युएसनेपाल पोष्ट संवाददाता
टेक्ससको ड्यालस बस्दै आएका सराेज पाैडेलले प्राय यहाँ प्रदर्शन हुने नेपाली सिनेमा छुट्याउदैनन् । नेपाली सिनेमाका पारखी उनले लोकप्रिय नेपाली सिनेमा सपरिवार हलमा पुगेर हेदै आएका छन् । ‘विदेशमा रहदा झनै नेपाली सिनेमाको मोह ज्यादै लाग्दो रहेछ’ उनले भने, ‘सिनेमा हेर्दा आफनै देशमा पुगेको अनुभूति हुदो रहेछ’। नेपाली दर्शकको मोह बढ्दै गएपछि पछिल्लो समय विभिन्न राज्यहरुमा नेपाली सिनेमाहरु प्रदर्शन हुने क्रम बढ्दो छ । सिनेमा निर्माता संग डिल गरेर आयोजकहरुले यहाँ नेपाली सिनेमाहरु झिकाएर सिनेमा हल तथा अन्य विभिन्न पब्लिक सभाहलहरुमा शो गदै आएका छन् । कुनै बेला निर्माता आफै आएर दुई चार महिना यतै बसेर आफनो सिनेमा देखाएर नेपाल फर्किने चलन व्यापक रहेको स्थानिय फिल्मकर्मिहरु बताउछन् ।
अहिले भने व्यवसायिक रुपमा यहाँ विभिन्न संस्थाहरुले सिधै निर्मातासंग सम्पर्क गरी नेपाली सिनेमाहरु देखाउने क्रममा व्यापकता पाएको छ । पाँच वर्ष यता नेपाली सिनेमा अमेरिकाका विभिन्न राज्यहरुमा व्यवसायिक रुपमा प्रदर्शन हुन थालेको हो । ।फ्युजन इन्टरनेशनल नेपसिने तथा प्लानेट थ्रि फिल्मस्ले सन् २०१२ देखि निरन्तर रुपमा दर्शकको क्रेज अनुसार अमेरिकी राज्यहरुमा नेपाली फिल्महरु देखाउन थालेको हो । रायन रेज, अर्जुन सुवेदी, अर्जुन कुवर तथा शरद युवराज सिंहको पहलमा नेपाली सिनेमाले व्यवसायिक रुपमा प्रदर्शन हुने अवसर पाएपछि बजार पनि बिस्तार भएको छ ।उनिहरुले नेपाली सिनेमाहरुलाई संंयोजन गरेर विभिन्न राज्यका स्थानिय आयोजकलाई प्रदर्शनका लागी जिम्मेवारी दिदै आएका छन् । ‘अमेरिकामा प्रदर्शन हुने ८० प्रतिशत सिनेमाको बजारलाई हामीले संयोजन गरेर प्रदर्शन गदै आएका छौ’ फ्युजन इन्टर नेशनल नेपसिनेका प्रमुख रायन रेजले भने, यो क्रम संंग अमेरिकामा पछिल्लो क्रममा नेपाली सिनेमाको व्यापक प्रचार संगै दर्शकको मोह पनि त्यही रुपमा बढेको छ । फिल्म हेर्ने दर्शक बढे पनि यसरी प्रदर्शन भएका एक दुई वटा सिनेमा बाहेक अन्यले आयोजकलाई आर्थिक रुपमाले फाईदा नभएको उनी बताउछन् । नेपालबाट झिकाइएको सिनेमाले हल भाडा लगायत संयोजन गर्दा आथिर्क भार आयोजकले झेल्दै आएका छन् । कतिपय अवस्थामा उनिहरुले घाटा सहेर पनि आफनै पकेटबाट निर्मातालाई फिल्मको पैसा बुझाउने गरेको बताए । अमेरिकामा छक्का पन्जा एकले राम्रो आम्दानी गरे पनि अन्य फिल्महरु भने औसत रुपमा प्रदर्शनबाट आम्दानी गर्न सके ।
अमेरिकाको पनि विशेषगरी नेपाली समुदायको अधिक बसोबास रहेको टेक्सस, न्युयोर्क, सनफ्रान्सिसको, बाल्टीमोर तथा बोष्टन लगायतका राज्यहरुमा नेपाली सिनेमाको प्रदर्शनमा दर्शकको उपस्थिति बाक्लो हुदै आएको आयोजकहरुको भनाई छ ।यसरी प्रदर्शन भएका सिनेमाहरुले प्रवासी दर्शकको मन जितिरहेको छ । नेपालमा रहदा पनि विभिन्न सिनेमाको निर्देशनसंगै चलचित्र पत्रकारिता गदै आएका सुरेश दर्पण पोखरेलले पनि माया इन्टरटेनमेन्ट मार्फत नेपाली सिनेमाहरुलाई स्थानिय सिनेमा हलमा प्रर्दशन गरिरहेका छन् । ‘सिनेमामा नेपाली दर्शकको माया र सदभाव विदेशमा अझ बढी भएको पाए’उनले भने– ‘दर्शकको चाप बढ्दै गएपछि नेपाली सिनेमालाई नियमित रुपमा हलमा प्रदर्शन गरिहेका छौ ।’ उनले निकट भविष्यमै नेपाली सिनेमासंगै नेपाली कलाकार बोलाएर रेड कार्पेट प्रिरिमियर गर्ने उद्देश्य रहेको सुनाए ।
अमेरिकामा नेपाली सिनेमाहरु हलमा प्रदर्शन गर्न त्यति सजिलो भने छैन । सामान्य: सिनेमा हलमा फिल्म प्रदर्शन गर्न नेपाली एक लाख देखि तीन लाख रुपैया सम्म भाडा तिर्नु पर्छ । सिनेमा हेर्न १५ सय देखि तीन हजार रुपैया टिकट शुल्क लाग्छ । दर्शकले रुचाएका सिनेमाहरुको ४० देखि ५० वटा शोका लागी ४० लाख देखि माथि खर्च हुदै आएको आयोजक बताउछन् ।
निर्माता तथा कलाकार आफै आएर फिल्म बोकेर दुई चार महिना डुलेर फिल्म प्रदर्शन गरेर जाने परिपाटी अहिले आएर व्यवसायिक रुपमा संस्थाहरुले देखाउन थालेपछि नेपाली सिनेमाको बजार बिस्तार हुदै गएको छ । टेक्ससमा युवा फिल्मले नेपाली फिल्मको प्रदर्शन संगै स्थानिय रुपमा नेपाली सिनेमा सफर निर्माण गरेर टेवा पुराएको थियो । पछिल्लो क्रममा यो संस्था निष्कृय भए पनि अन्य नया र व्यक्तीगत रुपमा नेपाली सिनेमाहरु हलमा प्रदर्शन गर्ने लहर बढेको छ । केटिएम इन्टरटेनमेन्ट तथा अन्य व्यक्तीहरुको पहलमा नेपाली सिनेमाहरु नियमित प्रदर्शन हुन थालेका छन् । नेपाली फिल्म प्रदर्शन संगै दर्शकको समेत साथ पाउन थालेपछि नेपाली समाजले समेत नेपाली फिल्मको प्रर्वद्धनमा सघाउ पुर्‍याउदै आएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected