम गुरुङ र वर्तमान अधक्ष्य मनोज गुरुङले सम्मान गरेका थिए ।

कार्यक्रमको दोश्रो चरणमा गीतकार बुद्धिबीर लामाले आफ्नो रचनाहरु केही रोचक प्रसंग सहित वाचन गरेर सुनाएर दर्शकहरुलाई मनोरन्जन दिलाए । त्यसपछि नर्थ क्यारोलाइना निवासी,नासाका बर्तमान कार्यकारी सदस्य, लभ एण्ड सप्पोर्टका संस्थापक,लोकप्रीय गायक मनोज राईले आफ्नो नविनतम अल्बमको केहि गीत गाएर सुनाए ।
दर्शकहरुको लामो प्रति़क्षालाई चिर्दै कार्यक्रमको अन्तमा बर्तमान पुस्ताकी चर्चित एवं लोकप्रीय गायिका सत्यकला राईले आफ्ना चर्चित गीतहरु गाएर सबै दर्शक तथा श्रोताहरुको मन मुग्ध पारिन् । उनका गीतमा स्वरमा स्वर मिलाएर गीत गाउँदै छमछमी नाचेर सबै दर्शकहरुले अत्यधिक मनोरन्जन लिएका थिए । कार्यक्रमको संचालन ख्यातिप्राप्त टिभी प्रस्तोता संगम बानियाले गरेका थिए ।